अर्काको पोशाकमा साम्राज्य मच्चाउने चिनौं

लुप्त र पराजित सत्य अनि ठूलो तामझाम सहित विश्वमा एक छत्र शासन गरिरहेको विजयी झूठको प्रसङ्ग हो यो! उन्नाइसौं शताव्दीको एउटा लोकप्रिय आख्यान अनुसार एक दिन सत्य र झूठको अकस्मात भेट भयो।

अनि झूठले सत्यसँग भनेछ– ‘आज त साह्रै गज्जबको सुन्दर दिन परेछ।’

सत्यले आकाशतिर हेर्यो साँच्चैको सुन्दर दिन रहेछ, अनि भावबिभोर भएको प्रतिक्रिया व्यक्त गर्यो।
 
सत्य र झूठ दुबैले लामो समयसम्म मस्ती गरे, दंगदास परे।

यसै क्रममा उनीहरू एउटा तलाउको छेउमा पुगे। झूठले सत्यलाई भन्यो– ‘आहा कति स्वच्छ रहरलाग्दो पानीको तलाउ रहेछ आऊ सँगै पौडी खेलौं, नुहाई धुवाई गरौँ।’

सत्यको मनमा शङ्का त थियो तर पानी हेर्यो स्वच्छ र निर्मल छ, पानी यसो छोयो मन आल्हादित भयो। दुबैले लुगा फुकाले। तलाउको छेउमा लुगा राखेर दुवै पानीमा खेल्न, रमाउन लागे।

त्यत्तिकैमा हतार हतार झूठ तलाऊबाट बाहिर निस्कियो, सत्यको लुगा लगायो र सुँइकुच्चा ठोक्यो। सत्य रिसाउँदै बाहिर निस्कियो। आफ्नो लुगा भेट्छु कि भनेर यता दौड्यो, उता दौड्यो तर झूठलाई कतै भेटेन।

बस्त्रहीन नाङ्गै सत्य यता-उता गरिरहेको देखेर दुनियाँले सत्यलाई तिरस्कार, घृणा र उपेक्षा गर्न लागे। मानिसहरू सत्यसँग रिसाएर ऊबाट टाढै बस्न रूचाउन लागे। सत्यलाई छी छी(दुरदुर गर्न लागे।

मानिसहरूको निरन्तर घृणा, अपमान, उपेक्षा र तिरस्कार सहन नसकेर, आजित भएर सत्य त्यही तलाउमा फर्कियो। 

पीडा र बेदनाले व्यथित भएर, त्यही पोखरीमा तल्लो भागमा लुकेर बस्न थाल्यो।

तलाउको पींधकै हिलोमा सत्य विलुप्त भयो। निसहाय, निरूपाय, पराजित, अपमानित, तिरस्कृत, लाञ्छित र घृणाले निसास्सिएको सत्य कता हरायो कता!

उता झूठ भने सत्यको लुगा लगाएर संसारका सबै भूभागका शहर, बस्ती, स्कूल, कलेज, विश्व विद्यालय, सरकार, संसद, संवैधानिक निकाय, मिडिया सबैतिर रजगज गर्न लाग्यो। 
ऊ विश्वको एक छत्र सम्राट बन्न गयो।

सबै मुलुक, समाज र विश्वको आवश्यकता झूठ, भ्रम र नाराले नै पुरा गर्न लाग्यो।

झूठले सबैलाई सन्तुष्ट र आनन्दित बनाउन थाल्यो। मानिसलाई झूठ नै प्यारो, सुन्दर र मोहक लाग्न थाल्यो।

सबैतिर असत्यकै जयजयकार हुन लाग्यो!

झूठलाई नै संसारको एक मात्र सत्य बुझ्न र ग्रहण गर्न लागे। मानिसले सत्यको आवश्यकता, औचित्य र अस्तित्व स्वीकार्नै छोडे।

झन् नेपालमा....... 

सत्यको पोशाक लगाएर, आफूलाई नै सत्य दावी गर्दै सारा संसारमा साम्राज्य विस्तार गरिरहेको झूठका सम्वन्धमा विचार गर्न सक्ने क्षमता हराएका ज्ञान, विवेक र चेतनाशून्य मानिसहरूको भीडबाट अझै प्रताडित र बलात्क्रित हुनबाट जोगिन त्राहिमाम त्राहिमाम गर्दै सत्य हराएको सत्यको खोजी गर्ने साहश कसैले गर्न सक्छ कि सक्दैन थाहा भएन! तर मानव इतिहासमा सत्य सधैं पराजित, लुप्त र तिरस्कृत भइरहेको भने छैन। 

त्यस्तै पोखरीको हिलोमा सत्यको दिव्य प्रकाश छर्ने कमल पुष्पको वीजमा पो कतै सत्यले प्रवेश गरेको छ कि। 

भविष्यले बताउला! (सामाजीक सञ्जालबाट) 
 

प्रतिक्रिया