‘क्वाड’ बाट भारत बाहिरिने सम्भावना प्रबल, दक्षिण कोरियाको ‘इन्ट्री’ सम्भव


वासिङ्टन । युक्रेनमा रुसी हमलालाई लिएर चुपचाप बसेको भारतसँग विश्व शक्ति राष्ट्र अमेरिकाको सम्बन्ध बिग्रिन थालेको छ । केही समयअघि भारत भ्रमणमा निस्किएका अमेरिकी अधिकारी दलिप सिंहले रुस–युक्रेन युद्धमा भारतको तटस्थ भूमिकालाई लिएर मोदी सरकारविरूद्ध धम्की दिएका थिए । 

अहिले अमेरिकी राष्ट्रपति जो वाइडेनले पनि भारतको भूमिकालाई लिएर असन्तुष्टी जाहेर गरेको अमेरिकाबाट प्रकाशित विभिन्न संचारमाध्यमले जनाएका छन् । रुस–युक्रेन युद्धमा भारतको भूमिकालाई लिएर असन्तुष्ट वासिङ्टनले ‘क्वाड’ को नयाँ समूहमा भारतलाई विस्थापित गरेर दक्षिण कोरियालाई समावेश गर्ने चर्चा चुलिएको छ। 

चीनलाई समुद्री नाकामा घेर्ने अभियानअन्तर्गत अमेरिकाले जापान, अस्ट्रेलिया, भारत र आफू गरी ४ वटा देशको समूह ‘क्वाड’ को गठन गरेको थियो। तर, दिल्ली र मस्कोको बलियो सम्बन्ध देखेपछि अमेरिकाले दक्षिण कोरियालाई विकल्पको रुपमा समावेश गर्ने सम्भावना प्रबल रहेको विज्ञहरूको भनाई छ। 

एशिया टाइम्समा प्रकाशित रिपोर्टले पनि चीनलाई रोक्न भारतभन्दा दक्षिण कोरिया ‘क्वाड’ को प्रभावशाली सदस्य बन्नेतर्फ इंगित गरेको छ। दक्षिण कोरिया र चीनको लामो समयदेखि राम्रो सम्बन्ध थियो। तर, युक्रेन युद्धपछि कोरियाका नवनियुक्त राष्ट्रपति युन सुक येओलले अमेरिकातर्फ झुकाव देखाएका छन् । यसले हिन्द प्रशान्त क्षेत्रमा नयाँ समीकरण बन्न सक्ने सम्भावना प्रबल छ। 

अमेरिकी दबाबका बाबजुद भारत रुससँगको सम्बन्ध थप मजबुत बनाउने अभियानमा छ। उसको विदेशमन्त्री एस. जयशंकरले अमेरिकासँग हालै भएको बैठकमा पनि यो कुरा स्पष्ट पारिसकेका छन्। भारतको भूमिकाले युक्रेन युद्धमा रुसलाई घेराबन्दीमा पार्ने अभियानमा ‘क्वाड’ समूहबीच नै विभाजन ल्याएको छ। 

वाइडेन प्रशासनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकरसमेत अन्य नेतासँगको भेटघाटमा रुसको विषयमा धम्की दिइसकेका छन् । भारतको भूमिकाले रुसविरूद्ध अमेरिका र पश्चिमी देशले लगाएको आर्थिक प्रतिबन्धलाई कमजोर तुल्याएको छ। 

अमेरिकी विदेशमन्त्री तथा रक्षामन्त्रीले युक्रेन भ्रमणमा स्पष्ट पारिसकेका थिए कि वासिङ्टनको रणनीति रुसलाई चौतर्फी घेराबन्दीमा पार्ने हो। तर, भारतले स्पष्ट रूपमा भनेको छ, अमेरिकासँगको सहयोग उसका लागि अपरिहार्य हो तर रुससँगको मित्रता तोड्न उ चाहँदैन। 

दिल्लीको भूमिकालाई लिएर असन्तुष्ट वाइडेनले केही समयअघि मात्र भारतको कमजोर मानवअधिकार र लोकतन्त्रप्रति टिप्पणी गरेका थिए।  दक्षिण कोरिया भारतलाई प्रतिस्थापन गर्न निकै आतुर देखिन्छ। उसले निकट भविस्यमै ‘क्वाड’ प्लस र जी–७ प्लसको रुपमा आफ्नो भूमिकालाई बढाउन चाहिरहेको छ। 


 

प्रतिक्रिया