युक्रेनको कब्जामा रहेको स्टिल उद्योगमा रुसी फौजको आक्रमण 

काठमाडौं– आफ्नो कब्जामा रहेको मारिओपोल सहरको अन्तिम क्षेत्रको एजोभस्टाल स्टिल उद्योगमा रुसी फौजले पूर्णस्तरको आक्रमण गरिरहेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

उक्त उद्योगभित्र रहेका युक्रेनी कमान्डर डेनिस प्रोकोपेन्कोले दोस्रो दिन पनि रक्तपातपूर्ण लडाइँ जारी रहेको बताएका हुन्। उक्त उद्योगभित्र बालबालिकासहित करिब २०० सर्वसाधारण आश्रय लिएर बसिरहेको बताइएको छ।

कमान्डर प्रोकोपेन्कोले टेलिग्राममार्फत् भनेका छन्,‘शत्रुको दबाब नियन्त्रणमा राख्न मेरा सेनाले मानवले गर्न सक्ने भन्दा ठूलो प्रयास गरिरहेको प्रति म गर्व गर्छु।यहाँको अवस्था निकै कठिन छ।’

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसहरूको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्रसंघसँग आग्रह गरेका छन्।

‘हाम्रा लागि सबै महत्त्वपूर्ण छन्। तिनीहरूलाई जोगाउन हामी तपाईँसँग मद्दत माग्छौँ,’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरससँग फोनमा कुरा गर्दै उनले भने।

रुसले भने एजोभास्टल स्टिल उद्योगबाट सर्वसाधारणको उद्धार गरेर अन्यत्र लैजान बिहीबार युद्धविरामको कार्यान्वयन आफूले गर्ने जनाएको छ।

रुसी सेनाले उद्योगबाहिरको मार्ग मे महिनाको ५, ६ र ७ तारिखमा मस्को समय अनुसार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुल्ने जनाएको छ।

प्रतिक्रिया