पर्दाभित्रको राजनीति

भरतपुरः ओली र प्रचण्डको नयाँ कुरुक्षेत्र ?

काठमाडौं। उम्मेदवारको नाम फिर्ता लिने समय सकिँदै गर्दा जगन्नाथ पौडेलको नाम यथावत नै रहेपछि राजनीतिमा नयाँ अड्कलबाजी सुरु भएको छ– भरतपुरमा नसोचेको गेमप्लान पनि त हुनसक्छ!

त्यसो भए के भरतपुर स्थानीय निर्वाचनको कुरुक्षेत्र नै बन्ला त? जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच घमासान युध्द होस्! जगन्नाथको अडान र त्यसको सम्भावित परिणामको रौंचिरा हेरिरहेका विश्लेषकहरु भरतपुरले राष्ट्रिय राजनीतिको नक्शा बदल्ने सम्भावना पनि देखिरहेका छन्।

‘सबैको उध्दार गर्यो, आफ्नैलाई भने भुत्ल्याईरहेको छ कांग्रेस, अर्थात् देशकै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस!’ एकजना पाका कांग्रेस नेताको टिप्पणी यस्तो छ।

आसन्न स्थानीय निर्वाचनमा विवेक उलंघन गर्न असमर्थ नेपाली कांग्रेसका केही नेतालाई केन्द्रीय नेतृत्वले भुत्ल्याईरहेको छ। डडेल्धुराका नेता कर्ण मल्लदेखि सुरु भएको यो भुत्ल्याउने अभियानले जनकपुर हुँदै चितवनमा पुगेर उत्कर्ष छोएको छ। भरतपुर महानगरमा माओवादीको उम्मेदवारलाई आफ्नो मत दिन नचाहने जगन्नाथ पौडेल राष्ट्रिय चर्चामा छन्। 

सत्ता गठबन्धन जोगाउने नाममा पार्टीको ठूलो लगानी भैसकेको, ऐतिहासिक बिरासत समेत बोकेको चितवनको भरतपुर महानगर फेरि पनि माओवादीलाई नै सुम्पने सभापति शेरबहादुर देउवाको एकल निर्णयले त्यहाँका कांग्रेसजनको मन भत्भती पोलेको देखियो। उनीहरुले यसपटक पनि माओवादीलाई नै महानगर सुम्पेर त्यो पोलेको मनमा नूनचूक छर्न चाहेनन्, जगन्नाथलाई उम्मेदवार बनाएर आत्मसम्मानको रक्षा गर्नु नै उपयुक्त ठाने। जब उम्मेदवार बने जगन्नाथ त्यसपछि सत्ता गठबन्धनको पिँडुला गल्यो, कन्सिरीबाट पसिना नै छुट्यो अनि सबै शक्ति लगाएर उनलाई थिच्न खोजियो। तर दबेनन् जगन्नाथ बरु पछि हट्यो गठबन्धन।

एकतन्त्रीय जहाँनियाँ निरंकुश राणा शासन हटायो नेपाली कांग्रेसले, देश र समाजले सूर्यको प्रकाश देख्यो। राणाले सुनको पिँजरामा थुनेका राजालाई सिंहाशनमा बिराजमान गरायो, प्रजातन्त्र ल्यायो र आधुनिक युगतिर देश अघि बढ्यो। त्यसपछिका घातप्रतिघात पनि खेप्यो, राजाहरुले उही कांग्रेसकै गर्धनमा हतियार उद्य्याईरहे तैपनि उसले राजसंस्थाको उपयोगिता देखि नै रह्यो। दरबारको आदेशमा आफ्नै मानिसहरु सत्ताको शिकार भैरहँदा समेत नेपाली कांग्रेसले सह्यो। अति भएपछि जे जे हुनुपथ्र्यो त्यही भयो, राजसंस्था विदा भयो, गणतन्त्र आयो। इतिहासको यो पक्ष छँदैछ।
 
अहिले फेरि पात्र बदलिएका छन् प्रवृत्ति दोहोरिईरहेकै छ। माओवादीले उसको नेतृत्वमा हिंसात्मक ‘जनयुध्द’ सञ्चालन गर्दा कांग्रेसका नेता कार्यकर्ता रोजीरोजी खोजी खोजी शिकार खेल्यो। स्वयं सभापति शेरबहादुर देउवा भाग्यले बचेका पात्र हुन्। आफैंमाथि र आफ्नै विरुध्द आईलागेको समूहलाई फेरि पनि नेपाली कांग्रेसले नै हतियार बिसाउन लगायो र राजनीतिको मूल प्रवाहमा जोड्यो। शान्ति प्रक्रियामा हस्ताक्षर भएपछिको कालखण्ड प्रत्यक्ष देखे भोगेका नेपालीलाई त्यसको बिस्तारमा वर्णन गरिरहनु पर्दैन। 

संविधान आएपछिका निर्वाचनमा आफ्नो शक्ति बढाउने भन्दा माओवादी र उसका खासखास नेता हार्ने हुन् कि भनेर कांग्रेसले नै सतर्क हुनुपर्यो। मत गणना रोकेर ‘बिचार पुर्याएर’ भएपनि कतिपयलाई दृश्यबाट पलायन हुनबाट बचाउने काम पनि गर्यो।

भरतपुर महानगरको पहिलो प्रमुख माओवादीलाई नै हुनुपर्यो, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै हातमा त्यो महानगर रहनुपर्यो। जसोतसो ‘प्रचण्ड’ पुत्री रेनु महानगर प्रमुख चुनिएपछि बल्ल राजनीतिले एउटा एम्बुस पार गर्यो। त्यसपछि कम्युनिस्ट एकीकरणको महानाटक मञ्चन भयो, निर्वाचनमा नेपाली कांग्रेसलाई ‘प्रचण्ड’ ले स्वभाव अनुसारको गुण तिरे। तर उनको दम्भ र अहंकार जमिरहन सकेन, केपी शर्मा ओलीसँग छानोमानो छुट्टिएपछि उनी फेरि कांग्रेसकै शरणमा आए। यो पक्ष पनि हातले छेकेर छेक्न सकिँदैन। 

दुइतिहाई कसरी तुहियो, त्यो समकालीन पुस्ताले झल्झली देखेकै हो। एमाले अध्यक्ष ओली सिंहदरबारको हुँकार बिसाएर बालकोटको बार्दलीमा चढेर कुर्लिए। नेपाली कांग्रेस र प्रचण्ड उनको निशाना थिए। नेपाली कांग्रेसले हात बाँध्ने हो भने एमालेसँग ठुस्किएर अलग्गिएका माधवकुमार नेपाल र छुट्टिएका प्रचण्डको राजनीति कसरी चल्थ्यो त्यो सबैले आँकलन गरेकै बिषय हो। स्वार्थ नेपाली कांग्रेसको पनि थियो, उनीहरुको साथ मिलाएर बन्यो पाँच दलीय गठबन्धन।

आज त्यही गठबन्धनको धागो नछिनोस् भनेर सभापति देउवा आफ्ना समर्थ, योग्य र बलिया उम्मेदवारहरु भुत्ल्याईरहेका छन्। भोलि संसदीय निर्वाचन पनि आउने नै छ, त्यतिबेला सभापति देउवाका हातमा तिनै आज भुत्ल्याईएका कार्यकर्ताको कपाल मात्र हुने छ। न उनीसँग आजका अभिन्न मित्रहरु प्रचण्ड रहने छन् न त माधव नेपाल नै। यो आजको निर्वाचन प्रसंगका जल्दाबल्दा पक्ष हुन्, लोकतान्त्रिक पार्टीको सभापतिको निरंकुश कार्यशैलीको स्तुतिगान गाईरहेका कांग्रेसजनले पनि सत्ताको तातोमा धेरै उखरमाउलो गरेको सुहाईरहेको छैन। आज देशभरका लोकतन्त्रवादी शक्ति र व्यक्तिहरु भन्न थालेका छन्– ‘कांग्रेस खोज्न चितवन जानु!’
 
नेपाली कांग्रेस कति कमजोर भैसकेको रहेछ भन्ने एउटा ज्वलन्त उदाहरण बनेको  छ चितवन अर्थात् भरतपुर महानगरको निर्वाचन सन्दर्भ। संगठन र कार्यकर्ताको शक्ति भन्दा प्रचण्डको धम्की र घुर्कीसँग तर्सने कमजोरीले गर्दा दोस्रो पटक पनि भरतपुर गुमाउनु परेको स्थानीय कांग्रेस नेता कार्यकर्ताको गुनासो सुनिन्छ। जगन्नाथ पौडेलको उम्मेदवारी र अडान तिनै भावनाको विम्व भएको उनीहरुको भनाई छ। 

भरतपुर महानगरको निर्वाचन राष्ट्रिय राजनीतिको नक्शा बदल्ने कारण पनि बन्न सक्ने देखिन्छ। खासगरी कम्युनिस्ट समूहरुवीचको अस्वस्थ प्रतिष्पर्धाको हिसाबकिताव मिलाउन यो महानगरको निर्वाचनमा राम्रैसँग दाउपेच चल्ने सम्भावना अस्वीकार गरिहाल्न मिल्दैन।  नेकपा फुटेर एमाले र माओवादी अलग भएको बिषय होस् कि एमालेबाट अलग्गिएका माधव नेपाल समूहको पक्ष होस्।

यी तीनवटै समूह एकअर्काको साईज घटाउन चाहन्छन् भन्ने कुरा कसलाई थाहा छैन र? राजनीतिमा शत्रुको शत्रु मित्र हुन्छ भने झैं यस्तो अवस्थामा भरतपुरमा अनौठो समीकरण नबन्ला भन्न सकिँदैन। माओवादी अध्यक्ष प्रचण्डको शेखी झार्न मौका कुरेर बसिरहेका राजनीतिका चतुर खेलाडी केपी शर्मा ओलीले भरतपुरमा ठूलै एम्बुस थाप्न सक्ने सम्भावना देख्छन् भरतपुरका कांग्रेस र एमालेका नेता कार्यकर्ता।

राजनीतिलाई सम्भावनाहरुको खेल त्यसै भनिएको होइन भने भरतपुरमा यसको प्रयोग नहोला भनेर कसले दावी गर्न सक्ला र? भरतपुर महानगर ओली र प्रचण्डको महाभारत युध्द मैदान ‘कुरुक्षेत्र’ पनि त बन्न सक्छ!
 

प्रतिक्रिया