इजिप्टसँगको सम्बन्धलाई सामान्य बनाउन प्रयास भइरहेको छ : टर्की

काठमाडौं– टर्कीका विदेशमन्त्री मेभलुत चौसोलोले इजिप्टसँगको सम्बन्धलाई सामान्य बनाउन काम भइरहेको बताए।

मेभलुत चौसोलोले टर्की अखबार सबाहीलाई भने, ‘यो प्रक्रिया पहिले इजिप्टबाट सुरु भयो, तर अलि सुस्त गतिमा अघि बढिरहेको छ। सम्बन्धलाई सामान्य बनाउने हाम्रो रणनीति हो।’

उनले इजिप्टसँगको वार्ताको अर्को चरण उपमन्त्री वा मन्त्रीस्तरीय वार्ता हुन सक्ने बताए। चौसोलोले भने, ‘हामी हाम्रो सम्पर्क र सहकार्यलाई बढाउँछौं।’

टर्कीका विदेशमन्त्रीको यो भनाइ टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको भर्खरै साउदी अरबको भ्रमणपछि आएको हो। सन् २०१७ यता एर्दोगानको यो पहिलो पटक साउदी अरबको भ्रमण थियो।

उनले साउदी अरेबियाका राजा सलमान बिन अब्दुलअजिज र युवराज मोहम्मद बिन सलमानसँग भेट गरे।

सन् २०१८ मा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खशोग्गीको हत्यापछि साउदी अरेबिया र टर्कीबीचको सम्बन्ध तनावपूर्ण बनेको छ।

टर्कीका राष्ट्रपतिले आफ्नो साउदी अरेबियाको भ्रमणले राजनीति, सैन्य, अर्थतन्त्र र संस्कृति लगायत सबै क्षेत्रमा सहयोगको नयाँ युग सुरु गर्ने आशा व्यक्त गरे।
 

प्रतिक्रिया