काठमाडौं– रोल्पाको लुङग्री र सुनिल स्मृति गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित निकालेको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन्।
लुङग्री गाउँपालिका अध्यक्ष पदमा माओवादी केन्द्रका भरतकुमार थापा निर्वाचित भएका छन्। उनले ४ हजार ९६४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धीका रुपमा देखिएका नेपाली कांग्रेसका जनक खड्काले ४ हजार २९९ मत प्राप्त गर्दै पराजित भएका छन्।
त्यस्तै, गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकै दिलकुमारी गुरुङ निर्वाचित भएकी छन्।
उनले ४ हजार ७४० मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धीको रुपमा देखिएकी नेपाली कांग्रेसकी मुन्नी देवी रोका क्षेत्रीले भने ४ हजार २६६ मत ल्याउँदै पराजित भएकी छन्।
यता, सुनिल स्मृति अध्यक्षमा माओवादी केन्द्रका मणिराम बुढाथोकी निर्वाचित भए। उनले ६ हजार ६२ मत ल्याएका छन्। उनका प्रतिस्पर्धिका रुपमा रहेका नेपाली कांग्रेसका गन्ज बहादुर क्षेत्रीले ३ हजार ८९३ मत ल्याउँदै पराजित भए।
त्यस्तै, गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी मीना थापा निर्वाचित भइन्। उनले ६ हजार ३७ मत ल्याउँदै निर्वाचित भएकी हुन्। उनकी प्रतिस्पर्धिको रुपमा देखिएकी नेपाली कांग्रेसकी तेजकुमारी विष्टले ३४ सय मत ल्याएकी छन्।
गाउँपालिकाको २ नम्बर वडाबाहेक सम्पूर्ण वडाको अध्यक्ष पनि माओवादी केन्द्रले नै जितेको छ। २ नम्बर वडामा भने स्वतन्त्र उम्मेदवार नेत्र बहादुर गिरीले जित हासिल गरेका छन्।
यता, रुन्टिगढी गाउँपलिकामा नेपाली कांग्रेसका उम्मेदवार जनक पुन अध्यक्षमा निर्वाचित भएका छन्।
पुनले ४ हजार ३९१ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धिका रुपमा देखिएका नेकपा माओवादी केन्द्रका गोविन्द पुन मगरले ३ हजार ७०८ मत ल्याउँदै पराजित भए।
त्यस्तै, गाउँपालिकाको उपप्रमुखमा पदमा पनि कांग्रेसकै जित भएको छ। कांग्रेसकी सरिता केसी ४ हजार ४३७ मत ल्याउँदै उपाध्यक्ष पदमा निर्वाचित भएकी छन्।
उनका निकटतम प्रतिद्वन्द्वीका रुपमा देखिएकी नेकपा एमालेका हस्तमाली बाँठामगरले भने ३ हजार ६३६ मत ल्याउँदै पराजित भएकी छन्।
गाउँपालिकाको वडाअन्तर्गत १, ४ र ९ मा कांग्रेस, ३, ५ र ६ मा एमाले र २, ७ र ८ मा माओवादी केन्द्रको जित भएको छ।
प्रतिक्रिया