योगीले भेटे ५ वर्षपछि आफ्नी आमालाई

लखनउ। उत्तर प्रदेश (युपी) का मुख्यमन्त्री योगी आदित्यनाथले ५ वर्षपछि आफ्नो आमालाई भेटेका छन्। भारतको सबैभन्दा ठूलो प्रदेशमा शाषन गर्ने सिलसिलामा उनी पाँच वर्षदेखि आफ्नो आमासँग भेट गर्नबाट बञ्चित थिए। 

योगी मंगलबार आफ्नो पैतृक गाउँ पुगेका थिए। उनी हाल उत्तराखण्डको तीन दिने भ्रमणमा छन्। उनी आउने थाहा पाएपछि गाउँमा उत्सवको वातावरण थियो। उनले बिहीबार उत्तराखण्डको अलकनन्दा होटल राज्यलाई सुम्पिने कार्यक्रममा भाग लिन आएका हुन्। 

मुख्यमन्त्री योगीले भ्रमणको पहिलो दिन मंगलबार राती सानोमा आफू हुर्किएको कोठामा बिताएको भारतीय अखबारहरूले जनाएका छन्। 

५ वर्षपछि आफ्नो छोरासँग भेटेर योगी आदित्यनाथकी ८४ वर्षीय आमा सावित्री देवी बिष्ट भावुक बनेकी थिइन। उनले खुट्टा छोएर आमाको आर्शिवाद लिएको तस्वीरहरू प्रकासित भएका छन्। योगीलाई गाउँमा देखेपछि उनीका आफन्तहरू गद्गद् भएका थिए। 

योगीले मंगलबार आफ्नो पैतृक गाउँ यमकेश्वरको पंचूर पुगेर गुरु अवेधनाथको प्रतिमा अनावरण गरेका थिए। गोरखपुर मठका गुरु अवेधनाथबाटै योगीले आध्यात्मीक शिक्षा ग्रहण गरेका थिए। आफ्नो गुरुको विषयमा बोल्दै गर्दा उनी भावुक बनेका थिए। 

योगी आदित्यनाथ युपीमा लगातार दोस्रो कार्यकाल मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन्। उनी हालै दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। उनको पुरानो नाम अजय मोहन विष्ट हो। 
 

प्रतिक्रिया