आगामी महिना विश्वले खाद्य संकटको सामना गर्न सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी

काठमाडौं– संयुक्त राष्ट्रसंघले आगामी महिना विश्वले खाद्य संकटको सामना गर्न सक्ने चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धले खाद्यान्न संकट झनै बढाएको बताएका छन्। मूल्यवृद्धि भएको छ र यसको असर गरिब देशहरूमा सबैभन्दा बढी परेको छ।

उनले आफ्नो सम्बोधनमा युक्रेनको खाद्यान्न निर्यातलाई आक्रमण अघिको स्तरमा पुर्‍याउन नसके विश्वले धेरै वर्षसम्म भोकमरीको सामना गर्नुपर्ने बताए।

रुसको आक्रमणका कारण युक्रेनको बन्दरगाह पनि नराम्ररी प्रभावित भएको छ र यसले खाद्यान्न निर्यातमा असर गरेको छ । युक्रेनले ठूलो परिमाणमा खाद्य तेल, मकै र गहुँ जस्ता धेरै अन्न निर्यात गर्ने गर्दथ्यो।

युक्रेनको निर्यातमा आएको गिरावटले विश्वव्यापी आपूर्तिमा कमी आएको छ र यसको विकल्पको मूल्य द्रुत गतिमा बढेको छ। संयुक्त राष्ट्रसंघका अनुसार गत वर्षको सोही अवधिको तुलनामा विश्व खाद्यान्नको मूल्य करिब ३० प्रतिशतले बढेको छ।

प्रतिक्रिया