काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की देशको द्वन्द्व ग्रस्त खार्किभ क्षेत्रको अग्रपङ्क्तिमा पुगेर त्यहाँ तैनाथ सैनिकहरूसँग भेट गरेका छन्। फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता किएभबाहिर यो उनको पहिलो भ्रमण हो।
बुलेट प्रुफ भेस्ट लगाएर खार्किभ सहरमा भग्नावशेषहरू अवलोकन गर्दै गरेका उनका तस्बिरहरू सार्वजनिक भएका छन्।
जेलेन्स्कीले सैनिकहरूलाई भनेका छन्,‘तपाईँहरू हरेकको सेवाका लागि म धन्यवाद दिन चाहन्छु।’ तर, लगत्तै उनले स्थानीय सुरक्षा प्रमुखलाई सहरको ूरक्षा नगरेकोू आरोपमा बर्खास्त गरेका छन्।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभ करिब १५ दिन जति शान्त रहे पनि रुसले हालैका दिनहरूमा पुनः गोलाबारी सुरु गरेको छ।
युद्धको पाँच महिनासम्म युक्रेनको यो सहरले तीव्र बमबारीको सामना गरेको थियो। यो सहरका अग्ला घरहरू भग्नावशेषमा परिणत भएका तस्बिरहरू सार्वजनिक भएका थिए।
एप्रिल र मेमा रुसी फौजहरू यो सहर आसपासका क्षेत्रबाट बिस्तारै पछि हटेका थिए। रुसी फौज पछि हटेपछि सहरबाट विस्थापित भएका कतिपय मानिस पुनः फर्किएका थिए।
रुसी आक्रमणपछि बन्द रहेको यहाँको मेट्रो सेवा समेत पहिलो पटक पुनः सुरु भएको थियो। तरऽ यो सहर अझैसम्म पनि रुसी हतियारबाट प्रहार गर्न सकिने क्षेत्रमै छ। जेलेन्स्कीको भ्रमणलगत्तै पनि सहरमा कैयौँ ठूला विस्फोटका आवाज सुनिएका थिए।
जेलेन्स्कीको कार्यालयले टेलिग्राममा राखेको भिडिओमा भनिएको छ,‘खार्किभ क्षेत्रमा २,२२९ भवन क्षतिग्रस्त भएका छन्। हामी तिनलाई पुनर्निर्माण गर्छौँ र पुरानै अवस्थामा फर्काउँछौँ। खार्किभ मात्रै होइन दुष्टहरू आएका सबै सहर र गाउँहरूमा पनि।’
भिडिओमा युक्रेनी सैनिकहरूले राष्ट्रपति जेलेन्स्कीलाई युद्धबाट क्षति भएका स्थानको भ्रमण गराएको देखिन्छ।
प्रतिक्रिया