परिवर्तन संस्थागत गर्न पहिला पध्दति बसाउनुपर्छ। त्यो पध्दतिको जगमा विधिले सरल तरिकाले क्रियाशील हुन पाउनुपर्छ। विधि क्रियाशील भैरहन पायो भने विधिलाई पछि पार्दै व्यक्तिको ठाडो आदेशले शासन गर्ने गलत परिपाटी बन्द हुन्छ। व्यक्ति हाबी हुने प्रवृत्ति जहाँनेर अन्त्य हुन्छ, त्यहींनेरबाट सुशासन सुरु हुन्छ। हाम्रो देश नेपाललाई चाहिएको यत्तिमात्रै हो, नेपाली जनताले खोजेको तर नपाएको सेवा पनि यत्तिमात्रै हो। किनभने विधिको शासन क्रियाशील हुनपाएपछि राज्यका सबै अंगले दिने सेवा सहजै जनतासमक्ष पुग्छ भन्नेमा कसैलाई शंका छैन। अबका नेताले यत्ति हो गर्ने। पूरा हुन नसक्ने सपनाको व्यापार आवश्यक नै छैन।
बस, नेपाल र नेपालीलाई चाहिएको यही हो, यत्ति भएपछि अरु चाहिने कुरा हाम्रै देशभित्र उपलव्ध छन्। ती कुरा चिन्न सक्ने र तिनको सदूपयोग गर्न सक्ने क्षमता नेताहरुमा हुन आवश्यक छ। स्थानीय तहको निर्वाचन सकिएको छ। जनताले स्पष्ट आदेश दिईसकेका छन्। राजनीतिक दल र तिनका नेताले आफ्नो वजन थाहा पाईसकेको हुनुपर्छ। कहिँ दलकै उम्मेदवारलाई दोहोर्याएर जनताले आफ्नो प्रतिनिधि छानेका छन्। कहिँ पत्याउनै नसकिने गरी नयाँ अनुहार चुनेका छन्। धरान, जनकपुर, काठमाडौं र धनगढी ठूला राजनीतिक दलले उनीहरुको अनुहार हेर्न चहकिला ऐना हुन्।
नयाँ संविधान कार्यान्वयन भएपछि स्थानीय र संसदीय निर्वाचनमा पहिलो पटक मतदात गरेको पुस्ता र यो स्थानीय निर्वाचन र आउँदो संसदीय निर्वाचनमा पहिलो पटक मतदान गर्ने पुस्तालाई ठूला दलले वास्तै गरेनछन्। सपनामा पनि नदेखेको र कल्पना समेत नगरेको परिणाम आएपछि ठूला दल र ठूला नेताले चीसो पानीले मुख धोएको हुनुपर्छ। नपत्याउने खोलाले बगाउँछ भनेर बूढापाकाले उसै भनेका होइन रहेछ। आखिर बगायो त!
नगर प्रमुखमा निर्वाचित भएपछि औपचारिक रुपमा पद ग्रहण गरेलगत्तै हर्क साङपाङ पानीको मुहानमा पुगे। धरानका जनतालाई पानीको अभाव भएको देखेर उनी वर्षौंदेखि चोकचोकमा कराउँदै आएका थिए। सत्ताले उनलाई भागमा बस्न आएको झिँगो जसरी लखटिरहेको थियो। जनताले हर्कलाई सत्ताको शिखरमा पुर्याईदिए, आज उनी सेवामा लागिसकेका छन्। परीक्षण हुन त बाँकी नै छ उनको पनि तर सुरुवात् कमसल छैन।
जनताले सेवक चाहेको हो राजनीतिमा भन्ने तथ्य यसपटक स्थापित गरिदिएको छ स्थानीय निर्वाचनले।
चर्चाको शिखरमा रह्यो काठमाडौं महानगरपालिका। रहने नै भयो किनभने स्थानीय शक्ति र अन्तर्राष्ट्रिय शक्ति केन्द्रको इपिसेन्टर छ यो शहरमा। यसको कम्पनले पूरै नेपाल कम्पित हुनेगरेको छ। स्थानीय निर्वाचनमा काठमाडौंले जे गर्यो त्यो सर्वथा नौलो प्रयोग गर्यो। यसलाई दूर्लभ प्रयोग पनि भन्न सकिन्छ।
कुनै पनि राजनीतिक शक्ति केन्द्रसँग अपरिचित बालेन्द्र साहलाई राजधानीको महानगरले अपनाएको छ। महानगर प्रमुखमा उनको चर्चा ठट्टाको बिषय जस्तै थियो। राजनीतिक दल र घरानियाँ उम्मेदवारकै नाममा जोडघटाउ चरिहेको थियो। तर मतदानकै दिनदेखि बालेन्द्रको नाम चर्चाको केन्द्रमा चढ्यो र चढेकोचढ्यै भयो। बालेन्द्र काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भैसकेका छन्।
नयाँ पालुवा निमोठ्ने गलत चलन बसेको छ नेपाली समाजमा। खासगरी काठमाडौं महानगरका परम्परागत शक्ति केन्द्रहरुले नयाँ पालुवा हुर्केको देख्न सहन सक्दैन। नयाँ लेपन घसेर पुरानैलाई अन्तिम श्वासप्रश्वास चलेसम्म शक्तिको केन्द्रमा विराजमान गराउन चाहन्छ यो केन्द्र। शक्तिको शिखरमा बसेको विरोधीलाई तरबारले गिराएपछि पनि उसकी नवयौवना विधवालाई जिउँदै उसको पोइसँगै चितामा जलाएर भयरहित हुने आदत बसेको छ काठमाडौंलाई। त्यसैले समयले नयाँ प्रयोग गरेको यो महानगर हजम गर्न सक्दैन।
बालेन्द्र साहले सपनाको बिस्कुन लाउन भन्दा पनि जनमतको विश्वास डगमगाउन नदिनु नै उनको सबैभन्दा ठूलो जीत हुनेछ। यसैपनि उनले काठमाडौं महानगरलाई आफ्नो सम्पूर्ण समय समर्पण गर्ने प्रतिवध्दता जनाएका छन्। महानगरपालिकाको परम्परागत सेवा प्रणाली र कार्यशैलीको सुधारमा उनको यो समय सदूपयोग भयो भने अहिलेलाई यही नै काफी हुनेछ। अबको पाँच वर्ष आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकसित र विश्वकै उत्कृष्ट शहर बनाउन लगाउने उनको प्रतिवद्धता स्वागतयोग्य छ।
राणाकालदेखि शक्तिमा अविच्छिन्न टाँसिने र अशक्त भएर परमधाम जानेबेलासम्म अर्को विकल्प देख्न सहन नसक्ने पुरानो रोगले थलिएको छ काठमाडौं। यही रोगको महासंक्रमणमा परेका छन् सबै आदर्श र दर्शन भिरेका दलहरु। नयाँ पुस्ता आउने, पुरानै नेताको रोगबाट संक्रमित हुने परम्पराको अन्त्य खोजिरहेको थियो राजनीतिले भन्ने तथ्य उजागर गरिदिएको स्थानीय निर्वाचनले। नेताहरुले यसको पहिचान गर्न नसकिरहेका बेला मतदाताले भने सफल प्रयोग गरेर देखाईदिएका छन्। जनताको सर्वथा नौलो प्रयोगबाट जन्मिएका हर्क, बालेन्द्र, मनोज र गोपीले यसको चूरो कुरो बिर्सन मिल्दैन।
६१ हजार ७६७ मतदाताको समर्थन पाएर महानगरको साँचो हात पारेका बालेन्द्रले ३८ हजार ३४१ मत पाएकी सिर्जना सिंह र ३८ हजार ११७ मतको समर्थन पाएका केशव स्थापितलाई पनि साथै लिएर अघि बढ्ने प्रयाश गरिरहनुपर्छ। प्रतिष्पर्धाको समय घर्किसकेको छ। खेल सकिएपछि सबै खेलाडीले खेलको नियम र प्रतिष्पर्धाको संस्कार जोगाउन एकचित्त रहनुपर्छ, जनताले यही चाहेका छन्। निषेधको राजनीतिले प्रगतिपथमा वाधा पुगेको पटक पटक भोगीसकेका छन्।
अन्यथा अर्थ नलागेमा शीर्ष स्थानमा विराजमान नेताहरुले अब विश्राम लिएकै राम्रो। देशले उनीहरुको सेवा पर्याप्त पाईसक्यो। सगरमाथा आरोहणको कीर्तिमान बनाएजसरी राजनीतिको उच्च पदमा पनि कीर्तिमान बनाउने कष्टकर यात्रालाई बिराम लगाएकै राम्रो हुनेछ। कुनै दल विशेषको कुरा होईन, राष्ट्रिय राजनीतिको मञ्चमा क्रियाशील उमेरले पाका नेतागणले समयको नाडी छाम्न अब ढिलाई नगरेकै उचित निर्णय हुनेछ। स्थानीय निर्वाचनमा मतदाताले प्रयोग गरेको परिवर्तनको अभ्यास परीक्षण प्रक्षेपणमात्रै हो। भोलि संसदीय निर्वाचनमा यसको व्यापक प्रयोग हुने प्रचूर सम्भावना छ। निश्चित भएर भन्न सकिन्छ, संसदीय निर्वाचनमा गरिने प्रयोगले राष्ट्रिय राजनीतिको नक्शा व्यापक फेरबदल गरिदिन पनि सक्छ। त्यसकारण इतिहासमा यथायोग्य योगदान गरिसकेका पहिलो पंक्तिका नेताले समयको सिरा र धमनी छामेर उचित निर्णय लिन विलम्ब नगरे नै वुध्दिमानी कदम ठहरिने छ।
समयले असान्दर्भिक बनाएर परित्याग गर्दा न इतिहास बच्छ न त भविष्य नै सुरक्षित रहनेछ। समयको भाषा नबुझ्दा इतिहासका कस्ताकस्ता राजनीतिक इमारत ढलेका छन् भन्ने उदाहरण हेर्न कतै दूरदेश चक्कर लाउनै पर्दैन। हाम्रै वरिपरी अनेक उदाहरण छन्। समयको गतिमाथि जबरजस्त लगाम लगाउन खोज्दा लगाम चुँडिएला तर गति रोकिन सक्दैन भन्ने पनि बिर्सन हुँदैन। संसद, सार्वजनिक सभा, सम्मेलन र छलफलका दृश्य यति भद्दा देखिन थालेका छन् कि अब विश्राम लिनैपर्छ भनेर नभनी भएकै छैन। यो कुनै आग्रह होइन सद्भाव हो, अब त नेताहरुले समयको पदचाप सुन्नै पर्ने भएको छ, देखिएको छ। नयाँ आए अब तिमीहरुको काम छैन भन्ने अर्थमा यसलाई ग्रहण नगरियोस्। आफैंभित्रका नयाँलाई अगाडि बढाएर पनि समयको सम्वोधन गर्न सकिन्छ त्यसो गर्न नसकिने होइन।
जनताले नयाँ नेता खोजीरहँदा जिम्मेवारी पाएका नयाँ नेताले विश्वास जोगाउन सक्नुपर्छ। अहिले पाएको विश्वास जोगिन सकेन भने त्यो चैं सबैका लागि दूर्भाग्य हुनेछ।
सबैलाई चेतना भया!
प्रतिक्रिया