गत महिनादेखि पाकिस्तानमा चरमपन्थी आक्रमणका घटनामा वृद्धि

काठमाडौं– गत महिनादेखि पाकिस्तानमा चरमपन्थी आक्रमणका घटनामा वृद्धि भएको छ। विशेष गरी सिन्ध प्रान्तको कराँची सहरमा। मे १७ मा कराँचीको एक भीडभाड बजारमा भएको विस्फोटमा एक महिलाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका थिए।

गत हप्ता कराँचीमा अर्को विस्फोट भएको थियो, जसमा एक जनाको मृत्यु भएको थियो। अप्रिल २६ मा कराँची विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटनजिक आत्मघाती आक्रमण भएको थियो। उक्त आक्रमणमा तीन चिनियाँ शिक्षक र एक चालक मारिएका थिए। चालक कराँचीका बासिन्दा थिए।

१५ मेम उत्तरी वजिरिस्तान अर्थात् कराँची बाहिर आदिवासी क्षेत्रमा एक चरमपन्थी आक्रमण भएको थियो। यस आक्रमणमा पाकिस्तानी सेनाका जवान र सर्वसाधारणसहित ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

इस्लामाबादस्थित थिंक ट्याङ्क पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडीजु (पीआईसीएसएस)ले हालै चरमपन्थी आक्रमणहरूसँग सम्बन्धित तथ्याङ्क सार्वजनिक गरेको छ।

देशमा चरमपन्थी आक्रमणको संख्या मार्च २०२२ को तुलनामा अप्रिलमा २४ प्रतिशतले बढेको पीआईसीएसएसले जनाएको छ। पाकिस्तानको अंग्रेजी अखबार ‘डन’ ले कराँची आक्रमणलाई ‘शहरी हिंसा’ भनेको छ।

१८ मे मा डनले लेखेको थियो,‘ स्पष्ट छ कि विपक्षी शक्तिहरूले कराँचीमा अराजकता सिर्जना गर्ने प्रयास गरिरहेका छन्।’ १७ मेमा चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले पाकिस्तान र चीनका प्रधानमन्त्रीबीच भएको वार्ताको समाचार सार्वजनिक गरेको छ।

अखबारले लेखेको छ,‘शाहबाज शरीफ सत्तामा आएपछि दुई नेताबीचको यो पहिलो वार्ता हो।’ ली खछ्याङको भनाइ ग्लोबल टाइम्सलगायत चीनको सरकारी मिडियामा हेडलाइनमा छ। ली खछ्याङले पाकिस्तानमा हालै भएको आक्रमणबाट चीन स्तब्ध र क्रोधित भएको बताएका छन्।

चीनले यी आक्रमणको कडा आलोचना गरेको छ। ली खछ्याङले पाकिस्तानसँग दोषीलाई कारबाही गर्न माग गरेका छन्। यद्यपि, उनले यी आक्रमणका लागि पाकिस्तानले तुरुन्तै चालेको कदमको पनि प्रशंसा गरेका छन्।

प्रतिक्रिया