काठमाडौं। गत आइतबार पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरलाइन्सको विमान मुस्ताङको मानापाथी हिमालको फेदमा दुर्घटनाग्रस्त भयो। यसमा यात्रा गरिरहेका चालक दलका सदस्यसहित २२ जनै यात्रुको निधन भयो।
यो घटनाले एकपल्ट फेरि नेपाल विमान यात्राका लागि सबैभन्दा जोखिम ठाउँ भएको सन्देश विश्वभरी गएको छ। विदेशी मिडियाले नेपालमा विमान सुरक्षाको अवस्था दयनीय भएको भन्दै नेपाली विमानलाई युरोपमा यात्रा गर्न नदिनुको कारण स्पष्ट पार्न खोजेका छन्। तर, सरकारी निकाय हतारमा मौसमलाई दोष लगाएर सधै उम्किने गरेको छ।
एभिएसन सेफ्टी नेटवर्कको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा नेपालमा १९ वटा विमान दुर्घटना भइसकेको छ।
विश्लेषकहरू मौसममा हुने परिवर्तन, बाक्लो हुस्सु र पहाडी भूबनोटका कारण विमान उडाउनका लागि नेपाल जोखिमपूर्ण देश भएको दावी गर्छन। तर, यसमा पनि विमान कम्पनीहरूले उडान अगाडि अपनाउनुपर्ने सावधानी राम्रोसँग नअपनाएको देखिन्छ।
नगरिक उड्डयन प्राधिकरणको सन् २०१९ को सुरक्षा रिपोर्ट अनुसार विमान चालकका लागि नेपालको पहाड सबैभन्दा ठूलो चुनौति बन्न थालेको छ। नेपालमा विश्वको सर्वोच्च हिमाल सगरमाथालगायत १४ वटा उच्च पहाड छ। खराब मौसममा विमान उडाउनु सबैभन्दा खतरा मानिन्छ। तर, यो जोखिम हरेक पल्ट विमान कम्पनीले लिइरहेका छन्।
छोटो दूरी र पहाडी क्षेत्र भएका कारण सानो ट्वीनेटर विमानहरू नेपालको आकाशमा बढी प्रयोग हुन्छ। तर, प्राधिकरणको रिपोर्टमा १९ वा त्योभन्दा कम सिट भएको विमानमा दुर्घटनाको सम्भावना धेरै हुने बताइएको छ। हालै दुर्घटनामा परेको तारा एयरको विमान ४३ वर्ष पुरानो भएको तथ्य बाहिर आएको थियो। नेपालमा विमान दुर्घटना हुनुको अर्को कारण निकै पुराना विमान अनवरत रूपमा सञ्चालनमा आउनु पनि हो।
सरकारले हालै दुर्घटनामा परेको विमानको छानवीनका लागि ५ सदस्यीय समिति गठन गरेको छ। यस कमिटीलाई विमान दुर्घटनाको कारण पत्ता लगाएर सुझाव दिन भनिएको छ।
नेपालको पछिल्लो १० विमान दुर्घटना
नेपालको १० विमान दुर्घटनामा २४ फेब्रुअरी सन् २०१६ मा तारा एयरकै विमान दानामा दुर्घटनाग्रस्त भएको थियो। यसमा २३ जनाको निधन भएको थियो। त्यही वर्ष २४ सेप्टेम्बरमा यति एयरलाइन्सको जेटस्ट्रिम भैरहवा विमानस्थलमा दुर्घटनाग्रस्त भए पनि कुनै मानवीय क्षति हुन पाएन।
यस्तै, २७ मे २०१७ मा समिट एयरको विमान लुक्ला एयरपोर्टमा दुर्घटनाग्रस्त हुँदा २ जनाको निधन भएको थियो। यही वर्ष ३० मेमा नेपाल आर्मीको एम–२८ स्काइट्रक बाजुरा एयरपोर्टमा दुर्घटनाग्रस्त हुँदा एक जनाको निधन भएको थियो। यही वर्ष २८ नोभेम्बरमा तारा एयरकै ट्वीनेटर सिमिकोट एयरपोर्टमा दुर्घटनाग्रस्त भएको थियो। यतिबेला कसैको ज्यान गएन।
१२ मार्च २०१८ मा बंगलादेशको युएस बंगला एयरलाइन्स काठमाडौं एयरपोर्टमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाले ज्यान गुमाउनु पर्यो। यही वर्ष १६ मेमा मकालु एयरको विमान बाहुनखर्कमा दुर्घटनाग्रस्त भएको थियो। यतिबेला २ जनाले ज्यान गुमाए। ९ जुनमा फेरि तारा एयरको ट्वीनेटर जुम्ला एयरपोर्टमा दुर्घटनाग्रस्त भएको थियो। तर, कुनै मानवीय क्षति भएन।
१४ अप्रिल २०१९ मा समिट एयरको विमान लुक्लामा दुर्घटनाग्रस्त हुँदा ३ जनाको ज्यान गएको थियो।
प्रतिक्रिया