भारतीय नोटमा टैगोर र कलामको प्रयोगको तयारी

काठमाडौं। छिमेकी देश भारतको मुद्रामा अहिलेसम्म तपाईहरूले राष्ट्रपिता महात्मा गान्धीको तस्वीर मात्र देख्नुभएको होला। तर, अब छिट्टै भारतीय मुद्रामा तपाईहरूले नोवेल विजेता साहित्यकार रवीन्द्रनाथ टैगोर र भारतमा ‘मिसाइलम्यान’ को उपमा पाएका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामको पनि वाटरमार्क तस्वीर देख्नु हुनेछ। 

भारतीय समाचार एजेन्सीहरूले अर्थमन्त्रालय र भारतीय रिजर्भ बैकको श्रोतलाई उधृत गर्दै भारतीय केही मुद्रामा कलाम र टैगोरको वाटरमार्क प्रयोग गर्ने विषयमा विचारबिमर्श गरिरहेको बताएको छ। 

टैगोरलाई उनको काब्य रचना गीताञ्जलीका लागि नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो। यस्तै, भारतको ११ औं राष्ट्रपति नियुक्त कलाम देशकै महान वैज्ञानिक हुन्। 

भारतीय रिजर्भ बैक र सेक्योरिटी प्रिन्टिङ एण्ड मिटिङ कर्पोरेशन अफ इन्डियाले आइआइटी दिल्लीका प्रो. दिलिप टि. सहनीलाई गान्धी, टैगोर र कलामको वाटरमार्कको नमुनाको दुई भिन्न सेट पठाएको छ। सहनीलाई दुवै सेटबाट एउटा छनोट गर्न तथा सरकारबाट निर्णयका लागि पेश गर्न भनिएको छ। वाटरमार्क परीक्षणका विज्ञ प्रो. साहनी इलेक्ट्रोम्याग्नेटिक इन्ट्रुमेन्टेशनका पनि विशेषज्ञ हुन्। यसै वर्ष उनी पद्यश्री अवार्डबाट सम्मानित भएका थिए। 

 भारतको रिजर्भ बैकले सन् १९६९ मा सय रुपैयाँको नोटमा पहिलो पल्ट महात्मा गान्धीको फोटो छापेको थियो। यो गान्धीको जन्म शताब्दी वर्ष थियो। नोटमा तस्वीरको पछाडि सेवाग्राम आश्रमको चित्र पनि कोरिएको थियो। गान्धीको हासिरहेको फोटो सन् १९८७ मा पहिलो पल्ट नोटमा छापिएको हो। हासेको फोटोसहित ५ सय रुपैयाँको नोट सन् १९८७ को अक्टुबरमा प्रकासित भएको थियो। यसपछि गान्धीको यो फोटो अन्य नोटमा पनि प्रयोगमा आयो। 

सोसल मिडियामा सुभाषचन्द्र बोस र सरदार भगत सिंहको फोटो नोटमा छाप्न माग उठ्दै आइरहेको छ। यदी टैगोर र कलामको फोटो भारतीय नोटमा छापिएको खण्डमा यी दुवै क्रान्तिकारी नेताको फोटो नोटमा छापिने दिन आउनसक्ने सम्भावना बढ्ने छ।
 

प्रतिक्रिया