गुरुआमाको हात समातेर कांग्रेस पसे नायक भुवन केसी 

काठमाडौं। नेपाली चलचित्रका चकलेटी नायक भुवन केसी आफ्नी गुरुआमाको हात समातेर नेपाली कांग्रेस प्रवेश गरेका छन्। माईती नेपालकी संस्थापक अनुराधा कोइरालाका विद्यार्थी हुन् भुवन केसी। उनलाई लामै परामर्शपछि सम्झाएर अनुराधाले कांग्रेस प्रवेश गर्न राजी गराएकी हुन्।

स्थानीय निर्वाचन अघि नै ठूला पार्टीमध्ये कुनै एकमा पसेर राजनीतिमा सक्रिय हुन चाहिरहेका भुवनले गुरुआमा अनुराधासँग धेरैपटक सरसल्लाह गरेका थिए। 

अरु साथीभाईका अगाडि खुल्लमखुल्ला चुरोट तान्ने भुवन गुरुआमा अनुराधाको चैं आँखा छल्छन्। अभिभावक सरह सल्लाह सुझाव मान्ने भएकाले अनुराधाले नेपाली कांग्रेसमै पस्न भुवनलाई राजी गराएकी हुन्।

अर्का कलाकार तथा निर्देशक नीर शाहले पनि भुवनलाई तुलनात्मक रुपमा लोकतन्त्रवादी दलमै प्रवेश गर्दा उपयुक्त हुने सल्लाह दिएका थिए। 

आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारमा भुवनसँगै आएका कलाकारहरु श्वेता खड्का र रवीन्द्र खड्कालाई पनि नेपाली कांग्रेसमा प्रवेश स्वागत गरे। देउवाले उनीहरूलाई टीका लगाइदिएका थिए। 

राष्ट्रिय सभामा मनोनित हुने उच्च प्राथमिकतामा परेका नीर शाहले पहिले नै नेपाली कांग्रेस पसेर सक्रियता देखाईसकेका छन्। शाहलाई प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा सदस्य बनाउने वचन दिएका छन्। तर यसअघि कांग्रेस मुख्यालयका सचिव कृष्णप्रसाद पौडेल छानिएकाले अब आउने अवसर नीर शाहका लागि हुने बुझिएको छ। 
 
 

प्रतिक्रिया