किन ‘विद्रोह’ गरे जगन्नाथले? 

काठमाडौं। २०१५ सालमा नेपालमा भएको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट चितवनवासीको लोकप्रिय उम्मेदवार थिए, बखानसिंह गुरुङ। तर, शीर्ष नेतृत्वले गुरुङको स्थानमा निकै जुनियर विश्वबन्धु थापालाई उम्मेदवार बनाउने निर्णय गर्यो। 

जनकपुर महाधिवेशनमा नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाले तुलसी गिरी र विश्वबन्धु थापालाई आफ्नो दाँया–बाँया छेउ च्यापेको देखेपछि पुराना कार्यकर्ता असन्तुष्ट नभएका होइनन्। तर, विपीले उनीहरू नेपाली कांग्रेसको भविष्य तथा आफ्नो दुइ आँखा भएको भन्दै कार्यकर्तालाई थुम्थुम्याउन खोजेका थिए।  

त्यसैले चितवनवासीलाई यो बुझ्न गाह्रो भएन, पहिलो आमनिर्वाचनमा गुरुङको नाम काटेर विश्वबन्धुलाई उम्मेदवार बनाउने निर्णय विपीबाट प्रभावित थियो। विपीको यो निर्णय बहुसंख्यक चितवनवासीलाई मन परेको थिएन। तर, गुरुङ विपीका अनुयायी थिए, त्यसैले उनले कुनै विद्रोह गरेनन्। यसैको परिणाम डा. केआई सिंहविरूद्ध विश्वबन्धुले सानदार जित हासिल गरे।  

तर, विश्वबन्धु कति महत्वकांक्षी थिए भन्ने कुरा निर्वाचन सम्पन्न भएको १६ महिनाभित्रै प्रमाणित भयो। विपीको दुई तिहाई सरकार अपदस्थ गर्ने राजा महेन्द्रको षड्यन्त्रमा तुलसी गिरीसँग मिलेर उनले भरपुर साथ दिए। तर, बखानसिंह गुरुङले विपीको त्यो निर्णयविरूद्ध चुइक्क बोलेनन्। उनी विपीको प्रजातान्त्रिक आन्दोलनमा बाँचुञ्जेल निष्ठावान रहे। 

भरतपुरमा नेपाली कांग्रेसको शीर्ष नेतृत्वले आफ्नो उम्मेदवार लादेको यो पहिलो घटना होइन। यसअघि पनि थुप्रै उम्मेदवार लाद्ने काम भइसकेको छ। तर, यतिबेला स्थानीय निकायको निर्वाचनमा जगन्नाथ पौडेलले ‘विद्रोह’ गरेका छन्। पेशाले कानून व्यवसायी समेत रहेका, पूर्व सांसद र २०४९ सालको स्थानीय निकायको चुनावमा चितवनको उपमेयर निर्वाचित पौडेलले आखिर किन ‘विद्रोह’ गर्नुपर्यो? यो सबैको लागि कौतुहलको विषय बनेको छ। 

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा सबैभन्दा पहिले शहीद भएको जिल्ला चितवन नै हो। राजनीतिक चेतनाको दृष्टिले चितवन अन्य जिल्लाभन्दा कुनै कारणले कम मानिदैन। अझ, नेपाली कांग्रेसको इतिहास पल्टाउने हो भने नेपालका ७७ जिल्लामा सबैभन्दा सुरक्षित ठाउँ चितवन मानिन्छ। 

यसैले पार्टीका पूर्वसभापति सुशील कोइराला संविधान सभाको दोस्रो निर्वाचनभन्दा अगाडि प्रधानमन्त्रीको दावेदारीका लागि नेपालगञ्जबाट चितवन आइपुगेका थिए। यद्यपि उनीविरूद्ध पनि जिल्ला सभापति विकास कोइरालाले ‘विद्रोह’ नै गरेका थिए।

शीर्ष नेतृत्वका लागि चितवन चुनाव लड्न सधै सबैभन्दा सुरक्षित स्थान हो। तर, शीर्ष नेतृत्वको अदूरदर्शी व्यवहारका कारण स्थानीय नेता भने उपेक्षित हुँदै आइरहेका छन्। कांग्रेसकै गढ भएको ठाउँमा विगत १० वर्षदेखि यहाँका कार्यकर्ता रुखमा भोट हाल्नबाट बञ्चित छन्। पहिले यहाँ राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का नेता विक्रम पाण्डेका कारण स्थानीय कांग्रेसीहरूले रुख चिन्हमा मतदान गर्न पाएनन्। अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण कांग्रेसीहरू आफ्नो ऐतिहासिक ४ तारे झण्डासमेत बोक्नबाट बञ्चित छन्। 

२०१५ सालदेखि कांग्रेसको शीर्ष नेतृत्वले स्थानीय कांग्रेसी कार्यकर्ताप्रति गरेको उपेक्षाकै प्रतिविम्ब हो, मेयर पदका लागि जगन्नाथ पौडेलले गरेको ‘विद्रोह’। अहिले यो ठाउँ ‘टुरिष्ट’ बनेर आउने कांग्रेसीका लागि आफ्नो राजनीति चम्काउने केन्द्र पनि बन्न थालेको छ। कांग्रेसको १३ औं महाधिवेशनदेखि कांग्रेसमा सक्रिय उमेश श्रेष्ठ माननीय बनेर क्रियाशील सदस्यता लिने पहिलो भाग्यमानी कांग्रेसी हुन्। उनी कांग्रेसको क्रियाशील नभइकन दोस्रो संविधानसभामा माननीय बन्न सफल भएका थिए। पहिले आफू जन्मिएको ठाउँ भोजपुर, त्यसपछि आफू बसेको ठाउँ ललितपुरबाट उनले क्रियाशील सदस्यता लिन खोजेका थिए। तर, दुवैमा असफल भएपछि चितवनको माडीबाट सदस्यता लिएका थिए। 

१४ औं महाधिवेशनमा उनी जनजाति कोटाबाट केन्द्रिय सदस्य हुँदै हाल शेरबहादुर देउवा मन्त्रिमण्डलमा विनाविभागीय राज्यमन्त्री छन्। 

अहिलेको ‘विद्रोह’ स्थानीय कांग्रेसीहरूले उमेश श्रेष्ठविरूद्ध जगन्नाथमार्फत गरेको देखिन्छ। यहाँका नेताको ‘बली’ दिएर अरु पार्टीलाई स्थापित गराउने नेतृत्व पंक्तिको सोचविरूद्ध जगन्नाथले ‘विद्रोह’ गर्नुको अन्य कारण पनि छन्। 

कांग्रेसको १४ औं महाधिवेशनमा जगन्नाथलाई वडाबाटै पराजित गर्न पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका ‘खास’ मिलनबाबु श्रेष्ठ र उनको श्रीमती अञ्जनी श्रेष्ठ निकै सक्रिय थिए। वडामा प्रतिनिधि चयनको विषयमा बबाल भएपछि श्रेष्ठ दम्पत्ति पछाडि हट्नु परेको थियो। तर, क्षेत्रमा भने उनीहरू जगन्नाथलाई पराजित गर्न सफल भए। आफू उपमेयर हुँदा वडा अध्यक्ष रहेका र राजनीतिक रूपमा निकै जुनियर श्रेष्ठ दम्पत्ति प्रयोग गरेर आफूलाई अपमान गरेको ठानेर शीर्ष नेतृत्वविरूद्ध जगन्नाथ पहिलेदेखि नै रुष्ट थिए। 

जगन्नाथलाई क्षेत्रमा पराजित गरेबापत श्रेष्ठ दम्पत्तिमध्ये श्रीमानले बाग्मती प्रदेशमा मन्त्री पद पाए भने श्रीमतीलाई जनजाती कोटाबाट केन्द्रीय सदस्य बनाएर पुरस्कृत गरिएको थियो।

वास्तवमा जगन्नाथले अहिले ‘विद्रोह’ गर्नुमा गृहमन्त्री बालकृष्ण खाँडको पनि ठूलो चुक छ। यद्यपि पछिल्लो समय जगन्नाथलाई फकाउन गृहमन्त्री चितवनमा सक्रिय थिए। गृहमन्त्री खाँडका पिए नरेन्द्र केसी चितवन निवासी हुन्। पिएकै कारण खाँडले २१ नम्बर वडाका निर्वतमान अध्यक्ष र चितवनमा सबैभन्दा कनिष्ट चित्रसेन अधिकारीलाई उप–मेयरको टिकट दिलाउन सफल भएका थिए। नेकपा माओवादीसँग गठबन्धन गर्दा दुवै उम्मेदवार खस–आर्यबाट हुनुले यहाँ जनजातिहरूको ठूलो रोष छ। किनभने माओवादीबाट मेयरको उम्मेदवार रेनु दाहाल पनि खस–आर्यबाटै प्रतिनिधित्व गर्छिन्। 

चितवनमा कांग्रेसबाट मेयरमा ७–८ जना महत्वकांक्षी थिए। माओवादीसँग गठबन्धन गरेपछि उप–मेयर कसलाई दिने भन्ने विषयमा सबै महत्वकांक्षी र जिल्लाका नेताहरूलाई राखेर उप–मेयरमा एक जना चयन गर्न आदेश दिएको भए ‘विद्रोह’ को आगो त्यतिबेलै साम्य हुने स्थानीय नेताहरू बताउँछन्। उनीहरूको भनाईमा केन्द्रबाट सबै कुरा लाद्ने कार्यले ‘विद्रोह’ को रूप लिएको हो। 

फेरि, जगन्नाथलाई अपमानित गर्न शीर्ष नेतृत्वले आफ्ना ‘हनुमान’ हरूलाई यसरी प्रयोग गर्याे, जुन चितवनवासीका लागि मात्र नभएर, स्वयम जगन्नाथका लागि ‘इगो’ बन्यो। जगन्नाथले मोटो रकम र ठूलो पद ओगट्न ‘बागी’ बनेको प्रचार पनि गरियो। यसले अमेरिकामा डाक्टरी पेशामा रहेका उनका छोरा–छोरीलाई यतिसम्म ‘हर्ट’ गर्यो, उनीहरूले फोन गरेर आफ्नो बाबुलाई कुनै हालतमा पछि नहट्नुसम्म भन्नुपर्यो। 

कानुनको विधार्थी हुँदा जगन्नाथ सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका समकालीन हुन्। तर पछिल्लो समय उनलाई दबाब दिने उद्देश्यले विवादास्पद छविका पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली चितवन पुगे। यसले झन् कुरा बिग्रिएको उनी निकट बताउँछन्। 


       
 
 

प्रतिक्रिया