काठमाडौं– सोमबार मन्त्रिमण्डल हेरफेरको तयारी गरिएको छ। सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ। सोही अनुसार प्रधानन्त्री देउवाले मन्त्रिमण्डल हेरफेर गर्न लागेका हुन्।
एकीकृत समाजवादीबाट मन्त्रीका लागि सिफारिस भएकाहरूको सोमबार दिउँसो शपथ हुने तयारी गरिएको छ। सोमबार दिउँसो शपथका लागि तयारी अवस्थामा बस्न उनीहरूलाई बालुवाटारबाट खबर गरिएको छ।
एकीकृत समाजवादीको आइतबारको सचिवालय बैठकले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो। केसी राज्यमन्त्रीका लागि सफारिस भएका हुन्।
यस्तै, हाल सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ फिर्ता बोलाइएका छन्।
हाल स्वास्थ्य राज्यमन्त्री भएका खापुङलाई बढुवा गरेर स्वास्थ्यमन्त्री, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन, चौधरीलाई सहरी विकास, कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरिएको छ।
प्रतिक्रिया