जोमसोम। प्रतिकूल मौसमका कारण बिहानदेखि बेपत्ता तारा एयरको विमान खोज्न नेपाली सेनाको विशेष टोलीलाई हम्मेहम्मे परेको छ। दिउँसो थासाङ गाविसको घाँसा वरिपरि बाक्लो कुहिरो तथा पानी परेपछि सेनाको हेलिकोप्टर विमान दूर्घटनाको आशंका गरिएको धौलागिरीको टिटी लेकसम्म पुग्न सकेको छैन।
उद्धारमा यहाँ आएको हेलिकोप्टर पुनः सोमसोम फर्किएको नेपाली सेनाको श्रोतले दृश्यटिभीलाई जानकारी गरायो। ‘हेलीमा जाने अवस्था छैन। त्यसैले विमान जोमसोम फर्किएको अवस्था हो,’श्रोतले भन्यो।
धाँसाबाट खोजी कार्यका लागि टिटी लेकतर्फ लागेको सेनाको उद्दार टोली न्यौरीकोटबाट माथि लागेको छ। स्थानीय व्यक्तिदेखि सेना गरेर करिब सयको हाराहारीमा खोजी कार्यमा तैनाथ रहेको टोली आज राती (आइतबार) ११ बजे टिटी लेकसम्म पुग्नसक्ने अनुमान लगाइएको छ।
विमानमा १९ यात्रुसहित २२ जना सवार थिए। विमानलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेलले चलाइरहेका थिए भने विमान परिचारिका किश्मी थापा पनि सवार थिइन। विमानमा १३ नेपाली, ४ भारतीय र २ अन्य मुलुकका नागरिक छन्। पोखराबाट ९ बजेर ५५ मिनेटमा उडेको विमान १० बजेर २० मिनेटमा जोमसोममा अवतरण गर्नुपर्ने थियो। तर, यसअघि नै विमान बेपत्ता भएको थियो।
प्रतिक्रिया