ऋण दिने मामिलामा उदारता देखाउने देशले अहिले निकै सावधानी अपनायो : पाकिस्तानी अर्थमन्त्री

काठमाडौं– पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले ऋण दिने मामिलामा उदारता देखाउने देशले अहिले निकै सावधानी अपनाइरहेको बताएका छन्।

ब्लूमबर्ग न्यूजसँग मिफ्ताहले भने, ‘हामीले साउदी अरेबिया, दुबई र अन्य देशहरूसँग कुरा गर्यौं। उनीहरू पैसा दिन तयार छन्, तर सबैले पहिले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) जानुपर्छ भन्छन्।'

यसअघि २०१८ मा पनि पाकिस्तान आर्थिक कठिनाइको सामना गरिरहेको थियो, तर त्यसपछि आईएमएफमा जानुअघि चीन, साउदी अरब र यूएईबाट सहयोग प्राप्त भएको थियो। पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा लगातार गिरावट आएको छ। गत महिना यसको मुद्रा रुपैयाँ ८ प्रतिशतले अवमूल्यन भएको थियो।

गत साता पाकिस्तानको शाहबाज सरिफ सरकारले पेट्रोलको मूल्य प्रतिलिटर ३० रुपैयाँ बढाउने निर्णय गरेको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिने शर्त पूरा गर्न यस्तो गरिएको बताइएको छ।

पाकिस्तानमा एक लिटर पेट्रोलको मूल्य अहिले १७९.८८ रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले सरकारले पेट्रोलमा प्रतिलिटर ५६ रुपैयाँ अनुदान दिइरहेको र उनको सरकारले प्रतिलिटर ३० रुपैयाँले अनुदान कटौती गरेको बताए।

पाकिस्तानको आर्थिक अवस्था नाजुक छ। गत हप्ता पाकिस्तानले आयात घटाउन र विदेशी मुद्रा सञ्चिति गर्न सबै गैर-आवश्यक विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध लगाएको थियो। यो अवस्थालाई पाकिस्तानमा आर्थिक संकटकाल भनिएको छ। 

पाकिस्तानको चालू खाता घाटा १७ अर्ब डलर नाघेको छ। यहाँको मुद्रा पनि एक डलरको तुलनामा दुई सय रुपैयाँ पुगेको छ।

पाकिस्तानको सूचना तथा प्रसारणमन्त्री मरियम अरंगझेबले प्रतिबन्ध लगाइएका विलासी सामानहरु थोरै मानिसहरुले प्रयोग गर्ने गरेको बताइन्।

प्रतिक्रिया