वेत लौरी भाँचिएको थियोे
बदला घुँङ्गुरुले लिएको थियो
त्यो पनि काँडैडाँडा
काम नलाग्ने भएकोले
भर्खरै मान्छेहरूले दाडिमपाते लौरो टेक्ने बिचार गर्दै
जीवनमा बाँचेर पटकपटक मर्दै,
जीवनमा मरेर मरेर पटकपटक लड्दै लड्दै
कान्ला कान्लामा दाडिमपाते रोपे
उकालोको सहारा बलियै हुन्छ कि ?
वेत जस्तो नबाङ्गिने सोचमा छन् यात्रुहरू
घुँङ्गुरूले जस्तो हात नदुखाउने सोचमा छन् यात्रुहरू।
बिचारमा छन् मान्छेहरू।
भर चैँ छैन
खोला तरेपछि लौरो फाल्ने चलन छ
उकालो काटे पछि लौरो बिर्सने चलन छ।
कुन्नि अब मान्छेले लौरो बिर्सन्छ कि ?
लौरोले मान्छे बिर्सन्छ आकाश हेरिरहेछ
सूर्य,चन्द्र र अन्य पिण्डहरू हेरिरहेछन्,
यता पृथ्वीतिर हावाले लौरो हल्लाउँदै छ
भाँच्न के बेर कत्राकत्रा सिमेन्ट पिलर पड्काइए
कत्राकत्रा बज्राँठे खम्बा भाँचिए
यस्ता नाथे दाडिमपाते
भन्दै हिँड्ने कलियुगेहरू छन्
भन्दै हिँड्ने टाउकेहरू छन्
बारुदहरू छन्
युरेनियमहरू छन्
प्लेटेनियमहरू छन्
शिशाहरू छन्,
यसैमा बानी परेकाहरूको बानीहरू छन्
यसैमा खाने पिउने मोज गर्ने छोटे राजारानीहरू छन्
उनीहरूका एलिट नानीहरू पनि छन्
नभाँचिलिएला त दडिमपाते लौरो ?
नहराउला त ! दाडिमपाते लौरो !
आशामा छन् यात्रुहरू नभाँचिएला
नछोडिएला र नफ्याँकिएला, नचोइटिएला।
पुरै आशामा छन्
पुरै भरोसामा छन्।
प्रतिक्रिया