महर्षि पतन्जली पातन्जल योग सुत्रमा भन्नुहुन्छ–योगश्चचित्तबृत्ति निरोध अर्थात् चित्तका वृत्तिहरु निरोध हुनु नै योग हो । मानिस आफ्ना चित्तका वृत्तिले जताजता घुमाउदँछ, तिनै विषयमा बोल्दछ । मौन योग कुन अवस्थामा घटित हुन्छ भने जब चित्तका संम्पूर्ण वृत्तिहरु पूर्णरुपमा निरोध हुन्छन् । मौन योग हुन् पूर्ण मौन, पूर्ण तृप्ति र पूर्ण सन्तुष्टिको अनुभूति हुनुपर्छ । सांसारिक सुखभोगको चाहना होउन्जेल चित्तका बृत्तिहरु घुमिरहन्छन् । म छु तर मेरा ईच्छाहरु छैनन् । विचारहरु उत्पन्न हुने कारण नै बाँकी रहेन अब । चित्त वृत्तिको पूर्ण रुपमा निरोध हुनु र मनका विचारहरु पूर्ण रुपमा शान्त हुनु मौनको क्षेत्र हो । मन, बुद्धि, चित्त र अंहकार भन्दा पर रहेको क्षेत्र हो । त्यही क्षेत्र हो शान्तिको क्षेत्र, बुद्ध क्षेत्र, कृष्ण क्षेत्र, शिवक्षेत्र र बैकुण्ठ क्षेत्रआदि ।
सारा जगत चलायमान छ । प्रकृतिको द्धैत चरित्रमा अस्तित्वको संघर्ष हुन्छ । जहाँ द्धैत र संघर्ष हुन्छ त्यहाँ हल्लाखल्ला हुन्छ । संन्सारको विषयबाट प्रकृतिमा मन लगाउनु पर्छ । प्रकृतिलाई हेरेर लयबद्ध हुँदै जाने तत् पश्चात आफ्नो आखाले भ्याएसम्म पुरै आकासलाई नियाल्ने गर्नुपर्दछ । आकासलाई समग्रतामा हेर्दै जाँदा मन खाली अनि चकमन्न हुन्छ । मन एकतमासको बन्दै खालीपनको अनुभव हुन जान्छ । शुन्यताको अनुभव हुन थाल्दछ । आकासलाई हेर्दै गए पछि आफूभित्र घटाकासको अनुभूति हुन थाल्दछ । देखिएको आकास र म भित्रको आकास एक नहुन्जेल पूर्ण मौन घटित हुँदैन । जुन दिन आफूलाई निराकार मौन घटित हुन्छ शरीर रहँदैन अर्थात अशरिरी अवस्थामा पुगिन्छ । यसपछि चैतन्यता निखारिदै आउन थाल्दछ । हाम्रो वास्तविक स्वरुप निराकार महाआकास नै हो जुन परम मौन छ । म छु को अनुभवबाट म हराउँछ ।
केही समय पछि छु भन्ने अनुभव पनि हराउँछ र केवल छ भन्ने अनुभव बाँकी रहन्छ । निष्तरङग अमौनी दशामा उपलब्ध भईन्छ । यस्तो अवस्थालाई कैवल्यावस्था भनिन्छ । त्यस्तो अनुभवनै समाधीको अवस्था हो । अब त्यहाँ द्धैत रहेन । म भित्रको आकास र बाहिरको आकास एक बन्यो । यहाँ पूर्ण मौन र स्थिर के छ रु आकास मौन, स्थिर र पूर्ण मौन छ । आकास अनन्त छ । अथाह आनन्दले ओतप्रोत छ ।
मौनताको अभ्यास चार तहमा गर्न सकिन्छ । पहिलो वाणीको तह–ईच्छाबाट विचार जन्मिन्छ तसर्थ इच्छा व्यक्त नगर्ने, विचार प्रति सजग रहने र भावमा नबग्ने, होशमा रहेर सोच समझ राखेर बोल्ने, आवश्यक कुरा मात्र बोल्ने, आफूले संकल्प गरेको समय अवधि भर मुखले नबोल्ने, ईशारा वा संकेत नगर्ने । दोस्रो तह मनको तह–मन प्रति सजगता, विचार प्रति सजगता राख्नुपर्छ । कस्तो विचार आइरहेको छ थाहा पाउनु पर्दछ । मौनमा रहेका वेला अनगिन्ती विचार आउँछन् । होस मा वर्तमान क्षणमा रहेको वेला विचार आउँदैन । चिन्ता बेहोसीमा आउँछ तर कुनै विषयको चिन्तन आफैं गर्नुपर्छ । सजग बनेमा अनावश्यक विचारलाई वेवास्ता गर्न र आवश्यक विचारलाई आमन्त्रण गर्न सकिन्छ । विचारमा चेतनाको प्रकाश राख्ने वित्तिकै विचार गायव भैहाल्छ ।
तेस्रो तह भावनात्मक मौनको तह–सकारात्मक वा नकारात्मक भावहरु प्रति सजगता अपनाउनु भावनात्मक मौनको अभ्यास हो । विचारले भाव उत्पन्न गर्छ र भावले रस उत्पन्न गर्छ । जस्तो विचार त्यस्तै भाव अनि त्यस्तै कर्म गरिन्छ । बुद्धिमत्ता पूर्वक आफ्ना भावहरुको ब्यवस्थापन गर्न नसक्दा धेरै मानिसहरुको जीवन बर्बाद भएको छ । मूर्खतापूर्ण भावुकताबाट बच्न र भावहरुको बुद्धिमत्तापूर्ण सन्तुलन कायम राख्न भावनात्मक तहको मौनता जरुरी छ ।
नराम्रो अनुभव गराउने खराव कुराहरु र हानीकारक विचार र संगतबाट आफूलाई मुक्त राख्ने र राम्रो अनुभव गराउने असल कुराहरु लाभदायक कुराहरुसँग आफूलाई भावनात्मक रुपमा जोड्ने गर्नु पर्दछ । चौथो तहको मौनको अभ्यास आत्मा यानेकि चेतनाको तहको मौनको अभ्यासमा दुबै आखा बन्द गर्दा जस्तो दृष्य देखिन्छ त्यसप्रति सजगता अपनाउनु पर्दछ । निराकार प्रति सजगता तथा आत्मगुफा प्रति सजगता नै चैतन्यता तहको मौन हो ।
मौन रहनु एक साधना हो र सोच समझ राखेर बोल्नु एक कला हो भनिएको छ । बाहिर जगतका विषयमा छरिएको मनलाई भित्र खिच्ने र चेतनाउन्मुख गराउने लामो समयको अभ्यास पछी मौनताको लक्षणहरु देखिन थाल्दछन् । ऋषिहरु भन्नुहुन्छ–बहिर्मुख भएका पाँच ईन्द्रियलाई आफूभित्र खिचेर स्वमा स्थित गर । तिमी कछुवा जस्तै बन् । कछुवाले संकट परेका बेला चारहात खुट्टा र टाउको भित्र खिचेर बस्छ ।अत्यन्त सजगताको साथ आफ्नै निराकार स्वरुपमा अटल अनि स्थिर रह्यो भने अचम्म हुन थाल्छ ।
परम दिब्यता घटित हुन्छ । त्यो मौन त गतिशिल छ ।ध्वनीमय छ । प्रकाशित छ । मौन गाँढा हुँदै गएपछि विभिन्न अलौकिक अनुभव हुन थाल्दछ । कणकणमा ईश्वरानुभूति हुन थाल्छ ।समष्टिप्रति भक्ति जन्मिन्छ । हृदय गदगद हुन्छ । आल्हादित बनिन्छ । परमानन्द प्राप्त हुन्छ । आनन्दानुभूति आनन्दरस बनेर अश्रुधारा बग्दछ । यसल् यती आनन्द दिन्छ कि यस अघि यस्तो आनन्द कहिल्यै प्राप्त भएकै थिएन् । परम मौनको आनन्द क्षणिक आनन्द होइन । यो त कहिल्यै नघट्ने सधै बढ्दै जानेवाला अनन्त आनन्द हो । जो सदा उपलब्ध छ मात्र त्यसमा स्थित हुन जान्नु पर्दछ ।के पाउनु ? के गुमाउनु ? हरिॐ तत् सत् ....!
(योगध्यान प्रशिक्षक, जीवन विज्ञान)
प्रतिक्रिया