स्थानीय निर्वाचनः फाईनल परीक्षामा उम्मेदवार    

काठमाडौं। स्थानीय निर्वाचनमा मतदान गर्न अब प्रतिक्षाको समय धेरै बाँकी छैन। आजको एकरात उज्यालोमा खस्दैगर्दा देशभरीका मतदातालाई मतदान केन्द्र पुग्ने हतारोले घच्घच्याईसकेको हुने छ।

केन्द्रीय राजधानीदेखि विभिन्न ठाउँमा रहेका मतदाता आज साँझसम्ममा आफ्नो गृहनगर पुगिसकेका हुनेछन्। मतदाता रहेका नागरिक गन्तव्यतिर गएपछि काठमाडौं उपत्यका चाडपर्वमा झैं सुनसान भैसकेको छ। दुइदिनका लागि मानिसले उपभोग्य सामग्रीको जोहो गरिसकेका छन् भने समग्र देश एउटा विशेष दिनको प्रतिक्षामा व्यग्र देखिन्छ। 

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएपछि दोस्रो कार्यकालको लागि स्थानीय निर्वाचन भैरहेको छ। पहिलो कार्यकालको सालाखाला अनुभव सँगालेका मतदाताले यसपटक तुलनात्मक रुपमा कम कमसल नेतृत्व चुन्ने अपेक्षा पनि गरिएको छ। पहिलो कार्यकालमा अधिकांश नयाँ पुस्ताका राजनीतिकर्मीले स्थानीय तहको सरकार चलाएका थिए भने यसपटक ती भन्दा पनि अझ सक्षम प्रतिनिधि चुनिनसक्ने सम्भवना देखिन्छ। 

पछिल्लो स्थानीय र संघीय निर्वाचनमा पहिलो पल्ट मतदान गरेका मतदाताले आफ्ना प्रतिनिधिको कार्यकुशलताको परख गरिसकेका छन्। यसपल्ट थप नयाँ मतदाताले पनि पहिलो पल्ट मतदान गर्दैछन्। एक कार्यकालको अनुभव सँगालेका मतदाता र नयाँ मतदाताको मत पक्कै पनि सबल नेतृत्व चुन्न प्रयोग हुने निश्चित छ। यसले गर्दा स्थानीय निकायले सबल नेता पाउने अपेक्षा गर्न सकिन्छ। राजनीतिक दलहरुले विगतमा आँकल गरेजस्तो स्थानीय निकायमा आफ्नै पकड रहन्छ भन्ने विश्वास नतिजामा परिणत हुन्छ हुँदैन भन्ने कुरा यसपटकको मत परिणामले प्रष्ट पार्ने नै छ। 

मतदान समय

निर्वाचन आयोगको कार्यतालिका अनुसार, भोलि शुक्रबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। यसपटक १० हजार ७ सय ५६ मतदानस्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तय गरिएको छ।

कसरी चुन्ने

मतदाताले एक–एक प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष र चार सदस्य गरी ७ जना जनप्रतिनिधि चुन्नुपर्नेछ। रोजेको प्रतिनिधि चुन्न मतदाताले मतपत्रमा सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ। सदस्यतर्फ एक–एक महिला, दलित महिला र दुई खुला सदस्यलाई छाप लगाउनुपर्नेछ।

मतपत्रको सबैभन्दा माथि राष्ट्रिय पार्टीको चुनाव चिह्न राखिएको छ। त्यसमुनि सम्बन्धित जिल्लामा सक्रिय पार्टीका चिह्न छन्। राजनीतिक दलको चिह्नपछि स्वतन्त्र उम्मेदवारको चिह्न राखिएको छ। ३६ जिल्लाको मतपत्रमा एक खण्ड मात्र छ भने बाँकी जिल्लाको मतपत्रमा दुई खण्ड छ। पहिलो ठाडो लहरमध्ये एउटामा अध्यक्ष÷प्रमुखका लागि चिह्न राखिएको छ। अध्यक्ष÷प्रमुखको चिह्न भएको माथि मतपत्र १ लेखिएको हुन्छ। मतपत्र १ को ठाडो लहरका चिह्नमध्ये एउटामा मात्रै छाप लगाउनुपर्ने हुन्छ।

त्यसैगरी दोस्रो ठाडो लहरको मतपत्र २ मा उपाध्यक्ष÷उपप्रमुखका उम्मेदवारको चिह्न हुनेछ। त्यसअन्तर्गत पनि एउटा चिह्नमा मात्रै छाप लगाउनुपर्ने हुन्छ। मतपत्र ३ मा वडाध्यक्षको चिह्न छ। यो लहरमा पनि एउटा चिह्नमा मात्रै छाप लगाउनुपर्छ। मतपत्र ४ मा महिला वडा सदस्य र मतपत्र ५ मा दलित महिला सदस्यको चिह्न हुन्छ। मतपत्र ४ र ५ मा पनि एक–एक चिह्नमा मात्रै छाप लगाउनुपर्छ। मतपत्र ६ मा दुई जना खुला वडा सदस्य छान्नका स्थान राखिएको हो। यसमा पहिलो सदस्यका लागि एउटा चिह्न र दोस्रोका लागि दुई वटा चिह्न दिइएको हुन्छ। दुइटा चिह्न हुँदैमा दुई छाप लगाउनु नहुने र एउटा कोठामा एउटा मात्रै छाप लगाउने निर्वाचन आयोगले जनाएको छ।

ballot box

यसरी गर्ने मतदान

मतदान अधिकृतले मतपत्र दिएपछि गोप्य मतदानस्थलमा जानुपर्ने हुन्छ। त्यहाँ स्वस्तिक छाप र स्ट्याम्प राखिएको हुन्छ। मतपत्रमा स्वस्तिक छाप नै लगाउनुपर्ने हुन्छ। पहिला छाप लगाएको चिह्नमा मसी अलि गाडा हुन सक्छ। मसी कम भयो भने फेरि स्वस्तिकलाई स्ट्याम्प प्याडमा चोब्नुपर्छ। मतगणना गर्दा स्पष्ट हुने गरी चिह्नमा छाप लगाउनुपर्छ। सावधानी के गर्नुपर्छ भने मतपत्र पट्याउँदा स्वस्तिक छाप लगाएको ठाउँ पछिल्लो सेतो भागमा पार्नुपर्छ। चिह्नमा भएको मसी सेतो भागमा पर्दा मत बदर हुँदैन। मतदानस्थल छिर्नुअघि नै कसलाई मत दिने भन्नेमा मतदाता स्पष्ट हुनुपर्ने छ।

कति छन् मतदाता

यो निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता छन्। आयोगले नयाँ मतदाता र परिचयपत्र हराएर प्रतिलिपि बनाएकाको परिचयपत्र बुधबार र बिहीबार वितरण गरिसकेको छ।

ढाँटेर मत हाले कार्बाही

कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आए उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ। छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिवाना गर्न पाउने अधिकार मतदान अधिकृतलाई दिइएको छ।

मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउनेछन्। मतदान केन्द्रभित्र मोबाइल, क्यामरा तथा फोटो खिच्ने सामग्री लैजान पाइने छैन। 
 

प्रतिक्रिया