काठमाडौं– हाल विश्वका विभिन्न देशमा फैलिरहेको सरुवा रोग मङ्की पक्सप्रति सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। नेपाल पनि उक्त रोगको जोखिममा रहेको भन्दै मन्त्रालयले सचेत रहन सबैमा आग्रह गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा हालसम्म मङ्की पक्सका संक्रमित नदेखिएको बताए। तर, संक्रमण हुने जोखिम रहेकाले सचेत रहनुपर्ने उनको भनाइ छ।
मङ्की पक्स भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा यो रोग सर्छ। जनावर तथा संक्रमित मानिसको र्याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट यो रोग सर्ने गर्दछ।
श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरीरमा प्रवेश गरेर पनि यो रोग सर्ने गर्दछ। बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि मङ्की पक्सको भाइरस सर्ने गर्छ।
यो रोग लागेमा सुरुवातमा ज्वरो आउँछ। सामान्य ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिने, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने जस्ता लक्षण देखिन्छ। यस्तै, टाउको, ढाड र मांसपेशी दुख्ने, शरीरका ग्रन्थी बढ्ने लक्षण पनि देखा पर्छ। यो रोगको लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैँ हराउने गर्दछ।
बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने मन्त्रालयले जनाएको छ।
मङ्की पक्सबाट बच्नका लागि मङ्की पक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमति व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेशनमा राख्ने गर्नुपर्दछ। यस्तै, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पीपीई लगाउने, नियमितरूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाडा तातो पानीले धुने, सङ्क्रमतिको सम्पर्कमा आएका सहत र ठाउँ निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नुपर्छ ।
स्वास्थ्य मन्त्रालयले मङ्की पक्सको सामान्य लक्षण, जस्तै ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया