काठमाडौं। रोजगारीका लागि नेपालीहरूको आकर्षक गन्तब्य बनेको संयुक्त अरब इमिरेट्स (युएई) मा गत मंगलबार ‘मङ्की पक्स’ का एक संक्रमित फेला परिन्। उनी पश्चिम अफ्रिकाबाट युएई फर्किएकी थिइन। अहिले उनलाई युएईको स्वास्थ्य विभागले ‘आइसोलेसन’ मा राखेको छ।
यस्तै, नेपालसँग सीमा जोडिएको भारतले ‘मङ्की पक्स’ को सम्भावित संक्रमणलाई लिएर विभिन्न शहरमा धमाधम ‘आइसोलेसन वार्ड’ तयार पार्न थालेको छ। उसले नेशनल सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) र इन्डियन काउन्सिल अफ मेडिकल रिचर्स (आइसीएमआर) लाई तयारी अवस्थामा बस्न आदेश दिएको छ। स्वास्थ्य मन्त्रालयले ‘मङ्की पक्स’ प्रभावित देशबाट भारतको विभिन्न विमानस्थल र बन्दरगाहमा आउने अस्वस्थ यात्रुलाई तुरुन्त ‘आइसोलेसन’ मा राखेर स्याम्पल चाँजका लागि पूणेस्थित नेशनल इन्स्टिच्युट अफ वायरोलोजी (एनआइभी) मा पठाउन आदेश दिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार अहिले २० देशका सयभन्दा बढी व्यक्तिमा ‘मङ्की पक्स’ को संक्रमण फेला परिसकेका छन्। यसमा बेलायत, अमेरिका, इटाली, स्वीडेन, फ्रान्स, स्पेन, पोर्चुगल, जर्मनी, अस्ट्रेलिया, क्यानडा, बेल्जियम, नेदरल्याण्ड, इजरायल, अस्ट्रिया, स्विट्जरल्याण्ड, चेक रिपब्लिक, स्लोभेनिया, संयुक्त अरब इमिरेट्स (युएई) लगायतका देश छन्।
‘मङ्की पक्स’ को संक्रमण फैलिएका देशमध्ये थुप्रै देशसँग नेपालको कूटनीतिक सम्बन्ध मात्र छैन, त्यहाँ धेरै नेपाली बसोबास गर्ने तथा नेपाल आउँजाउँ भइरहने गर्दछ। नेपालमा यसको जोखिम देखिए पनि सरकारले कुनै तयारी गरेको छैन।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर कुमार अधिकारीले एक अन्तर्वार्तामा भनेका छन्, ‘हामी विश्व स्वास्थ्य संगठनसँग लगातार सम्पर्कमा छौं। तर, कुनै निर्देशन पाएका छैनौं। यदी हामीले कुनै निर्देशन पायौं भने हामी आफ्नो स्वास्थ एजेन्सीलाई अलर्ट गर्नेछौं।’
काठमाडौंमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ‘मङ्की पक्स’ का लागि कुनै सतर्कता अपनाइएको देखिदैन। ‘हामीलाई स्वास्थ्य विभागबाट कुनै निर्देशन आएको छैन,’ त्रिभुवन विमानस्थलमा कार्यरत हेल्थ डेस्कका एक कर्मचारीले बताए।
के हो ‘मङ्की पक्स’?
‘मङ्की पक्स’ संक्रमण ‘चिकन पक्स’ भाइरसको परिवारको सदस्य नै मानिन्छ। ‘मङ्की पक्स’ सन् १९७० मा पहिलो पल्ट बाँदरमा फेला परेको थियो, जुन १० अफ्रिकी राष्ट्रमा फैलिएको थियो। अमेरिकामा यसको संक्रमण २००३ मा पहिलो पल्ट फेला पर्यो। सन् २०१७ मा नाइजेरियामा ‘मङ्की पक्स’ ले खतरनाक रूप धारण गरेको थियो। यतिबेला नाइजेरियामा ७५ प्रतिशत पुरुष संक्रमित बनेका थिए। बेलायतमा २०१८ मा यसको पहिलो संक्रमण देखिएको थियो।
विज्ञहरू यसलाई दुर्लभ मान्छन् र यसको परिणाम गम्भीर हुनसक्ने बताउँछन्। हाल यसको प्रभाव मध्य तथा पश्चिम अफ्रिकी देशहरूमा बढी छ। तर, विस्तारै युरोप हुँदै यो अमेरिकातर्फ फैलिन थालेको छ। ६ मेमा बेलायतमा फेला परेका संक्रमित पनि नाइजेरियाबाट फर्किएका थिए।
कसरी फैैलिन्छ संक्रमण?
विज्ञहरूका अनुसार ‘मङ्की पक्स’ संक्रमितको नजिकै जाँदा यो रोग फैलिने सम्भावना बढी हुन्छ। यसको भाइरस संक्रमितको घाउबाट निक्लिएर आँखा, नाक, मुख हुँदै शरीरभित्र प्रवेश गर्छ। बादर, कुकुर र लोखर्के जस्ता संक्रमित जनावरको कपडाबाट पनि यो रोग सर्न सक्छ। संक्रमितहरू ‘मङ्की पक्स’ सँग ७ देखि २१ दिनसम्म मात्र लड्न सक्छन्।
स्पेन र पोर्चुगलमा ‘मङ्की पक्स’ का ४० तथा बेलायतमा ९ संक्रमित फेला परेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) सतर्क बनेको छ। उसले समलैंगिक रोगीमा पनि यो भाइरसको संक्रमणको परीक्षण गरिरहेको छ। सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिवेन्सन ९सीडीसी० ले पनि सम्भावित संक्रमितको पहिचान गर्न ‘कन्ट्याक्ट ट्रेसिङ’ लाई तीब्र बनाएको छ।
समलैंगिक पुरुषलाई संक्रमणको खतरा
बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार बेलायतमा भेटिएका ‘मङ्की पक्स’ का संक्रमणकारीमा बढी समलैंगिक सम्बन्ध राख्ने पुरुष छन्। यो परिणाम बाहिरिएपछि त्यहाँको स्वास्थ्य विभागले समलैंगिक पुरुषलाई सतर्क रहन आग्रह गरेको छ।
‘मङ्की पक्स’ को लक्षण
बेलायती स्वास्थ्य संस्थाका अनुसार ‘मङ्की पक्स’ को सुरुवाती लक्षण फ्लु जस्तै हुन्छ। पहिले टाउको दुख्ने, मांसपेशी दुख्ने, कम्मर दुख्ने, काम ज्वरो आउने, थकान महसुस हुने गर्छ। यसपछि अनुहारमा एक प्रकारको दाना जस्तै सानोसानो फोका देखा पर्छ। संक्रमणको बेला यो शरीरको विभिन्न भागमा फैलिने गर्छ र यसले अन्य स्वरुप धारण गर्छ। अन्तिममा यो ‘चिकन पक्स’ जस्तै देखिन्छ।
‘चिकन पक्स’ को भ्याक्सिन ‘मङ्की पक्स’ का लागि असरदार
सीडीसीका अनुसार ‘चिकन पक्स’ को भ्याक्सिन ‘मङ्की पक्स’ को संक्रमणका लागि पनि असरदार हुन्छ। यो दुर्लभ रोगबाट बच्न अमेरिकी फुड एण्ड ड्रग एसोसिएसन ९एफडीए० ले सन् २०१९ मा जेनोइस नामको भ्याक्सिनलाई स्विकृति दिएको थियो। यो भ्याक्सिनलाई सन् २०१३ मा युरोपेली मेडिसिन एजेन्सीले स्विकृति प्रदान गरिसकेको थियो। भ्याक्सिनलाई १८ वर्षभन्दा माथिका व्यक्तिलाई मात्र प्रयोग गर्न सकिन्छ।
प्रतिक्रिया