घरमै बसिबसि यसरी करोड कमाउछिन् आशा

यो हो एउटी नारीको सफलताको कथा । भारत केरलकी आशा बिनीश यो कथाकी नायिका हुन् । आशा अनलाइन कम्पटीशन परीक्षा तयारीका लागि कोचिङ क्लास चलाउछिन् । पाँच वर्ष पहिले एक दुइजना विद्यार्थीबाट सुरु भएको यो कोचिङ क्लासमा अहिले करिब छ हजार विद्यार्थी सहभागी हुन थालेका छन् । विद्यार्थी संख्या ह्वात्तै बढेपछि आशाको च्यानलका सब्सक्राईबर नै अढाई लाख पुगिसकेका छन् । यसरी उनको वार्षिक आम्दानी पनि उल्लेख्य बढेको छ ।

उमेरले ३४ टेकेकी आशा सफ्टवेयर इन्जिनियर हुन् । सन् २००६ मा इन्जिनियरिङको पढाई सकेपछि उनले एउटा कम्पनीमा केही वर्ष कर्मचारीका रुपमा काम गरिन् । सन्तानको जन्मपछि उनले त्यो जागिर छोडिन् र घरमै बसिन् । तर उनी खाली हात भने बसिनन् । केही न केही सिर्जनात्मक काम गर्नु आशाको बानी  थियो । यही क्रममा उनले केही भिडियो लेक्चर बनाएर युट्यूबमा अपलोड गरिन् ।

 

आशाको सुरुका भिडियोले खासै दर्शक तान्न सकेनन् । तर उनको भाग्यको कुरा तेस्रो भिडियो भने धेरै दर्शकले हेरे र रुचाए पनि । यस सफलताबाट प्रोत्साहित भएकी आशाले अरु पनि भिडियो बनाउँदै अपलोड गरिन् । अनि दर्शकले म्यासेज र फोनबाट पनि कोचिङ सुरु गर्न सल्लाह दिन थाले । अनि सुरु भयो आशाको उज्यालो भविष्य तर्फको यात्रा । उनी इनोभेटिव शैलीमा पढाउन सिपालु छिन् । उनले पढाएका सयौं विद्यार्थी अलग अलग परीक्षामा सफल हुन थाले ।
 
आशाको अनुभवमा प्रतिष्पर्धात्मक परीक्षाका लागि एकदम थोरैमात्र अनलाईन प्लेटफर्म उपलव्ध छन् जहाँ थोरै खर्चमा स्तरीय पढाई हुन सकोस् । यही अवस्था थाहा पाएकी आशाले युवाहरुका लागि अनलाईन गाईड बन्ने अठोट गरेकी हुन् । 

आशाले सन् २०१६ मा ‘कम्पिटेटिभ क्रेकर’ नामको अनलाईन क्लास सुरु गरिन् । उनले ल्यापटप र ईन्टरनेट कनेक्सनको लागि ३५ हजार खर्च गरिन् । अनलाईन प्लेटफर्म लोकप्रिय भएपछि आशाले गाउँमै भाडाको कोठामा कोचिङ क्लास सुरु गरिन् । जजसले युट्यूवमा आशाको लेक्चर सुनेका थिए उनीहरु अब कक्षामै उपस्थित भएर सिक्नेगरी भर्ना हुनथाले । यस वर्ष कोरोना भाइरसको असरले सबैतिर अनलाईन क्लास सञ्चालन भए । यही मौकामा उनका सब्सक्राईबर पनि उल्लेख्य संख्यामा बढे ।
  
आशाले सुरुका दिनमा एक्लै यो जिम्मेवारी पूरा गरिन् । अध्यापन गर्ने देखि युट्यूव बनाउने, सम्पादन गर्ने र अपलोड समेत गरेर त्यसको मार्केटिङ गर्न पनि उनी पछि परिनन् । यो पेशाले प्रगतिको बाटो समातेपछि उनका पतिले जागीर छोडेर यसैमा संलग्न भए । अहिले आशासँग २५ जना कर्मचारी पनि काम गर्छन् । यसमा शिक्षक, लेखापाल र बजार व्यवस्थापक पनि छन् ।

आशाले लकडाउनको समयमा केही महत्वपूर्ण कक्षा पनि चलाईन् । उनी आफ्नो आम्दानीको सत्तरी प्रतिशत भाग यही अनलाईन शिक्षण पेशाबाटै आएको बताउँछिन् ।

 आशा भिडियो लेक्चर, अनलाईन कन्टेन्ट र टेस्ट सिरिज जस्ता सेवा पनि दिन सक्ने भएकी छिन् । उनले मोबाईल एप पनि बनाईसकेकी छिन् । यी सबै कामको मेहनतबाट आशा वर्षको एक करोड कमाउन सक्ने भएकी छिन् ।

 

आशा युपिएससी, केपीएससी, एसएससी र बैंकको जागिरमा जान चाहने उम्मेदवाका लागि तयारी कक्षा पनि सञ्चालन गर्छिन् । यस्तो सेवामा एक हजारसम्म कोर्स शुल्क लिने गरिएको छ । कतिपय नोट र प्रशिक्षणको शुल्क नलिई पनि सेवा दिने गरेकी छिन् आशाले । आशा र उनको टिमको एउटा ब्लग पनि  छ । जहाँ कम्पिटेटिभ परीक्षाको मिति, सिलेवस र छनौट प्रक्रियाका बारेमा जानकारी राख्ने गरिएको छ ।

जीवनलाई यसरी नयाँ मोड दिन सफल भएकी आशा घरको नियमित काम गर्दै क्लास पनि लिन छुटाउँदिनन् ।   कतिपय अवस्थामा त उनी खाना पकाउँदै पनि लेक्चर दिईरहेकी हुन्छिन् । उनको अनुभवमा केटाकेटीहरु नयाँ कुरा छिटो सिक्छन् र हत्तपती बिर्सँदैनन् । यसैले उनी सदैव खाना पकाउँदै पनि व्यवहारिक कुरा समेत आफ्ना विद्यार्थीलाई सिकाउन छुटाउदिनन् ।

दैनिक भाष्करमा इन्द्रभूषण मिश्रको रिपोर्ट यस्तो छ– यसरी गृहस्थ जीवन पनि सिर्जनात्मक तरिकाले बिताउन सकिन्छ भनेर अठोट गरेकी आशाले आफ्नो सीप र दक्षताको भरपुर उपयोग गर्दै आर्थिक अवस्था समेत बलियो बनाउने सफलता हासिल गरेकी छिन् । (तस्बिर– दैनिक भाष्कर) 

प्रतिक्रिया