फिल्मी शैलीमा छुटे राजीव गान्धीका ‘हत्यारा’ पेरारिवलन 

दिल्ली। १८ मेमा भारतको सर्वोच्च अदालतका न्यायाधीस नागेश्वर राव, वीआर गवई र एएस बोपन्नाको बेञ्चले कानुनको १४२ धारा प्रयोग गर्दै यो फैसला सुनाए, ‘राजीव गान्धी हत्याकाण्डका दोषी पेरारिवलनको आजीवन कैदको सजायलाई स्थगित गर्दै उनलाई छोड्नु पर्नेछ।’ 

अदालतले कानुनको त्यो धाराको प्रयोग पूर्ण न्यायको सिद्धान्तमा उभिएर गरेको बताएको थियो। किनभने पेरारिवलनको नाममा परेको आममाफीको बहसको मुद्धा बर्षोसम्म अदालतमा लम्बित थियो।  
अदालतले आफूलाई जेलमुक्त गर्ने फैसलाको खबर पाएपछि पेरारिवलनले भने, ‘मेरो आमाको ३१ वर्षको संघर्ष अन्तत सफल भएको छ।’

पेरारिवलनको कथा कुनै फिल्मको दमदार स्क्रिप्ट भन्दा कम छैन। जसले भारतीय प्रधानमन्त्रीको हत्यामा प्रयोग भएको बमका लागि आवश्यक पर्ने ९ भोल्टको दुई ब्याट्रीको सप्लाई गरेका थिए। राजीव गान्धीको हत्याभन्दा केही दिनअघि हत्याको मास्टरमाइण्ड लिब्रेसन टाइगर्स अफ तमिल इलम (लिट्टे) का सिवरासनको गलत ठेगाना बनाउँदै एउटा मोटरसाइकल पनि खरिद गर्न सफल भएका थिए। १९ वर्षको उमेरमा पक्राउ परे। फाँसीको सजाय भयो। तर, त्यो आजीवन कारावासमा रुपान्तरण हुँदै आजबाट जेलमुक्त भएका छन्। 

एजी पेरारिवलन अर्थात अरिबु तमिल कवि कुयिलदासनका छोरा हुन्। स्कुलमा अध्ययन गर्दा उनी लिट्टेबाट प्रभावित भए। २१ मे १९९१ मा श्रीपेरम्बदुरको एउटा सभामा राजीव गान्धीको हत्या हुँदा उनी १९ वर्षका थिए। राजीवको हत्याको २० दिनपछि पक्राउ परे। 

२८ जनवरी १९९८ मा टाडाको विशेष अदालतले पेरारिवलनसहित २६ जनालाई फाँसीको सजाय सुनायो। ११ मे १९९९ मा सर्वोच्च अदालतले पेरारिवलन, नलिनी, मुरुगन र संथानसहित ४ जनाको फाँसीलाई यथावत कायम राख्दै अन्य ३ जनाको फाँसीको सजायलाई आजीवन कारावासमा परिवर्तन गर्यो। यतिबेला १९ जना दोषी मुक्त भएका थिए। 

पेरारिवलनले ३१ वर्ष पुजहल र भेल्लोरको केन्द्रिय जेलमा बिताए। यसमा पनि २४ वर्ष उनलाई एक्लै अध्यारो कोठामा थुनिएको थियो। इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार पेरारिवलनले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटीबाट स्नातक गरेका छन्। उनीसँग ८ भन्दा बढी डिप्लोमा सर्टिफिकेट छ। 

सन् १९९९ मा सर्वोच्च अदालतले फासीको सजाय सुनाउँदा उनीसँग धेरै विकल्प थिएनन्। सन् २००१ मा उनले आममाफीका लागि राष्ट्रपतिसमक्ष निवेदन दर्ता गराएका थिए। तर, ११ वर्षसम्म यसको कुनै सुनुवाई भएन। राष्ट्रपति प्रतिभा पाटिलले २०११ मा आएर उनको आममाफी खारेज गरिन्। 

९ सेप्टेम्बर २०११ मा उनको फाँसीको दिन तय थियो। पेरारिवलनको आमालाई चिट्ठी पुगिसकेको थियो, छोराको पार्थिव शरीर लिन आउनु भनेर। तर, यति नै बेला कथाले नयाँ मोड लियो। 

फाँसीभन्दा केही घण्टाअघि तमिलनाडुकी तत्कालीन मुख्यमन्त्री जयललिताले एउटा प्रस्ताव पारित गरिन्। उनले राजीव गान्धीको हत्यामा संलग्न दोषी, जो लामो समयदेखि जेलमा सजाय भोगिरहेका छन्, उनीहरूको सजाय कम गर्ने विषयमा महत्वपूर्ण निर्णय लिइन्। यो निर्णयपछि मद्रास उच्च अदालतले फाँसीको आदेशलाई तत्काल रोक्नु परेको थियो। 

सन् २०१३ मा केन्द्रिय अनुसन्धान ब्युरो (सीबीआई) का एक अधिकारी टि त्यागराजनले यसैबीच एउटा ठूलो खुलासा गरेका थिए। उनले पेरारिवलनको कबुलनामा आफूले फेरबदल गरेको बताएका थिए। पेरारिवलनले ब्याट्री खरिद गर्दा राजीव गान्धीलाई मार्ने उद्धेश्य थाहा नभएको बताएका थिए। 

सर्वोच्चका न्यायाधीस टिएस थोमसले २०१३ मा नै भनेका थिए, २३ वर्ष लामो जेल सजाय भोगिसकेको व्यक्तिलाई फाँसीमा चढाउनु उपयुक्त हुँदैन। यो एउटा अपराधका लागि दुई वटा सजाय सुनाउनु सरह हुनेछ। त्यसैले २०१४ मा सर्वोच्चले फाँसीको सजायलाई आजीवन कारावासमा रुपान्तरण गरेको थियो।  

यसपछि पेरारिवलनलाई जेल मुक्त गर्न तमिलनाडुको राज्यपालसमक्ष क्षमायाचिका दायर भयो। जुन ७ वर्षदेखि अदालतमा थन्कीएर बसेको थियो। तर, हालै सर्वोच्च अदालतले आर्टिकल १४२ प्रयोग गर्दै पेरारिवलनलाई रिहा गर्ने निर्णय गर्यो। 

सन् १९९९ मा पेरारिवलनलाई फाँसीको सजाय सुनाउने न्यायाधीस केटी थोमस भन्छन्, ‘उसले सामान्य जीवन बिताओस् र खुसीले बाँचोस्।’

उनलाई जेलमुक्त गर्न आमा अर्पुतम अम्मलले आफ्नो पुरै जीवन संघर्ष गरिन्। ‘सुरुमा मलाई कानुन, पुलिस, अदालतको विषयमा जानकारी थिएन। अरिवुको दुई बहिनीहरूले जे कमाएर ल्याउँथे, त्यो पैसाले उसको मुद्धा लड्थे,’ पेरारिवलनकी आमाले खुसी हुँदै भनिन्। 

प्रतिक्रिया