काठमाडौं । आज जेठ १९, राजा वीरेन्द्रसहित पुरै परिवारको वंशनाश भएको दिन। २०५८ साल जेठ १९ गते आजकै दिन राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित राजपरिवारका ९ सदस्यको एकै स्थानमा हत्या भएको थियो ।
हत्याको दिन युवराज दीपेन्द्रले राजपरिवारका सबै सदस्यलाई नारायणहिटी दरबारमा रात्री भोजको आयोजना गरेका थिए । भोजमा राजा वीरेन्द्रका भाइ धीरेन्द्र पनि सहभागी थिए। तर, राती ९ बजे दीपेन्द्रले एक्कासी गोली हानेर पहिले सबैको हत्या गरेको र पछि आफूलाई पनि गोली हानेका थिए। घटनामा राजा वीरेन्द्रका कान्छा छोरा निराजन, छोरी श्रृतिको पनि निधन भएको थियो। यो घटनामा राजा वीरेन्द्रकी दिदी शारदा र उनको श्रीमान कुमार खड्ग विक्रम शाह, दिदी शान्ति र प्रिन्सेस जयन्तीको निधन भएको थियो। राजा वीरेन्द्रकी बहिनी शोभा, श्रृतिको श्रीमान कुमार गोरख, पूर्व रानी कोमल शाह र केतकी चेस्टरलाई भने चोट लागेको थियो।
यो घटनापछि देश पुरै शोकमा डुबेको थियो। तत्कालिन सरकारले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा दुई सदस्यीय छानविन कमिटी गठन गरेको थियो।
यो कमिटीले दरबार हत्याकाण्ड दीपेन्द्रले घटाएको प्रमाणसहित आफ्नो रिपोर्ट सरकारलाई पेश गरेको थियो। तर, धेरै नेपाली रिपोर्टमा उल्लेख भएको कुरालाई अहिले पनि मान्ने पक्षमा देखिदैनन्। उनीहरू विदेशी जासुसी सयन्त्रले दरबार हत्याकाण्ड गराएको मान्छन्।
अझ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले त पूर्वराजा ज्ञानेन्द्रले यो घटना गराएको भन्दै लेख नै लेखेका थिए। तर, पछिल्लो समय उनले आफ्नो भनाईलाई संसोधन गर्दै तत्कालीन अवस्थामा आफूलाई त्यस्तो लागेको बताएका छन्।
रात्रीभोजमा सहभागी प्रत्यक्षदर्शीले दीपेन्द्रले नै कोठाभित्रबाट अटोमेटिक राइफल ल्याएर एक्कासी चलाएको बयान दिएका थिए।
जेहोस्, दरबार हत्याकाण्डपछि नेपाली राजनीतिमा दूर्लभ मानिने घटनाक्रम सुरु भएको थियो। यो घटनामा ५५ वर्षका राजा वीरेन्द्र मारिए। यसपछि कोमामा रहेका दीपेन्द्रलाई राजा घोषित गरियो। उनको पनि ज्यान गएपछि ज्ञानेन्द्र शाहलाई राजा घोषित गरियो।
तर, राजा ज्ञानेन्द्रको सक्रिय शासन गर्ने अभिलाषापछि युद्धरत नेकपा माओवादी पार्टीसहित बनेको अन्तरिम संसदले १५ जेठ २०६५ मा सधैका लागि राजतन्त्रको उन्मुलन गर्ने घोषणा गर्यो। यसपछि २ सय ४० वर्ष लामो राजतन्त्रको अन्त्य भयो।
प्रतिक्रिया