राहुल गान्धी नेपालको डिस्कोमा, भारतीय राजनीति तरंगित

काठमाडौं। आफ्नो साथीको बिहेमा सहभागी हुन काठमाडौं आएका भारतीय कांग्रेसका नेता राहुल गान्धी यतिबेला चर्चाको पात्र बनेका छन्। 

उनी नेपाली कुटनीतिज्ञ भीम उदासकी छोरी सुम्निमा उदासको बिहेमा सहभागी हुन सोमबार काठमाडौं आइपुगेका थिए। बिहेको पार्टी बौद्धस्थित हायात रिजेन्सी होटलमा आज हुँदैछ। 

तर, मंगलबार राती देशकै चर्चित ‘लर्ड अफ ड्रिग्स’ (एलओडी) मा महिला साथीसँग राहुलको तस्वीर भाइरल भएपछि भारतमा उनीविरूद्ध ‘प्रोपगण्डा’ सुरु भएको छ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले राहुलको नेपाल भ्रमणलाई लिएर प्रश्न उठाएको छ। 

यस्तै, अन्तर्राष्ट्रिय मिडिया सिएनएनमा काम गरिसकेकी सुम्निमाको विषयमा पनि भद्दा समाचार प्रकाशित हुन थालेका छन्। 

भारतका केही अखबारहरूले सुम्निमालाई भारत विरोधी भन्दै प्रचार पनि गरेका छन्। सुम्निमाले सिएनएनमै कार्यरत निमा मार्टिन शेर्पासँग सोमबार बिहे गरेकी छिन्। 

एलओडी डिस्कोमा राहुल गएको भिडियो मंगलबारदेखि नै भाइरल भएको थियो। भिडियोमा उनीसँगै देखिएकी महिला नेपालस्थित चिनियाँ राजदूत हो यान्की भएको अन्दाजसमेत गर्न भ्याइसकेका छन्, भारतीय मिडियाहरूले। ‘द हवाक हाइ’ ट्वीटर ह्याण्डलमा राहुलको भिडियोसँगै चिनियाँ राजदूत यान्कीको फोटो राखेर प्रश्न गरिएको छ– के राहुल गान्धी हो यान्कीसँग पार्टी गरिरहेका छन्?’

 

राहुलको भिडियो भाइरल भएपछि भाजपाका प्रवक्ता शहजाद पुनावालाले भनेका छन्, ‘बिहेमा सहभागी हुनु उनको निजी कुरा हो। तर, राजस्थानको जोधपुरमा हिंसा भइरहेको छ। राजस्थानमा कांग्रेसको सरकार छ। राजस्थान जलिरहेको बेला चिन्ता गर्नुको सट्टा उनी नेपालको नाइटक्लबमा पार्टी गरिरहेका छन्। उनी यतिबेला भारतीय जनतासँग उनीहरूको समस्या बुझ्न सँगै हुनुपथ्र्यो। तर, राहुल गान्धीको पार्टी यसरी नै चल्छ। उनी राजनीतिमा त्यति गम्भीर छैनन्।’

भारतका केही मिडियाले सुम्निमालाई भारतप्रति राम्रो सोच नराख्ने महिलाको रूपमा चित्रण गर्न थालेका छन्। सुम्निमाले भाजपाले ल्याएको नागरिकता संशोधन बिलको विपक्षमा दंगा गर्ने मानिसहरूलाई समर्थन गरेको आरोप लगाइएको छ। भारतले नेपालको भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर राजनीतिक मानचित्र प्रकाशित गरेपछि सुम्निमाले विरोध जनाएकी थिइन्। यसलाई पनि भारतीय मिडियाले सुम्निमाको ‘प्रोपगण्डा’ को रूपमा लिएको छ। 

सुम्निमाले अमेरिकाको ली विश्वविद्यालयबाट जर्नलिजममा शिक्षा आर्जन गरेकी थिइन्। उनले अक्सफोर्डबाट मास्टर डिग्री गरेकी छिन् भने उनी सफल महिला पत्रकारको रूपमा स्थापित थिइन्। उनले दिल्लीको बहुचर्चित निर्भया सामूहिक बलात्कारको रिपोर्टिङ गरेकी थिइन्। उनलाई २०१४ मा ‘अमेरिकी जर्नलिस्ट अफ द इयर’ को पुरस्कारबाट सम्मानित गरिएको थियो। 
  


     

प्रतिक्रिया