आफूसँग भएका सहमति कार्यान्वयन नगरे सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले विगतमा आफूसँग भएका सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरुलाई ध्यानाकर्षण गराउँदै आफूसँग भएका सहमति कार्यान्वयन गर्न माग गरेका हुन् । उनले माग सम्बोधन गर्न बेवास्ता गरिए सत्याग्रह सुरु गर्ने चेतावनीसमेत दिएका छन् । 


यस्तो छ डा. केसीको ध्यानाकर्षण पत्र

श्रीमान प्रधानमन्त्री ज्यू
प्रतिपक्षी दलका नेता खड्ग प्रसाद वली ज्यू लगायत अरु नेताज्यू हरु
र पत्रकार मित्रहरु ज्यू,
विषय: मागहरु संबोधन गर्न पुन ध्यानाकर्षण वारे।
महाशयहरु,
देश अहिले स्थानीय निर्बाचनमा होमिएको छ। हामीले सत्याग्रह मार्फत शिक्षा र स्वास्थ्यको ब्यापारीकरण बिरुद्ध उठाएका मागहरु निर्बाचनको संघारमा अझै अर्थपूर्ण देखिएका छन्। अगाडिका निर्बाचनमा जस्तै अहिले पनि सबैको लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सबै राजनीतिक दल र उम्मेद्वारहरुको भोट माग्ने एजेन्डा बनेका छन्। नेपालको संबिधानले पनि शिक्षा र स्वास्थ्यलाई हरेक नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ । हाम्रो सत्याग्रह यी संबैधानिक अधिकारहरुको स्थापनाको लागि नागरिक तहको प्रयास हो र यो प्रयास निरन्तर छ। 

हाम्रो सत्याग्रहको बारेमा तपाईहरु जानकार नै हुनुहुन्छ। पछिल्लो पटक यो बैशाख २ गते हामीले सरकार र प्रतिपक्षी दल दुवैलाई सम्वोधन गर्दै हामीसंग वेला वेलामा गरिएका सम्झौताहरु कार्यान्वयन गर्न र नगरेमा सत्याग्रह सहितका आन्दोलन गर्न वाध्य हुने कुरा प्रेस विज्ञप्ति मार्फत जारी गरेका थियौं। राजनितिक दलहरुका चुनावी एजेण्डा शिक्षा र स्वास्थ्य सेवा निशुल्क र सवैको पहुँचमा भनेर मत प्राप्त गर्छन तर उपचार निशुल्क हुनु त परै जाओस् सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्र/चौकी वाट निर्दिष्ट दर्जनौं प्रकारका औषधिहरू निशुल्क वितरण गर्ने कानुनले व्यवस्था गरेको भए पनि विरामीहरुले खरिद गर्नुपर्ने वाध्यता छ भने सवै सेवाहरु निशुल्क भनेकोमा निजी स्वास्थ संस्था जत्तिकै महंगो सेवा शुल्क तिर्न वाध्य वनाइएका छन्। फलस्वरूप निम्न मध्यम वर्ग र निम्न वर्गका हजारौ जनताहरूले अकाल मृत्यु वरण गर्नु परेको छ भने लाखौं अपाङ्ग भयर वा दिर्घ रोगी भएर वांच्न वाध्य भएका छन्।

तीन तहको शासन प्रणालीको व्यवस्था भए पछि संविधानले सुनिस्चित गरेको जनताको स्वास्थ्य सेवा सम्वन्धी नैसर्गिक अधिकारले साकार रुप लिनेछ भन्ने अपेक्षा गरिएको थियो तर नेपाली जनताहरु स्वास्थ्य सेवावाट वन्चित भए। उपचार महंगो भएको कारण प्रत्येक वर्ष पांच लाख नेपालीहरु गरिवीको रेखामुनी धकेलिन्छन तर नेताहरु उपचारवाट वंचित जनताले पेट काटेर तिरेको करबाट विदेशमा महंगो उपचार गराउन वारवार जान्छन। खाद्यन्न देखि सवै उपभोग्य वस्तुको मूल्य अत्यन्त चुलिएको छ भने न्यून आम्दानी तथा तलव हुने व्यक्तिको परिवारको लागि सहुलियत शुल्कमा खरिद गर्ने व्यवस्था छैन। सहरमा वस्ने त्यस्ता परिवारहरुलाई राज्यले हाउजिङको व्यवस्था गर्नु पर्थ्यो तर महंगो डेरा भाडा तिर्न वाध्य छन् भने तिनै जनताले मत दिएर जिताएका वामपन्थी तथा समाजवादी र दक्षिणपन्थी नेताहरु महलमा वस्छन। एकतिर शिक्षाको गुणस्तर कमजोर बन्दै छ, सरकारी विद्यालय धरासायी बनिरहेका छन् भने निजी विद्यालयहरू निकै महंगा छन।

यो चुनाब संघारमा मलाइ विवेकशील नेपालीका नेता उज्वल थापाको झल्झली याद आएको छ। उज्वल जस्ता कर्मठ, देशभक्त्त, ईमान्दार, सरल, सहज र क्षेमतावान नेतालाई स्थानीय लगायत सवै (प्रदेश/ राष्ट्रिय) तहको नेतृत्वमा पुर्याउन सक्ने हो भने भ्रष्ट गैर जिम्मेवार नेताहरु र उनका गैरजिम्मेवार कार्यकर्ता उम्मेदवारहरुलाई जवाफदेही बनाउने अनि सजाय दिने अवसर हुन् सक्थ्यो। अहिले हामीसँग उज्वल थापा त छैनन् तर भोट हाल्ने बेलामा उज्वल थापालाई सम्झना गर्यो भने पनि हामीलाई राम्रो उम्मेद्वार भोटहाल्ने उत्प्रेरणा मिल्ने थियो र आफ्नो स्वार्थ को लागि देश वन्धक वनाएर राष्ट्रवाद डकार्ने नेताहरुले पनि पाठ सिक्ने थिए। र्को
स्थानिय निर्वाचन दैलोमा आइपुगेको छ तसर्थ स्वास्थ्य संवन्धि नैसर्गिक अधिकार सुनिश्चित गर्न मुख्य मुद्दा को रुपमा दल तथा उम्मेदवारको चुनाव घोषणापत्रमा उल्लेख गर्न र त्यहि अनुरुप कार्यान्वयन गर्न साथै हामी हरुसंग भएको सम्झौता हरु कार्यान्वयन गर्न सत्ता/प्रतिपक्षी दल हरुसंग माग गरेका थियौं तर यसको वेवास्ता गरिएकोले हामी पुनः ध्यानाकर्षण गराउन चाहन्छौं र सााथै आम नेपालीहरुको जिविकोपार्जनको सवाल लााइ पनि चुनावी घोषणा पत्रमा प्रतिज्ञा गर्न आह्वान गरिन्छ । माथि उल्लेखित साथै हाम्रा पूर्व मागहरु सम्बोधन नगरिएमा सत्याग्रह सहितका आन्दोलन गर्न वाध्य हुनेछौं र कुनै पनि वेला शुरु गर्ने कुरा जानकारी गराउन चाहन्छौं। अन्तमा, त्रिभुवन विश्वविद्यालयका शिक्षक प्रेम चवलानीलाई मरणासन्न हुने गरी कुटने विद्धार्थी नेताहरुको विरुद्धको मुद्दा गृहमन्त्री खाणको आदेशमा गैरकानूनी ढङ्गले फिर्ता लिईदैछ सो नगर्न कडा चेतावनी दिइन्छ। धन्यवाद।

विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनी हरुलाई सरकारले अनुरोध गरे अनुरुप नेपालको विदेशी मुद्रा संचीती रित्तीनवाट जोगाउन मद्धत गर्नुहुन हाम्रो पनि अनुरोध छ।
डा.गोविन्द केसी
काठमाडौं।
१६ वैशाख २०७९ ।

प्रतिक्रिया