सीटीईभीटीले मंगलबारसम्म नर्सिङको भर्ना खोल्ने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सीटीईभीटी) ले मंलबारसम्म प्रमाणपत्र तह (पीसीएल) नर्सिङको भर्ना खोल्ने भएको छ ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेको निर्देशनपछि परिषदले मंगलबारसम्म भर्ना खोल्ने भएको हो । परिषदका सदस्य–सचिव जीवनारायण काफ्लेले मङ्गलबारसम्म भर्नाको सूचना प्रकाशन गर्ने जानकारी दिए ।

त्यसअघि आइतबार मन्त्री पौडेलले प्रमाणपत्र तह (पीसीएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका थिए । उनले  चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सीटीईभीटीका सदस्य–सचिव जीवनारायण काफ्लेलगायतलाई मन्त्रालयमा बोलाएर तत्काल नर्सिङको भर्ना खोल्न निर्देशन दिएका हुन् ।

मन्त्री पौडेलले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गत कात्तिक १७ गते गरेका थिए  । भर्ना प्रक्रिया सुरु गर्न निर्णय गरे पनि सीटीईभीटीले सूचना प्रकाशन नगरेपछि मन्त्रीले मन्त्रालयमै बोलाएर तत्काल सूचना प्रकाशन गरी भर्ना खोल्न निर्देशन दिएका हुन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै पढनपाठन गराउन मापदण्ड पूरा गरेका छन् । ती २४ कलेजमध्ये १७ निजी हुन् भने सात आङ्गिक छन् । एसईई लगत्तै भर्ना खोल्नुपर्ने डिप्लोमा कार्यक्रमको नर्सिङबाहेकका अन्य कार्यक्रमको भर्ना भए पनि नर्सिङ कार्यक्रम लामो समयदेखि अन्योलमा रहँदै आएको थियो । 

प्रतिक्रिया