पाकिस्तान पनि श्रीलंका जस्तै आर्थिक संकटमा

काठमाडौं। पूर्व पाकिस्तानी क्रिकेटर मोहम्मद हाफिजले हालै ट्वीटरमा एउटा सन्देश पोष्ट गरे, ‘लाहौरको पेट्रोल पम्पमा न तेल छ, न एटिएमबाट पैसा निस्किन्छ।’

उनको त्यो सन्देशले पाकिस्तानमा ठूलो आर्थिक संकटको आशंका गरेको थियो। यसैबीच पाकिस्तानको शाहबाज शरीफ सरकारले डिजल र पेट्रोलको मूल्य ३० रुपैयाँ प्रति लिटर बढाउने निर्णय गरेसँगै सर्वसाधारण पाकिस्तानीको ढाड महंगीले सेकिने निश्चित छ।

पाकिस्तानमा पछिल्लो समय बढ्दै गएको महंगी, कीर्तिमानतर्फ लम्किएको तेलको मूल्य, अस्थिर राजनीतिक माहौल र कमजोर आर्थिक अवस्थाले कुनै पनि बेला यो देशमा श्रीलंका जस्तै आर्थिक संकट नआउला भन्न सकिने अवस्था छैन। 

कमजोर आर्थिक अवस्थामा रहेको पाकिस्तानमा बढेको तेलको मूल्यपछि अब पेट्रोलका लागि सर्वसाधारणले प्रतिलिटर १ सय ८० पाकिस्तानी रुपैयाँ तिर्नुपर्ने छ। यस्तै, डिजलको दाम १ सय ७४ रुपैयाँ प्रतिलिटर हुनेछ। पेट्रोल र डिजलको दाम बढेपनि पम्पमा गाडीहरूको लावालस्कर देखिन्छ। 

बढेको मूल्यमा पनि पाकिस्तानी सरकारले सब्सिडीलाई हटाएको छैन। अहिले पनि सरकारले प्रति लिटर डिजेलमा ५६ दशमलव ७१ रुपैयाँको सब्सिडी, पेट्रोलमा पनि त्यस्तै २१ दशमलव ८३ रुपैयाँ र मट्टितेलमा १७ दशमलव ०२ रुपैयाँ दिएको छ। 

पाकिस्तानले आर्थिक सुधारका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट ९ सय मिलियन डलर कर्जाका लागि आवेदन दिएको छ। तर, उसले तेलमा दिइरहेको सब्सिडीलाई जुन बेलासम्म हटाउदैन, कोषले उसलाई कर्जा दिने सम्भावना न्युन छ। फेरि सब्सिडीको प्रावधान हटाएको खण्डमा सामान्य जीवनयापन गरिरहेका पाकिस्तानी जनतालाई ठूलो आर्थिक भार पर्नेछ। 

पाकिस्तानले सन् २०१९ मा पनि अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ६ अर्ब डलर आर्थिक सहायता लिएको थियो। यसमा कोषले ३ अर्ब डलर उपलब्ध गराए पनि बाँकी अझै उपलब्ध गराएको छैन। यही सेरोफेरोका बीच शरीफ सरकारले पुनः ९ सय मिलियन डलरको थप आर्थिक प्याकेज माग गरेको छ। उसले कोषलाई मनाउनकै लागि पेट्रोलियम पदार्थमा बृद्धि गरेको भनाई विपक्षीको छ। यसले जनताको जीवनस्तरमा ठूलो असमानता ल्याउने पक्का छ। 

पाकिस्तानी समाचार एजेन्सीहरूले पेट्रोलियम पदार्थको मूल्यबृद्धि पछि बिजुलीको मूल्य पनि बढाउने तयारीमा सरकार लागेको बताएका छन्। १ जुनदेखि प्रति युनिट ५ रुपैयाँको दरले मूल्यबृद्धि हुन लागेको रिपोर्टमा उल्लेख छ। मूल्यबृद्धि भएको खण्डमा पाकिस्तानमा बिजुली प्रति युनिट १२ रुपैयाँ पुग्ने छ। 

हालै केही महिनाअघि पाकिस्तानले ग्यास, कोयला र फर्नेस आयलबाट सञ्चालन हुने बिजुली सयन्त्रलाई बन्द गर्ने निर्णय गरेको थियो। जसका कारण गर्मी महिनामा बिजुली कटौतीले स्थानीयवासीको अवस्था नाजुक बन्न थालेको छ। 
पाकिस्तानमा विदेशी मुद्रा संचिती यो महिना तल खस्किएर १० दशमलव १ अर्ब डलर पुगेको छ। इमरान खानको अघिल्लो सरकारसम्म पनि यो १६ अर्ब डलरभन्दा माथि थियो। 

पाकिस्तानमा अहिले पेट्रोल–डिजल लगायत आवश्यक सामान खरिद गर्न दुई महिनाको पैसा मात्र बचेको छ। दिनहुँ विदेशी मुद्रा भण्डार घट्दै गइरहेको छ। ६ मेको सप्ताहन्त यस देशसँग १६ दशमलव ४ अर्ब डलरको भण्डार थियो, जुन सन् २०१९ को डिसेम्बर यताकै सबैभन्दा कम विदेशी मुद्रा भण्डार हो। पाकिस्तानमा सन् २०१६ को अक्टुबरमा सर्वाधिक १९ दशमलव ९ अर्ब डलर मुद्रा भण्डार थियो। 

पाकिस्तानले आर्थिक संकटबाट जोगिन ३८ वटा ‘लक्जरी’ बस्तुको आयातमा रोक लगाएको छ। अहिले पाकिस्तानमा डलरको मूल्य उच्च विन्दुमा पुगेको छ। एक अमेरिकी डलर बराबर २ सय २ रुपैयाँ ९ पैसा भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले दिने वाचा गरेको ६ अर्ब डलरको निकासीमा ढिलाई भएका कारण यस्तो अवस्था आएको विज्ञहरूले बताएका छन्। 

गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा डलरको तुलनामा पाकिस्तानी रुपैयाँ २५ प्रतिशतले कमि आएको छ। अझ, पछिल्लो १३ महिनायता रुपैयाँ लगातार तल झरिरहेको छ। १० अप्रिलमा अविश्वासको प्रस्ताव ल्याएर इमरान खान सरकारलाई अपदस्त गर्दा पाकिस्तानी रुपैयाँको मूल्य डलरको तुलनामा १ सय ८२ दशमलव ९३ रुपैयाँ थियो। यतिबेला पाकिस्तानी रुपैयाँमा ७ प्रतिशतले कमि आइसकेको छ। 

विश्व बैकले हालै सार्वजनिक गरेको रिपोर्टमा पाकिस्तान विश्वमा सबैभन्दा बढी कर्जा लिने १० औं देशको सूचिमा पर्छ। पाकिस्तानले सबैभन्दा बढी ऋण चीनसँग लिएको छ। 

पाकिस्तानको अर्थ मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा सन् २०१३ मा पाकिस्तानले विदेशबाट ४४ दशमलव ३५ अर्ब डलर ऋण लिँदा चीनको लगानी ९ दशमलव ३ प्रतिशत थियो। तर, आइएमएफले २०२१ म सार्वजनिक गरेको रिपोर्टमा पाकिस्तानको विदेशी ऋण ९० दशमलव १२ अर्ब डलर पुगिसकेको छ। जसमा चीनबाट मात्र उसले २७ दशमलव ४ प्रतिशत अर्थात २४ दशमलव ७ अर्ब डलर ऋण लिएको छ। 

पाकिस्तानको आर्थिक संकट श्रीलंका उन्मुख मानिन्छ। सन् २०२३ को मार्चसम्म पाकिस्तानले २० अर्ब विदेशी ऋण चुक्ता गरिसक्नुपर्ने छ। अहिले पाकिस्तानको अवस्था हेर्दा त्यो सम्भव देखिदैन। पाकिस्तान यतिबेला काम गर्ने दिन घटाएर इन्धन जोगाउने अभियानमा छ। यदी यो सम्भव भए एक वर्षमा उसले २ दशमलव ७ अर्ब डलर मात्र जोगाउन सक्छ। जुन अपर्याप्त मानिन्छ। 

पाकिस्तानको आर्थिक अनुसन्धान एजेन्सी (एफबीआर) का पूर्व अध्यक्ष सैयद शब्बर जैदीले देशको अवस्था श्रीलंका उन्मुख भएको बताएका छन्। उनले पाकिस्तान डिफल्टरको रूपमा उभिन लागेको तर्फ इंकित गरेका छन्। 
 

प्रतिक्रिया