शरीर, मन, भावना र चेतना जब भित्र एक बन्छ तब मौन योग बन्दछ। ध्वनीको आयामबाट भौतिक शरीर र सुक्ष्म शरीर एक हुने अवस्था हो। यो अवस्थामा स्थिरता कायम गर्न सके पूर्ण मौन घटित हुन्छ। मौनता मनुष्यको स्वभाव हो भने हल्लाखल्ला गर्नु प्रभाव हो। स्वभावले कसैलाई दुःख दिँदैन तर प्रभावले दुःख दिएको छ। बाह्य प्रभावले विचलित गराउँछ तर आन्तरिक स्वभावले अशान्त गराउँदैन।
आन्तरिक मौनमा स्थिर भएपछि आफू भित्रको ध्वनी सुनिन्छ। यसलाई आत्माको आवाज पनि भनिन्छ। धेरै सन्त, महात्मा र सदगुरुले भन्नुभएको छ– आत्माको आवाज सुन। यो जीवन ध्वनी सुन्दै जाँदा गहन शान्तिको अनुभव हुन्छ। यस्तो शान्त मनले मात्र सुख, शान्ति र समृद्धिको अनुभव हासिल गर्न सक्छ। बाहिरबाट आउने प्रभावलाई निस्तेज पार्न सक्दछ।
बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखान नेपालमा खुब प्रचलित छ। यो उखान सांसारिक भौतिक दुनियाँमा सफल हुन वाणीमा चतुर्याइँ हुनुपर्छ, आफ्ना पक्षमा कुनै कुरा लागू गर्न बोलेरै जित्नु पर्छ भन्ने कुरामा जोड दिन्छ। अध्यात्म विज्ञानको कुरा बेग्लै छ। संसारमा धेरै समस्याहरु बेहोशीमा बोलेको कारणले सिर्जना भएका हुन्, तसर्थ होशमा रहेर आवश्यक कुरा मात्र बोल्नु पर्छ। कतिपय समस्याको समाधान नबोलेरै हुन्छ भन्ने मान्यता राख्दछ। जसरी भोजन संयमको लागि समय समयमा ब्रत बसिन्छ, त्यसैगरी वाणी संयमको लागि समय समयमा मौन ब्रत बस्नुपर्छ भनेर आध्यात्मिक साधकहरु मौन अभ्यासमा बस्ने गर्दछन्।
अध्यात्ममा रुचि राख्ने साधकले मौन ब्रत बस्नु अनिवार्य छ। मन, बचन र कर्मले मौनताको अभ्यासद्वारा आध्यात्मिक यात्रालाई अझ बढी गहिरो बनाउन सकिन्छ। मौन साधना गर्न कुनै विशेष मौन सम्बन्धी कोर्ष लिएर प्रयोगात्मक अभ्यास गर्न सकिन्छ। दैनिक जीवनमा समेत यसको अभ्यास गर्न सकिन्छ। ब्यक्ति, बस्तु र विषयबाट मन हटाएर अलि विराट कुरामा जस्तैः प्रकृतिमा ध्यान लगाउने, परब्रह्म परमात्माको ध्यान गर्ने, बाह्य प्रभावमा हैन आफ्नो स्वभावमा रहने र तुरुन्त प्रतिकृया ब्यक्त गरी नहाल्ने बानी बसाल्नु पर्दछ। मौन रहनुका अनगिन्ती लाभहरु छन्।
यी कुरा हामीलाई थाहा छ तर के गर्नु हामी आफ्नै बोलीको दास बनेका छौं। ब्यक्ति, बस्तु र विषयमा मन, भाव र चित्त गढेको छ। बर्षौं देखि ब्यक्ति, बस्तु र विषयमा गाढीएको मनलाई खाली शून्य गराएर अमौनी अवस्थामा पुर्याउनुछ। यसको लागि पहिले छोटो समय लिएर अभ्यास बढाउँदै जानु पर्छ, अभ्यास बढ्दै गएपछि स्वतः मौन घटित हुन्छ।
मानिस कहीँ न कहीँ सांसारिक जगतका विषयमा जोडिएको हुन्छ। आफ्ना पाँच ईन्द्रिय मार्फत पाँच प्रकारको भोगको अनुभव गर्दछ। बारबार त्यही अनुभवको मोहमा फस्दछ। आफ्नो लत र बानीको माध्यमबाट केही न केही समातेर बस्दछ। राग वा द्वेष भएको विषयमा जोडिरहन चाहन्छ। मानिसको दुःखको कारण कुनै ब्यक्ति, बस्तु वा विषयलाई समातेर बस्नु हो।
मोहबाट मुक्त नभएसम्म जीवनमा तृप्ति, सन्तुष्टि, शान्ति र आनन्द घटित हुँदैन। आफूसँग सम्बन्ध बनाउन मौन जरुरी छ भने जगतसँग सम्बन्ध बनाउन अभिब्यक्ति जरुरी छ। मोहबाट मुक्ति दिने बिधि मौन साधना हो। बाहिरका विषयमा जोडिएको चित्त आफैं भित्रको चेतनासँग जोडिएमा मौन योग बन्दछ।
होशपूर्वक एकनासले क्रिया गरिरहँदा शान्तिको अनुभव हुन्छ। मनलाई कुनै एक विषयमा लगाईरहनु पनि शान्तिको अभ्यास हो। मौनको अभ्यासमा मन हुन्छ तर मन एकनाशले आफू भित्रको शान्तिमा वा आफू भित्रको मौनको ध्वनीमा लयबद्ध बन्दछ। आफू भित्रको आन्तरिक ध्वनी समातेर साधना गरे अमौनी अवस्थामा पुगिन्छ।
अमौनी अवस्थामा आफूभित्रको शान्तिको आवाज गुञ्जिन थाल्दछ। भित्रबाट आएको मौनको आवाजले बाहिरको आवाजको प्रभाव कम हुन थाल्छ। आन्तरिक मौनबाट आएको आवाजमा स्थिर हुन सकेमा परम मौन घटित हुन्छ। परम मौन नै परम योग हो।
मौन योगको पहिलो चरणमा मनको जगतसँगको योगलाई तोड्न जगतसँग गर्ने अभिब्यक्तिलाई रोक्ने कार्य गर्नुपर्दछ। ब्यक्तिका ईच्छाले विचारहरु उत्पन्न हुन्छ। विचारहरु ब्यक्ति आफैंले जन्माएको हो। आउँदै जाँदै गरेका विचारहरु प्रति सजग हुनु मौन योग पहिलो शर्त हो।
मौन योगको दोस्रो चरणमा मनसँगको योगलाई तोड्न सजगता अपनाउनु पर्दछ। ब्यक्ति, बस्तु र विषयहरु मनमा टाँसिएर बस्तछन्। यसबाट छुट्कारा पाउन आफ्नो संकल्प शक्तिको प्रयोग गरी विधिको पुरापुर प्रयोग गर्नु पर्दछ। चेतनासँगको योग पूर्ण मौन हो। साक्षीको साधना गर्दै जाँदा परम मौन घटित भए आत्मयोग बन्दछ। मनको अशान्ति हट्ने बित्तिकै आत्मशान्ति प्राप्त हुन्छ।
शान्ति चाहिन्छ भने प्रकृतिमा भएको शान्त कुरामा ध्यान लगाउनु पर्दछ। जस्तैः खुला आकाश, पहाड, पर्वत, नदी वा शान्त तलाउ आदि। प्रकृति पूर्ण रुपमा मौन छैन। प्रकृतिमा रहेका सबै जीवजन्तु, बनस्पती र प्राणीको आ–आफ्नै आवाज छ।
विचार पनि त्यतिवेलासम्म उत्पत्ति हुन्छ जतिवेलासम्म हामीले त्यसलाई समय दिएर मलजल गर्छौं। विचारको पछि नलागेपछि, ब्यक्त नगरे पछि विचारले उर्जा पाउन छोड्छ। विचार आउन छोड्छ। निर्विचार अवस्थामा आत्मयोग बन्दछ। जसलाई एकपटक आत्मध्वनिसँग साक्षात्कार हुन्छ।
अब उसले बाहिरी जगतमा सम्बन्ध त बनाउँछ तर त्यसको मोहमा फस्दैन। त्यस्तो ब्यक्ति मात्र परम खुशी, शान्त र आनन्दित हुन्छ। (गुरुवाणीमा आधारित)
(आचार्य, जीवन विज्ञान प्रतिष्ठानकी योग ध्यान प्रशिक्षक हुन्)
प्रतिक्रिया