मानिस ब्यक्त हुन चाहन्छ। ब्यक्त हुने तरिका बोलेर, लेखेर, विचार प्रकट गरेर, तर्क गरेर, संकेत इशारा गरेर एवं प्रकारका अभिब्यक्ति नै हो। मानिसको सन्तुलित अभिब्यक्ति भए मौनको अभ्यास बसिरहनु पर्दैन। यहाँ समस्या के हो भने कि चाहिने भन्दा बढी बोल्नु कि त बोल्नु पर्ने जती ठिक्क नबोल्नु। जसरी भोजन संयमका लागि निराहार ब्रत बसिन्छ, त्यसैगरी कहिलेकाहीं वाणी संयमको लागि मौन ब्रत बस्नु जरुरी छ। मौन ब्रत बस्दा केही घण्टा, १ दिन, ३ दिन, ७ दिन, २१ दिन, ९० दिन वा १०८ दिन वा यो भन्दा बढी समय बस्न सकिन्छ। मौन साधनामा बस्दा संकल्प शक्ति बलियो हुन्छ। वाणीमा संयम शक्ति प्राप्त हुन्छ। यदि संसारमा केही समस्या छ भने बोलीको कारणले छ। समाधान छ भने पनि बोलीकै कारणले छ। वाणी मै छ अमृत अनि विष। वाणीमा लगाम लगाउन नसक्नाले र के बोलिरहेको छु भनी थाहा नपाई जथाभावी बोल्नाले धेरै समस्या सिर्जना भएको छ। बोलीका कारणले घर झगडा देखि विश्वयुद्धसम्म भएको छ।
सजगता नभै मौन बस्न सकिन्न। विचार प्रति सजग भए बोलिमा लगाम लगाउन सकिन्छ। मानिसले करिव ९० प्रतिशत काम नलाग्ने बाहियात कुराहरु गरेर विताउँछ। नबोले पनि हुने कुरा गरेर आफूलाई अशान्त बनाउँछ। बाहिर मुख चुप लागेर बसे पनि भित्र मन बकबक गरिरहेको हुन्छ। बिचार चलिरहेको हुन्छ। अरुको कुरा सुन्न तयार छैन मान्छे, आफ्नै कुरा भन्न हतार हुन्छ। तुरुन्त प्रतिक्रया जनाईहाल्ने, गुनासो गरिहाल्ने र जवाफ फर्काई हाल्ने बानीले गर्दा घर परिवारसँगको सम्बन्ध बिग्रिने गरेको छ। संघ संस्था र कार्यालयको काममा बाधा अड्चन आउने गरेको छ। मानिस मानिस बीचको दूरी बढेको छ। अन्तष्करण अशुद्ध छ अर्थात् मन, बुद्धि, चित्त र अहंकार विकृत बनेको छ। मनको अस्तब्यस्तता वाणीमा प्रकट भैरहेको छ। के बोल्दैछु, हेक्का छैन आजको मानिसलाई।
तीन तरिकाबाट मौनको अभ्यासमा जान सकिन्छ। बोलीको तहमा जुन कुरा बोल्न जरुरी छैन त्यो कुरा नबोल्ने। जुन कुरा बोल्न आवश्यक छ त्यो कुरा मात्र बोल्ने। यो बडो कठिन कुरा हो। किनभने बेहोशीमा बोल्न मन लागि हाल्छ। थाहै नपाई बोली फ्याट्ट बाहिर निस्किहाल्छ। हामीले आफ्नै बोलीको याद गर्यौं भने थाहा हुन्छ कि हामी बारबार एउटै प्रकारका बोली र उस्तै प्रकारका शब्द प्रयोग गरिरहेका हुन्छौं। आफूले प्राप्त गरेको ज्ञानको आधारमा धारणा ब्यक्त गर्दछौं। मनको तहमा मौन रहन आफ्ना विचार प्रति सजग हुनुपर्दछ। अनावश्यक कुरामा छरिएको मनलाई खिचेर आवश्यक कुरामा लगाउनु पर्दछ। यसको लागि सजगताको अभ्यास गर्नु जरुरी हुन्छ। कर्मको तहमा मौनको साधना गर्न बर्षमा कम्तिमा दुईपटक सात दिन वा एक्काईस दिनको मौन साधना गर्नु पर्दछ।
मौन साधना गर्न विधि चाहिन्छ कि चाहिंदैन भन्ने विषयमा केही चर्चा गरौं। के चुप लागेर बस्दैमा मौन घटित हुन्छ? जो बोल्न सक्दैन वा एक्लै बस्दैमा वा कसैसँग नबोल्दैमा मौन बसेको हो त? पक्कै पनि होईन। बोल्ने विषय र मान्छे नभएर मौन हुने हैन बोल्ने विषय र मान्छे भएर पनि नबोल्नु चै मौन हो। हामीलाई शान्ति र स्थिरता चाहिएको छ। शान्त र स्थिर चित्त निर्माण गर्न मौन साधना गर्नु पर्दछ। जे चाहिएको हो त्यसैमा ध्यान लगाउनु नै पर्दछ। मन अशान्त गराउने कुराहरुबाट ध्यान हटाउनु पर्दछ। यदि यो संसारमा कुनै प्राणी अशान्त छ भने त्यो प्राणी हो मानिस।
मौन बस्न चाहनेले ब्यक्ति, बस्तु र विषयबाट ध्यान हटाउनु पर्दछ। तब मात्र मौन बस्न सकिन्छ। मौन साधना गर्न शरीर, मन, भावना र चेतनाको तहसम्मको गहिराईमा मौन साधनाको अन्तिम अनुभूतिसम्म पुग्नु भएका सद्गुरुको प्रत्यक्ष निर्देशन र निगरानीमा विधिसम्मत तरिकाले मौन साधना गर्दा वास्तविक मौनतामा पुग्न सकिन्छ। सद्गुरुको सानिध्यमा सजगतापूर्वक चेतन मनले अभ्यास गरेर अवचेतन मनलाई प्रशिक्षित गर्न सकिन्छ। मौन साधना गर्नु भन्दा अगाडि यसका सूत्र, विधि र प्रकृया बुझ्न जरुरी छ।
कुनै विधि प्रयोग गरेर वा अविधिबाट मौन साधना गर्न सकिन्छ। मौनको साधना यस विधामा सिद्धिप्राप्त सद्गुरुद्वारा दिईएको विधिबाट जाँदा छिटो आन्तरिक मौनमा प्रवेश गर्न सकिन्छ। जस्तैः जीवन विज्ञान प्रतिष्ठानका सद्गुरुदेवद्वारा प्रयोग गराईने मौन रहस्य विज्ञानका कार्यक्रममा भाग लिएर मौन साधनामा बस्न सकिन्छ। त्यस्तै गरी अविधिबाट चुपचाप मौनमा बस्न पनि सकिन्छ। जस्तैः विपश्यना आउँदै जाँदै गरेको श्वासको याद गर्ने वा आफ्नो शरीरको संवेदना हेर्ने वा आफ्नै तरिकाले मौन बस्ने।
मौनताको अभ्यास गरे पछि मौन घटित हुन्छ। मनुष्ययोनी कर्मयोनी हो तसर्थ अभ्यास गर्नैपर्छ। नजाने गाउँको बाटो नसोध्नु भने जस्तै जुन कुरा गर्नु छैन, त्यस विषयमा चासो नराख्नु बुद्धिमानी हुन्छ। नबोल्नु धेरै समस्याको समाधान बन्न सक्छ। नबोल्नुमा जस्तो शान्ति र आनन्द केहीमा छैन। गहिरो मौनमा परम् शान्तिको अनुभूति हुन्छ। सुमधुर नाता सम्बन्ध त्यहाँ राम्रो हुन्छ, जहाँ शब्द कम अनि ज्यादा समझ हुन्छ। आफ्नो मनलाई शान्त बनाउँन बारबार मौनको अभ्यास गरौं।
(आचार्य, जीवन विज्ञान प्रतिष्ठानकी योग ध्यान प्रशिक्षक हुन्)
प्रतिक्रिया