२०४८ सालको बैशाख तिरको एक साँझ पुतलिसडकको दियो रेष्टुराँ । पत्रकारिताको कखरा सिक्दै गरेका अल्लारे केटाहरुको जमघट । जमघटमा धेरथोर जोशिलो पेय नहुने कुरै थिएन । बिभिन्न साप्ताहिक पत्रिकामा काम गर्ने साथीभाईहरु प्राय साँझ जम्मा भएर भरखरै आएको बहुदलमा पत्रकारिताको विषयमा धेरै कुराहरु हुन्थ्यो । त्यतिबेला अहिलेको जस्तो भाइरल हुने होइन, 'स्कूप' कसरी मार्ने भन्ने कम्पिटिसन हुने गर्दथ्यो । स्कूप मार्नेले बील भुक्तानीमा अरुले भन्दा अलि बढी योगदान पनि गर्नु पर्थ्यो ।
करेन्ट इस्युका बारेमा छलफल गरेर सम्भावित फोटो, समाचारका विषयमा कुरा शुरु भएर विभिन्न गसिप र कहिलेकाँही नशा चढेको झोँकमा सानातिना विवाद र ठेलमठेला पछि राती एक दुई बजे मस्त भएर घरको बाटो तताइन्थ्यो । हामी पाँच-सात जना साथीहरुको एक किसिमले यो दैनिकी जस्तै भएको थियो त्यतिबेला ।
यस्तै एउटा साँझको जमघटमा राजेश मिश्र (हाल अमेरिका भासिएको पत्रकार मित्र) ले प्रश्न तेर्स्यायो, ए चन्द्रे तँलाई आजभोलीे के फोटो खिच्न मन लागेको छ तर सकिरहेको छैनस् ? अनि मैले भने, मदन भण्डारीको टोपी नलाएको खिच्न मन थियो तर टोपी बिना कहिल्यै पनि देखिन । त्यसपछि सबैले भने टोपी बिना त मदन भण्डारीलाई कसैले पनि देखेको रहेनछन् । त्यो फोटो खिच्न पाए त 'स्कूप' नै हुने थियो भन्नेमा सबै एकमत भए र सबैले मलाई हौस्याए पनि।
सँधै झैँ त्यो साँझको बसाई पनि सकेर राती घरतिर लागियो।
त्यसको दुई महिना जति पछि राजेशले सुरुचि पत्रिकामा नेपाली समाजका दश अवतार भनेर राजनीतिज्ञहरुबारे फिचर लेख्यो । दशमध्ये एक अवतारमा त्यसबेलाका चर्तित नेता थिए मदन भण्डारी । जहाँ मेरो इच्छा पनि उल्लेख गरेछ । त्यो पढेर मदन भण्डारीले पत्रकार गोपाल गुरागाईँ दाई मार्फत खबर पठाउनु भएछ । एक दिन म र गोपाल दाई नक्साल भगवती थान नजिकैको भण्डारीको डेरामा फोटो खिच्न पुग्यौं ।
हामी पुग्दा नेता भण्डारी टोपी नलाई स्याण्डो गन्जी र नीलो ट्रयाक प्यान्ट लगाएर बस्नु भएको रहेछ । टोपी बिना देख्दा त उहाँ पुरै अर्कै, चिन्नै मुस्किल । मैले फोटो खिच्न तयारी गर्न लागेपछि उहाँले भन्नुभयो, यो त अलि बढी होला पर्खनुस् है म ट्रयाकको माथिको ज्याकेट लाएर आउँछु भन्दै अर्को कोठामा जानुभयो । फर्केर टोपी नलगाएको फोटो खिच्न पत्रिकामा नै छाप्नु पर्थ्यो र भने भैहाल्थ्यो नि भन्दै साधारण बेतको कुर्सीमा बस्नुभयो ।
त्यसपछि गोपाल दाईले कुराकानी थाल्नुभयो म चाहीँ फोटो खिच्नतिर लागेँ । कुराकानीको अन्त्यमा मैले एउटा प्रश्न सोधेँ, तपाइँलाई मन पर्ने नेपाली नेता को हो ? सेकेण्ड पनि नसोचि भन्नुभयो, बीपी कोइराला । (त्यसबेलासम्म कुनै पनि कम्युनिष्ट नेताहरुले सार्वजनिक रुपमा बीपी कोइराला मनपर्छ भन्दैन थिए)।
त्यसपछि उहाँले भन्नुभएको कुराले मलाई यति ठुलो प्रभाव पार्यो की म उहाँको 'फ्यान' नै भएँ । तपाईँहरुले यो कुरा छापेपछि अब एकपटक साथीभाईहरुले मलाई राम्रै लखेट्छन् । तर एउटा कुरा भन्नुस् त मैले बीपी कोइराला मनपर्छ भन्दैमा म कांग्रेस भइहाल्छु त । मान्छे मन पर्नुका धेरै कारणहरु हुन्छन् नि होइन ।
त्यसपछि चियासँगै केही पारिवारीक तस्वीरहरु पनि खिचेर विदा हुने बेलामा भण्डारीले भन्नुभयो, फोटो पनि ल्याइदिनुहोला र यसो बेलाबखत आउँदै पनि गर्नुहोला । यसपछिका जति पनि भेटहरु भए म प्रत्येक पटक उहाँसँग झन् बढी प्रभावित हुँदै गएँ र प्रत्यक भेटहरु बिर्सन नसकिने भए ।
ती दिनका अविष्मरणीय सन्दर्भ भविष्यमा आउने नै छन् । अहिलेलाई भने नेता भण्डारीप्रति सादर सम्मान ।
प्रतिक्रिया