समाचार विश्लेषण

कांग्रेसभित्रका लोकतन्त्रप्रेमी हार्दै  

पछिल्लो समयमा नेपाली कांग्रेसका प्रमुख नेताहरूमा असीमित अहंकार झ्याँगिएकाले तिनले नेतृत्व प्रदान गरेका समूहहरूमा तीव्र विचलन आएको छ। कांग्रेसजन आफ्नो पार्टीलाई लोकतन्त्रको मियो भन्छन् तर यसका, आजका अग्रपंक्तिका, नेताहरूको अहंकारको पारो यति माथि छ कि कसैकसैले त नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नै “माथ” दिने क्षमता आर्जन गरेका छन्। उनीहरू आफूभन्दा माथि कोही छैन भन्ने अहंभावले ग्रस्त हुन पुगेका छन्। ख्याल रहोस्– जब मान्छेले आफूभन्दा माथि कोही छैन, आफैं सर्वेसर्वा हुँ भन्ने ठान्न थाल्छ, त्यसपछि ऊ मनुष्य रहँदैन, राक्षस बन्छ।

यी नेताहरूको आफूभन्दा माथि कोही छैन भन्ने अहंभाव वास्तवमा अल्पज्ञानको नतिजा हो। उनीहरू नै उच्च ओहदामा भएकाले यसको नियन्त्रण कसरी गर्ने भन्ने प्रश्न उपस्थित भएको छ। अहंकारले सर्वनाश गर्छ। यसको समाधान कठिन छ। कठिन छ किनभने ज्ञानीहरूमा अहंभाव चढ्यो भने उनीहरूलाई आलोचना अर्थात् गुण दोष निरुपणले सोझ्याउँछ तर अल्पज्ञानी र मूर्खहरू जति राम्रो चितायो, गर्‍यो, त्यति कुपित हुन्छन्। क्रोधित हुन्छन्। गुण दोष निरुपणले सच्चिने होइन बरु उल्टै राम्रो चिताउनेमाथि नै दोष थुपार्न उद्यत् हुन्छन्। फलस्वरूप तिनीहरू अरु गैरजिम्मेवार बन्ने डर हुन्छ। यसबाट फेरि हानि हुने भनेको देशलाई नै हो। लोकतन्त्रलाई नै हो।

जको अवस्था कस्तो छ भने नेताहरूमा आफूले जतिसुकै अनुचित जेसुकै, मनलाग्दी गरे पनि त्यो अरुलाई स्वीकार्य हुनुपर्छ, हुन्छ भन्ने अतिविश्वास छ, उहिल्यैका राजा महाराजाहरू जस्तै। तिनीहरूको यही सोचका परिणामस्वरूप कांग्रेसको कम्युनिस्टसित चुनावी गठबन्धन बनेको हो। अवश्य नै यो गठबन्धन तिनीहरूका व्यक्तिगत स्वार्थ अनुकूल छ तर शतप्रतिशत विचारका प्रतिकूल र सिद्धान्तद्वेषी छ।

यो चुनावी गठबन्धन कांग्रेसलाई मत दिइआएका मतदाताहरूको अन्तरात्माविरुद्ध छ। लोकतन्त्रमा वास्तवमा, लोकअभिमतमाथि आस्था भएको दलले, कुनै पनि निर्णयमा पुग्नुअघि आफूलाई रुचाउने मतदाता के चाहन्छन् भन्ने कुरा बुझ्नु जरुरी हुन्छ। आफ्ना ताबेदार कार्यकर्तासित गरेजस्तो व्यवहार यदि मतदातासित गर्न थालियो भने हविगत २०७४ सालका चुनावभन्दा पनि खत्तम हुनसक्छ। नजिकै अर्को दृष्टान्त छ, भारत। त्यहाँको कांग्रेस। यस्तै भइरहे यहाँ त झन् भारतीय राष्ट्रिय कांग्रेसले बेहोरी रहेको दुरवस्था बरु कम दुर्दशा हो भन्ने खालको अवस्था उपस्थित हुनसक्छ।

कम्युनिस्टका ध्वजावाहक कांग्रेस

आज जताततै निष्ठावान कांग्रेसजन भन्छन्, नेता र सदस्यहरूबीच नीतिगत संवाद छैन, शून्य छ। यो संवादहीनताको कारण हो, फेरि भन्छु, नेताहरूमा झ्याँगिएको अहंकार। यसैका फलस्वरूप पार्टी पंक्तिमा थामिनसक्नु विचलन आएको छ  र यसै विचलनका कारण झण्डै देशैभर नेतापन्थी कांग्रेसका क्रियाशील सदस्यहरू कम्युनिस्ट पार्टीका ध्वजावाहक बनेका, बनाइएका छन्। कम्युनिस्ट झण्डा बोक्न नमान्ने निष्ठावान कांग्रेसजन बागी भनिएका र पार्टीबाट निष्कासित भएका छन्। जबकि, हुनु पर्थ्यो यसको ठीक उल्टो।

विचार प्रतिकूल र सिद्धान्त विपरीत गठबन्धन गरेर निर्वाचनमा जान निर्णय गर्नेहरूलाई पार्टीविरोधी गतिविधि गरेकोमा दण्डित र निष्कासित गर्नुपर्नेमा कांग्रेसका निष्ठावान सदस्यहरूचाहिँ दण्डित भएका छन्। आतंकित पारिएका छन्। नेताहरूको अहंकार कतिसम्म भने गठबन्धनको विरोध गरे, कारबाही गर्नेसम्मको धम्की दिइएको छ। पार्टीका कार्यकर्ताले अर्को पार्टीलाई भोट दिन्न भन्न नपाउने उर्दी पनि कतै लोकतन्त्रमा मान्य हुन्छ?  त्यस्तो उर्दी फेरि कसले दिएको भने आफूलाई लोकतन्त्रको मियो भन्ने पार्टीका नेताले।

कांग्रेसभित्रका लोकतन्त्रप्रेमी हार्दै  

कांग्रेसको इतिहास, सिद्धान्त र निष्ठा नै लज्जित हुने कृत्य भइरहँदा केन्द्रीय स्तरको कुनै नेता यसलाई रोक्न, भित्रैदेखि तत्पर नभएको मात्र होइन बडो क्रान्तिकारी देखिनेहरूले पनि आत्मसमर्पण गरेका छन्। यो चुनावी गठबन्धन कांग्रेसका लागि तात्कालिक र दूरगामी कुनै पनि अर्थमा हितकर छैन। औंलामा गन्न सकिने केही नेताहरूको स्वार्थअनुरूप भने निश्चय नै छ तर यहाँ गठबन्धनको निर्णयलाई यन्त्रवत स्वीकारिएपछि के बुझ्नुपर्ने भयो भने पार्टी शुद्धीकरणको ठूलै अभियान प्रारम्भ भएन भने कांग्रेस भष्मीभूत हुनसक्छ, हुन्छ। नाम त रहला कांग्रेस नै तर यो कम्युनिस्टहरूले ‘यी हेर लोकतान्त्रिक दल‘ भनेर देखाउने प्रदर्शनीको सामग्री बन्न जान्छ। किनभने गठबन्धन क्रियान्वयनमा आएसँगै कांग्रेसका लोकतन्त्रप्रेमी हारेका र त्यहाँका कम्युनिस्टपन्थीले जितेका छन्। कांग्रेस नामधारी ती कम्युनिस्ट पन्थीहरूले कांग्रेसलाई कम्युनिस्ट गठबन्धनको एउटा अंगमात्र होइन, हेर त छ नि लोकतन्त्र भन्दै यसलाई एउटा आलंकारिक दल बनाइदिने सम्भावना बढ्दो छ।

गठबन्धनको न्युनतम साझा कार्यक्रम 

कुनै पनि गठबन्धनको एउटा साझा न्यूनतम कार्यक्रम हुन्छ, हुने गर्छ। यस गठबन्धनको पनि छ। साझा कार्यक्रम बेगर गठबन्धन हुँदैन। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी, यी चारै कम्युनिस्ट हुन्। माओवादी केन्द्र र एकीकृतको नामै कम्युनिस्ट छ, राष्ट्रिय जनमोर्चा कम्युनिस्ट नै हो। जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई पनि यथार्थमा कम्युनिस्ट नै हुन्, त्यसैले जसपालाई कम्युनिस्ट गन्ध भएको दल भन्दा फरक पर्दैन।

यी चारै पार्टीको साझा न्यूनतम कार्यक्रम यसर्थ कम्युनिस्ट विश्वदृष्टिकै स्थापन, पुनर्स्थापन हो।

चार कम्युनिस्टमा पाँचौं कांग्रेस

चार कम्युनिस्टमा कांग्रेसलाई किन थपेको हो भने यिनै कम्युनिस्टले यसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएको छ। कांग्रेसजन नै भनिरहेका सुनिन्छन्, देउवा फगत प्रधानमन्त्रीमा निरन्तरता चाहन्छन्। उनको न्यूनतम र अधिकतम कार्यक्रम यही हो। सधैं सत्तासीन रहनु र उनका ज्योतिषीले भनेजस्तै सात पटक प्रधानमन्त्री बन्नु हो। व्यवहारले पनि देउवाले यो भन्दा पर नसोचेको प्रतीत हुन्छ र उनीमात्र होइन उनी आसपास पनि शायदै योभन्दा पर सोच्न प्रेरित गर्ने मान्छे होलान्।

उवा र उनी वरिपरीका मानिसलाई कम्युनिस्टहरूको अभीष्टको परवाह छैन। कम्युनिस्ट अभीष्ट अर्कै छ। यिनीहरूमाझ राज्यसत्ताको भरपूर प्रयोग गर्दै धन सञ्चय गर्ने र काल्पनिक समाजवाद स्थापना गर्ने अघोषित कार्यगत एकता छ। पहिला आफू हृष्टपुष्ट परिपुष्ट भएपछि समाजवादको काल्पनिक परिचित्र तयार गर्न सजिलो हुन्छ भन्ने यिनीहरूको बुझाइ रहेको र त्यसैअनुसार कार्यरत छन्। व्यक्तिगत इमानदारीका हिसाबमा कुनै मान्छे निश्चय नै अपवाद हुन सक्छ। विश्वदृष्टिका हिसाबले चाहिँ लोकतन्त्रको उपयोग गर्दै सत्ता, सत्ताद्वारा धन सञ्चय र त्यहाँ धन र सत्ताको बलबाट लोकतन्त्रको भष्मीकरण कम्युनिस्टहरूको अभीष्ट हो र दुर्भाग्यवश आज कांग्रेस त्यही अभीष्टको मतियार बनिरहेको छ।

यी हरफ पढिरहँदा पाठकहरूलाई कता कता व्यंग्य जस्तो लागि रहेको हुनसक्छ। व्यंग्य होइन, हो नै यस्तै। उनीहरूको संयुक्त कार्यक्रम कम्युनिस्ट विस्तारित र बलिया हुनु हो। लोकतन्त्र विरोधी र धर्मद्वेषी नकारात्मक समाज जहाँ शत्रुहरू सिर्जना भइरहुन् र शत्रुहरूविरुद्ध संघर्ष गर्ने नाममा विष वमन गर्न पाइरहियोस् भन्ने यिनीहरूको ध्येय हुन्छ। कार्ल माक्र्सले नै धर्मलाई अफिम भनिसकेका हँुदा यिनीहरू धर्मद्वेषी हुन् भन्न कुनै आइतबार पर्खिरहनु पर्दैन। धर्म भन्नाले कुनै एक उपासना पद्धतिको कुरा गरेको होइन, कत्र्तव्यको नैतिक बन्धनको पनि कुरा गरेको हुँ। ईश्वर र आत्मतत्त्वको कुरा गरेको हुँ।

भनिरहनु नपर्ला, कम्युनिस्ट वैयक्तिक स्वतन्त्रताका दुश्मन हुन्। यिनीहरूसित चुनाव चिह्न नै साटासाट गरिसकेपछि कांग्रेसले अझै लोकतन्त्र, वैयक्तिक स्वतन्त्रताको पैरवी गर्न सक्छ भन्छ यदि कसैले भने त्यो हाललाई निराधार कामना हुन्छ। कम्युनिस्टसँग यति धेरै लसपस भइसकेपछि कांग्रेस नाममात्र रहन्छ। त्यो कम्युनिस्ट नै बन्न जान्छ। कांग्रेस कम्युनिस्ट बनेपछि उसले पनि उनीहरूकै भाषा बोल्छ र बोल्ने अभ्यास गरिरहेको पनि छ। जस्तै अचेल रामचन्द्र पौडेल बोल्छन्। देउवा त बोल्ने नै भए, उनका प्रिय मन्त्री पनि बोलिरहेका छन्। कांग्रेसको तीव्र कम्युनिस्टीकरण भइसकेपछि कांग्रेस स्वत: फालिन्छ, फालिरहनै पर्दैन। फालिएपछि फेरि कसरी फर्काउने अथवा कांग्रेसै फर्किन्छ, फर्किदैन यसबारे अहिले यहाँ चर्चा नगरौं।

म यहाँ कांग्रेसको चिन्ता होइन वास्तवमा वर्तमान गठबन्धनको अभीष्ट नेपालमा उदारचेता लोकतन्त्रलाई प्रतिनिधित्व गर्ने अभियान निस्तेज बनाउनु हो भनेर चिन्तित भएको हुँ। नेपालको लोकतान्त्रिक जनाधार कांग्रेससँग आबद्ध रहिआएको छ। त्यसैले उदारचेता लोकतन्त्रलाई निस्तेज बनाउन कांग्रेससँग आबद्ध जनाधारमाथि प्रहार गर्नु पर्थ्यो, त्यही गरिँदैछ। कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाइदिने, अरु केही प्रभावशाली भनिएका नेताहरूलाई आफ्नो स्थान र क्षेत्र सुरक्षित बनाइदिने भनेर लोभ्याउने र क्रमश: जनाधारमाथि कब्जा जमाउने कम्युनिस्ट रणनीतिको पासोमा कांग्रेस फसिसकेको छ।

कम्युनिस्ट गठबन्धनमा कांग्रेस 

कांग्रेसलाई कम्युनिस्ट गठबन्धनको हिस्सा बनाउनु यिनीहरूको पहिलो पाइलो हो। कम्युनिस्ट, कम्युनिस्ट मिलेर एकछत्र शासन गर्नु हो। भर्खरै देउवामित्र प्रचण्डले उनको यो भित्री मनसाय दोहोर्‍याएका छन्। नदोहोर्‍याएका हुन्थे भने पनि उनको अभीष्ट त्यही नै हो। कांग्रेसको उपयोग गर्दै लोकतान्त्रिक मैदान कब्जा गर्दै त्यहाँ कम्युनिस्ट झण्डा गाड्दै जानु उनीहरूको रणनीति हो। जति फुट्दै छन्, कम्युनिस्ट बढ्दै छन्। नफुटेको नै भनौं फुटेर जुटेको कांग्रेसचाहिँ थरीथरीका कम्युनिस्टको भकुण्डोजस्तो भएको छ। यति नराम्ररी घेरिएको छ कि भनिसाध्य छैन। आफैं हेर्नुहोस्–हुँदा हुँदा अब हँसिया हथौडामा भोट हाल्ने अवस्थामा पुगेको, पुर्‍याइएको छ।

के कस्तो हुँदै जान्छ त्यो हेर्नुहोला– यता चार कम्युनिस्टको वृद्धि र उता एमाले विस्तार हुँदै जान्छ र यसबाट शक्ति त कम्युनिस्टकै बढ्छ। विस्तारित हुने विभिन्न नामधारी यिनीहरूकै संगठन हुन्। यी पाँचको सैद्धान्तिक अवधारणा एउटै हो र यिनी प्रकारान्तरमा एउटै हुन्। कम्युनिस्ट गठबन्धनमा सामेल भएर कांग्रेसले कम्युनिस्ट जनाधार विस्तारमै मदत गरिरहेको छ।

मैले माथि नै भनिसकें कांग्रेसका नेताहरू अहंकारले यति ग्रस्त छन् कि यहाँ भनिएका कुनै कुरा उनीहरूले गम्भीरतापूर्वक लेलान् भनेर नसोचे हुन्छ। देउवाले त सुन्ने कुरै भएन किनभने प्रधानमन्त्रीमा आफ्नो निरन्तरता र सत्ताको माध्यमबाट आफ्नो वर्चस्व कायमै राख्नुबाहेक उनको शायदै कुनै अर्को प्राथमिकता छ। यो विडम्बना हो कि करिब ९ लाख क्रियाशील सदस्य भएको कांग्रेसले उनैलाई सभापति बनाएको छ। उनी कांग्रेसले नै रोजेका सभापति हुन् र सभापतिमा प्रतिस्पर्धा गर्ने अरु नेताहरूमध्ये प्रकाशमान सिंहले देउवासमक्ष पूर्ण आत्मसमर्पण नै गरिसकेका छन्। शेखर कोइराला विरोधमा बोलि त रहेका छन् तर निर्णायक रूपमा फरक पार्ने गरी नभएर केवल औपचारिकताका लागि बोलिरहेका प्रतीत हुन्छन्।

अब अरु बोल्ने को ? उदारचेता लोकतान्त्रिक अभियानको नेतृत्व लिने कसले ? यी प्रश्नको उत्तर अहिले मसँग छैन। (ins.news) 

प्रतिक्रिया