के पुटिन ग्यास र तेलबाट युरोपलाई झुकाउन चाहन्छन्?

रुसले हालै मात्र पोल्याण्ड र बुल्गेरियाको ग्यास सप्लाई लाइन रोक्ने फैसला गरेको छ। रुसी मुद्रा रुबलमा कारोबार नगरेको भन्दै युरोपका यी दुई देशविरूद्ध उसले कार्वाहीको घोषणा गरेको हो। रुसले युरोपका अन्य देशलाई पनि रुबलमा ब्यापार गर्न भनेको छ र उसको सर्तको अवमूल्यन गर्ने देशसँग ग्यासको कारोबार नगर्ने स्पष्ट चेतावनी दिएको छ।

रुसको यो प्रस्तावलाई धेरै देशले स्वीकार गरिसकेका छन्। यसको अर्थ हो, विस्तारै युरोपका केही देश रुसी राष्ट्रपति ब्लादिमिर पुटिनको अगाडि नतमस्तक भएका छन्। पुटिनको पछिल्लो निर्णयले युरोपेली देशहरूलाई ग्यास र तेलको सर्तमा रुसले आफूतिर झुकाउने प्रयास गरिरहेको छ। 

युरोपेली युनियन (ईयु) ले रुबलमा कारोबार गर्न रुसले दिएको दबाबलाई ‘ब्ल्याकमेल’ को संज्ञा दिएको छ। ईयु वर्षको अन्त्यसम्म रुससँग तेलको आयात बन्द गर्ने योजनामा छ। तर, यो कदम सोचे जस्तो सहज छैन। 

शक्ति राष्ट्र अमेरिकाको दबाबमा रुसमाथि विश्वका केही बलिया राष्ट्रले आर्थिक प्रतिबन्ध लगाएका छन्। युक्रेन युद्धमा युरोपका धेरै देशहरू रुसको विरूद्धमा उभिएका छन्। तर, उनीहरू ग्यास र तेल भने रुसबाट धमाधम किनिरहेका छन्। रुसले पनि युक्रेन युद्धमा आफूविरूद्ध उभिएका देशहरूलाई ग्यास र तेल बिक्री गरिरहेको छ। तर, पुटिनले पछिल्लो समय आफूविरूद्ध उभिने देशहरूलाई ग्यास र तेल खरिद गर्न रुबलमा भुक्तानी गर्नुपर्ने बाध्यकारी परिस्थिति निर्माण गरेर झुकाउन खोजेका छन्। 
 
रुसको सरकारी उर्जा कम्पनी ग्याजप्रोमले भनेको छ, ‘रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि पोल्याण्ड र बुल्गेरियाको ग्यास सप्लाई लाइन बन्द गर्नुपरेको हो।’ 

रुसको यो कार्वाहीविरूद्ध ईयुकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले कडा विरोध जनाएकी छिन्। र, उनले चेतावनी दिएकी छिन्, ‘युरोपमा उर्जा उपलब्ध गराउने कम्पनीहरू रुसी सरकारको मागको विरोधमा छन्। यो ईयुको तर्फबाट लगाइएको प्रतिबन्धको बर्खिलाप पनि हो।’

तर, रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले रुबलमा भुक्तानीको मागलाई अगाडि सार्नु परेको कारण आफू नभई स्वयम पश्चिमा राष्ट्र भएको आरोप लगाए। उनले पश्चिमी देशमा भएको रुसको सम्पत्ति जफत गर्न थालेपछि यसको कार्वाही स्वरुप रुबलमा भुक्तानी मागेको बताए। 

युक्रेन युद्धपछि अमेरिकाले रुसको ग्यास, तेल र कोइला आयातमा प्रतिबन्ध लगाएको छ। यस्तै, ईयुले पनि रुसमाथि केही कुरामा आर्थिक प्रतिबन्ध लगाएको छ। ईयुले प्रतिबन्धलाई अगाडि बढाएपछि जवाफी कार्वाही स्वरुप रुसले पनि १ अप्रिलदेखि लागु हुने गरी सबै देशसँग रुबलमा भुक्तानी मागेको हो। 

ईयुले प्रतिबन्ध लगाए पनि युरोपका केही देशले ग्यास सप्लाइ बन्द हुने डरले रुसलाई रुबलमा भुक्तानी दिन सुरु गरिसकेका छन्। यी देशहरूमा जर्मनी, अस्ट्रिया, हंगेरी र स्लोभाकिया समावेश छन्। युरोपको १० कम्पनीले ग्याजप्रोम बैकमा अकाउन्ट पनि खोलिसकेका छन्। रुसको भुक्तानी सम्बन्धी मागलाई पुरा गर्न खाता खोल्नु अनिवार्य मानिन्छ। 

ब्रसेल्समा ‘ब्रगुल थिंक ट्यांक’ का एनर्जी विशेषज्ञ सिमोन ट्यागलिपिएट्रा भन्छन्, ‘पुटिन ईयु विभाजित भएको मौकाको फाइदा उठाइरहेका छन्। उनी ईयुलाई विभाजित गरेर आफ्नो कारोबार अगाडि बढाउने अभियानमा छन्। त्यसैले युरोपलाई एउटा साझा प्रतिक्रियाको आवश्यकता छ।’

रुस तेलको विश्व बजारमा तेस्रो ठूलो निर्यातक हो। रुसभन्दा अघि अमेरिका र साउदी अरब पर्छन्। रुसबाट मात्र हरेक दिन ५ मिलियन ब्यारल कच्चा तेल उत्पादन हुन्छ। जसको खपत आधाभन्दा बढी युरोपमा छ। सन् २०१९ को तथ्यांक अनुसार ईयुका देशहरूमा खपत भएका नेचुरल ग्यासको ४१ प्रतिशत भाग रुसले पुरा गर्छ। युरोपेली बजारमा रुसले ग्यासको सप्लाई मात्र बन्द गरेको खण्डमा इटाली र जर्मनीको अवस्था दयनीय बन्न सक्छ। यी दुबै देश सबैभन्दा बढी ग्यासको आयात रुसबाट गर्छन्। 

बेलायतले ५ प्रतिशत ग्यास मात्र रुसबाट आयात गर्छ। अमेरिकाले भने रुसबाट ग्यास आयात गरेको छैन। अहिले पोल्याण्डसँग ग्यासको भण्डारन क्षमता ७६ प्रतिशत छ तर बुल्गेरियासँग १७ प्रतिशत मात्र बाँकी छ। 

सिमोन ट्यागलिपिएट्रा भन्छन्, ‘यो केही दिनको मात्र समस्या होइन। समस्या अघिल्लो जाडोमा हुनेछ। त्यसैले भण्डारनको प्रक्रिया पुनः सुरु गर्नुपर्ने आवश्यकता छ।’

रुसको नेचुरल ग्यासको अभावमा युरोपको अर्थतन्त्र धरासायी हुनसक्ने तर्फ केही विज्ञहरूले चेतावनी दिएका छन्। 

मुडिजका विश्लेषकले हालै भएको अनुसन्धानको आधारमा भनेका छन्, ‘रुसबाट ग्यास र तेलको सप्लाई रोक्नु भनेको युरोपमा आर्थिक मन्दीको सुरुवात हुनु हो।’ युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी हो र यो देश रुसी एनर्जीमाथि सबैभन्दा बढी निर्भर छ। जर्मनीको केन्द्रिय बैकका अनुसार पूर्ण रूपमा आयात रोक्नु भनेको चरम महंगीतर्फ उन्मुख हुनु हो। 

‘ब्रुगल थिंक ट्यांक’ को अनुमानलाई मान्ने हो भने, भविष्यमा युरोपमा सामान्य मागभन्दा १० देखि १५ प्रतिशतले आयात घट्ने छ। जसको अर्थ हो, ग्यास उपयोगलाई कम गर्न युरोपले असाधारण उपायको खोजी गर्नुपर्ने छ। 

रुस हरेक दिन ५० लाख ब्यारल कच्चा तेल निर्यात गर्छ। प्रतिबन्ध घोषणा हुनुअघि यसको आधा भाग युरोपमा खपत हुन्थ्यो। इन्टरनेशनल एनर्जी एजेन्सी (आइईए) का अनुसार, अप्रिल महिनामा रुसको तेल उत्पादन घटेर ७ लाख ब्यारेल प्रतिदिन मात्र भएको थियो। आइईएले अप्रिलको अन्त्यसम्म १५ लाख ब्यारेल प्रतिदिन हुने र मे महिनासम्म करिब ३० लाख ब्यारेलमा पुग्ने बताएको छ। 

अहिले रुसको कच्चा तेलको निर्यात घट्नुको कारण गत मार्चदेखि युरोपेली देशहरू रुसको विकल्पको खोजी गरिरहेको बताइन्छ। रुसलाई पनि आफ्नो तेलको निर्यात बढाउन एसिया र अन्य बजार खोज्नुपर्ने आवश्यकता छ। बजार उपलब्ध नभएको खण्डमा रुसको अर्थतन्त्रमा नराम्रो असर पर्नेछ। 

बुग्लेरियाले रुसको विकल्पको रुपमा अजरबैजानबाट ग्यास सप्लाई बढाउने कुरामा विचार गरिरहेको बताएको छ। उसले टर्की र ग्रीससँग पनि मद्दत मागेको छ। पोल्याण्ड भने नर्वेको ग्यास रिजर्भसँग जोडिनलाई नयाँ पाइपलाइन बनाउने अभियानमा छ, जुन अक्टुबर २०२२ मा सम्पन्न भइसक्ने बताइएको छ। 

पोल्याण्डका उप विदेशमन्त्रीले आफूसँग अमेरिका र खाडी देशहरू विकल्पको रूपमा रहेको बताएका छन्। यस्तै, युरोपेली देशहरू कतार, अल्जेरिया र नाइजेरियातर्फ विकल्पको खोजीमा छन्। तर, उनीहरूलाई छोटो समयमा विकल्प खोज्न गाह्रो परिरहेको छ।
 
विशेषज्ञहरू रुसबाट ठूला पाइपलाइन युरोप प्रवेश गरिसकेको अवस्थामा दोस्रो विकल्प खोज्नु गाह्रो कुरा भएको बताउँछन्। 

अमेरिकाले यही वर्षको अन्त्यमा युरोपलाई अतिरिक्त १५ अर्ब क्युबिक मिटर लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) उपलब्ध गराउने कुरामा सहमति जनाइसकेको छ। अमेरिकी सहयोगका बाबजुद २०३० सम्म अझै हरेक वर्ष ५० अर्ब क्युबिक मिटर अतिरिक्त ग्यास सप्लाईको आवश्यकता युरोपलाई पर्नेछ।  

युरोपेली देशहरू ग्यासको विकल्पको खोजी गरिरहेका छन्। तर, यसका लागि समय लाग्ने उनीहरूको भनाई छ। 

युद्धको विरोध गरे पनि युरोपेली देशहरूलाई तेल र ग्यासका कारण रुससँग सम्बन्ध बनाइरहनुपर्ने बाध्यता छ। ईयुले हरेक दिन तेलमा मात्र ४५ करोड डलर तथा ग्यासमा ४० करोड डलर रुसलाई बुझाउन विवश छ। एनर्जीकै कारण रुसको अर्थतन्त्र बलियो छ। उसको विदेशी मुद्रा भण्डार पनि तीब्रगतिमा बढिरहेको छ। तर, देशबाहिर भएको आफ्नो सम्पत्ति जफत भएका कारण उसले विदेशी मुद्राको सट्टा आफ्नो पैसालाई बलियो बनाउने अभियान अगाडि सारेको हो। 


 

प्रतिक्रिया