मस्को (एजेन्सी) रुसले युक्रेनको ७० प्रतिशत महत्वपूर्ण शहरमा कब्जा जमाइसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ। रुसी सरकारी मिडिया आरआइए नोवोस्तीले जनाए अनुसार आफूले कब्जा जमाएको युक्रेनको क्षेत्रमा जनमत संग्रह गराएर रुसमा गाभ्न रुसी अधिकारीहरू जुटेका छन्।
रुसी फेडरेशन काउन्सिलका सदस्य सर्गेई त्सेकोभलाई उधृत गर्दै रुसी मिडियाले लेखेको छ, यस वर्ष खेरसन र जापोरिज्जियामा जनमत संग्रह हुनसक्छ।
रुसी सेनाले खेरसनको अधिकांश क्षेत्रमा कब्जा जमाइसकेको छ। यहाँ अझै लडाई जारी छ। जापोरिज्जिया क्षेत्रको एक चौथाई भाग पनि रुसी सेनाको कब्जामा छ। ‘मेरो विचारमा रुसले नियन्त्रणमा लिएको सबै क्षेत्रलाई रुसी संघमा पुनः एकीकरण गर्ने यो राम्रो मौका हो। मुलभूत रुपमा यी क्षेत्र पहिले रुसकै थिए,’ त्सेकोभले भनेका छन्।
खेरसनलाई १८ औं सताब्दीको अन्त्यमा जार शाषनको बेला रुसमा गाभिएको थियो। तर, सन् १९९१ मा स्वतन्त्र भएपछि युक्रेनतर्फ जोडियो।
फेडरेशन काउन्सिलका अर्का सदस्य एन्ड्री टुर्चाकले पनि खेरसन, लुहान्स्क र डोनेट्स्क क्षेत्रहरू रुसमा गाभिने बताएका छन्। तर, यसका लागि यी क्षेत्रका बासिन्दासँग राय लिने बताएका छन्।
‘परिस्थिति तयार हुने वित्तिकै, युद्ध रोकिएपछि जनमत संग्रह गरिनुपर्छ,’ सत्तारुढ युनाइटेड रसिया पार्टीका बरिष्ठ सदस्य तुर्चाकले बताए।
‘म ढुक्क छु जापोरिज्जियाका बासिन्दाले पनि रुसको निर्णयमा समर्थन जनाउँछन्,’ उनले भने।
प्रतिक्रिया