जम्मू–कश्मीर: श्रीनगर र अवन्तिपोरामा दुई भिडन्त, चार चरमपन्थी मारिए

काठमाडौं– भारतको जम्मू– कश्मीरमा सुरक्षाकर्मी र प्रहरीसँग भएको दुई मुठभेडमा चार चरमपन्थी मारिएका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार बिहीबार राति श्रीनगरमा पहिलो भिडन्तमा दुई लस्कर–ए–तैयबाका लडाकू मारिएका छन्। दोस्रो भिडन्त अवन्तिपुरामा भएको थियो। त्यहाँ टिभी कलाकार अमरिन भट्टको हत्यामा संलग्न दुई चरमपन्थी मारिएका छन्।

कश्मीरका आईजी विजय कुमारले मारिएका विद्रोहीहरूबाट एक एके-४७ राइफल र एउटा पेस्तोल बरामद गरिएको बताएका छन्।

उनका अनुसार पछिल्लो तीन दिनमा प्रहरीले भिडन्तमा १० चरमपन्थी मारेको छ। जसमध्ये ७ जना लस्कर–ए–तैयबासँग र तीन जना जैश मोहम्मदसँग सम्बन्धित थिए ।

पछिल्लो समय राज्यमा चरमपन्थी र सुरक्षा बलबीच झडप बढेको छ । केही दिनअघि उपत्यकामा काश्मिरी पण्डित राहुल भट्टको हत्यापछि काश्मिरी पण्डितहरूको प्रदर्शन जारी छ र सरकारविरुद्ध आक्रोश देखिएको छ।

प्रतिक्रिया