छुट्नु अघि

रेस्टुराँको एउटा कुनामा रहेको टेबल औँलामा च्यापिएको छ आधा सल्किएको चुरोट तिमी छौ र म छु, आमने सामने ।

पहिलो चुस्की लिइएको वाइनका ग्लास

भर्खरै टेबलमा बिसाइएकाछन्

एउटाको घेरामा गुलाफी लिपिस्टिकको दाग लागेको छ अर्कोमा एक थोपा वाइन चुहिएर

फिक्का रातो धर्को बनेको छ ग्लासको बाहिरी खण्डमा ।

म केही भन्दैछु, तर ध्वनि छैन तिमी केही सुन्दैछौ तर ध्यान छैन ।

दोस्रो घुट्को वाइन पिउन

हतारिएर हात बढाउँदा

कुन्नि के नमिलेर उछिट्टिन्छ ग्लास,

हावामा लहराउँछ एकछिन र भुईँमा बजारिन्छ ।

छल्र्याम्म,

के फुट्यो ग्लास कि हृदय ?

दुवै नाजुक हुन्छन् ।

मानिसहरु मुन्टो बटारेर हामीलाई हेर्छन्

र तुरून्तै व्यस्त हुन्छन् आफैँसँग, वेटर भुईँ सफा गर्दैछ ।

भर्खरै माँया टुटेको छ

हाम्रो हृदयमा पनि तर, त्यहाँ कुनै वेटर छैन ।

विप्लव प्रतिक

#Viplob_Pratik #Nepali_Poem #Nepali

प्रतिक्रिया