सगरमाथाविश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका स्थानीय बासिन्दाहरुको दैनिकी अचेल अत्यन्त व्यस्त छ । कोभिड–१९ महामारीपछि विदेशी पर्यटकको चहलपहल बढ्न थालेकाले यो सिजनमा व्यवसायमा बढी समय दिनु त छँदैछ । अर्काेतर्फ, वैशाख ३० गते हुन गइरहेको स्थानीय चुनावको माहोल बढ्दै जाँदा भेटघाट तथा घरदैलो कार्यक्रममा पनि हिँड्नुपर्ने बाध्यता छ उनीहरुका लागि ।
‘स्थानीय चुनाव भएकाले गाउँकै नातागोता अनि चिनजानका मान्छे उठेका हुन्छन्, उम्मेदवारहरुका लागि केही समय त दिनैपर्यो,’ खुम्बु पासाङल्हामु–५ नाम्चेका होटल व्यवसायी मिङ्मा शेर्पाले भने, ‘कोभिड–१९ को महामारीपछि यस सिजनमा पर्यटकहरु पनि बढेकाले व्यवसायमा पनि ध्यान दिनैपरेको छ ।’ यस हिमाली गाउँपालिकामा स्थानीय चुनावको रौनक थपिँदै जाँदा यसपालि उम्मेदवारहरुबीच रोमाञ्चक प्रतिस्पर्धा हुने उनको आँकलन छ ।
२०७४ सालको स्थानीय चुनावमा अध्यक्ष, उपाध्यक्षसहित पाँचै वडामा ‘क्लिनस्विप’गर्न सफल नेकपा एमालेले यसपालि अध्यक्षमा मिङ्मा छिरी शेर्पा र उपाध्यक्षमा टासी ल्हामु शेर्पालाई उठाएको छ भने नेपाली कांग्रेसले अध्यक्षमा चुङ्बा शेर्पा र उपाध्यक्षमा निर्मला थापा मगरलाई अगाडि सारेको छ । चुङ्बा खुम्बु क्षेत्रका फोटो पत्रकारसमेत हुन् । माओवादी केन्द्रबाट सेर्की शेर्पाले अध्यक्ष र एन्जेला राईले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । यहाँ गठबन्धनको साझा उम्मेदवार नभएकाले कांग्रेस, एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । यसपटक कांग्रेस र एमालेका उम्मेदवारहरुबीच नै कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
समुद्र सतहदेखि २ हजार ८ सय ६० मिटर उचाइमा रहेको लुक्लादेखि ३ हजार ९ सय ८५ मिटर उचाइमा रहेको प्याङबोचेसम्म यही गाउँपालिकामा रहेका बस्ती हुन् । सगरमाथा आधार शिविरसम्मको ट्रेकिङ तथा सगरमाथा आरोहणका लागि लुक्ला, नाम्चे हुँदै जानुपर्छ ।
कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुले खुम्बु पासाङल्हामु गाउँपालिकाका सबै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छन् । यस गाउँपालिकामा पाँच वटा मात्र वडाहरु रहेका छन् । वडा नं. १ मा खरिखोला, वडा नं २ मा लुक्ला, वडा नं. ३ मा चौरीखर्क, वडा नं. ४ मा खुम्जुङ र वडा नं. ५ मा नाम्चे, थामे र थमो पर्छन् ।
नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार चुङ्बा शेर्पा आफूले सबै वडाका गाउँहरुमा घरदैलो कार्यक्रम गरिसकेको र यसपालि नेपाली कांग्रेसको पक्षमा जनलहर आएको दाबी गर्छन् । यसअघिको चुनावमा पनि कांग्रेसबाट अध्यक्षको उम्मेदवार भएका उनी २२ मतले मात्र एमाले उम्मेदवारसँग पराजित भएका थिए । ‘अघिल्लो चुनावमा मेरो धेरै मतहरु बदर भए, यसपालि त्यस्तो नहुने भएकाले मेरो जित सुनिश्चित जस्तै छ,’ उनले दृश्य टिभीलाई भने, ‘यसपटक मतदाताको घरदैलो पुगेर मतदाता शिक्षाका लागि काम गरेका छौं । विगतमा एमालेबाट निर्वाचित जनप्रतिनिधिको पक्षपाती र अपारदर्शी कार्यशैलीबाट निराश भएका यहाँका जनताका लागि विकास निर्माणका थुप्रै कार्यक्रम ल्याएका छौं ।’ विजयको झन्डा फहराउन विगतका चुनावभन्दा यसपटक कांग्रेसले निक्कै कसरत गरिरहेको उनी बताउँछन् । शिक्षा, स्वास्थ्य, बाटो, सञ्चार आदि क्षेत्रमा आफूले जनताका लागि नवीनतम एजेन्डा ल्याएको उनको दाबी छ ।
एमालेबाट अध्यक्षका उम्मेदवार मिङ्मा छिरी शेर्पाले यसअघि खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ३ को वडाध्यक्ष भएर काम गरिसकेका छन् । अघिल्लो चुनावमा निर्वाचित गाउँपालिका अध्यक्ष निङ दोर्जी शेर्पाको तीन वर्षअघि निधन भएपछि र उपमेयरको अस्वस्थताका कारण मिङ्माले कार्यवाहक अध्यक्ष भएर काम गरिसकेका छन् ।
यसपालि आफूले खुन्दे, खुम्जुङ, प्याङबोचेबाट चुनावी घरदैलो अभियान सुरु गरेर गाउँपालिकाका सबै वडाहरुमा पुगिसकेको उनी बताउँछन् । आफूले वडाध्यक्षको पाँचवर्षे कार्यकाल सफलतासाथ पूरा गरेको र पछिल्लो समय गाउँपालिकाको कार्यवाहक अध्यक्ष भएर जनताको सेवा गरेकाले यस पटक फेरि जनताले आफूलाई जिताउनेमा उनी विश्वस्त छन् ।
यस पटक आफ्नो प्रतिस्पर्धा नेपाली कांग्रेसको उम्मेदवारसँग हुने उनी बताउँछन् । यसपालि एमालेले गाउँपालिकामा भौतिक पूर्वाधार निर्माणका साथै विभिन्न जनमुखी कार्यक्रम चुनावी घोषणापत्रमा समावेश गरेको उनको धारणा छ ।
‘खुम्बुको कुनै पनि नागरिक सिकिस्त बिरामी भएर काठमाडौं लैजानुपर्यो भने १० लाखसम्म खर्च, शैक्षिक क्षेत्रमा छात्रवृत्तिको व्यवस्था, ज्येष्ठ नागरिक, विपन्न तथा अपांगता भएका व्यक्तिहरुका लागि विशेष सामाजिक सुरक्षालगायत विशेष कार्यक्रम ल्याएका छौं,’ एमालेबाट अध्यक्षका उम्मेदवार मिङ्मा छिरी शेर्पा भन्छन्, ‘यसअघि जग बसाइसकेका विकासका कामलाई निरन्तरता दिनेछौं ।’ अघिल्लो कार्यकालको मूल्यांकन गरेर जनताले यसपटक पनि गाउँपालिकामा एमाले नेतृत्वलाई दोहोर्याउने उनको विश्वास छ ।
यसपटकको निर्वाचनमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने र जसले जिते पनि थोरै मतको फरक रहने खुम्जुङका स्थानीय पेम्बा शेर्पा बताउँछन् । ‘हिमाली गाउँपालिकामा यसपालि रमाइलो भिडन्त हुने देखिन्छ, त्यही भएर चुनाव आउन केही दिन मात्र बाँकी रहँदा कांग्रेस र एमालेका उम्मेदवारले विगतभन्दा अहिले घरदैलो अभियान र भेटघाटलाई तीव्र पारेका छन्,’ उनी भन्छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिकामा ५ हजार ९ सय ५५ मतदाता रहेका छन् । कांग्रेस र एमालेले अध्यक्ष र उपाध्यक्षसहित पाँचवटै वडाका सबै पदहरुमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडा नं. २ को अध्यक्ष पदका लागि मात्र उम्मेदवारी दिएको छ ।
प्रतिक्रिया