काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आजदेखि उठ्ने

काठमाडौं– काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आज मंगलबारदेखि उठ्ने भएको छ। 

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका धादिङ तथा ककनी गाउँपालिका नुवाकोटका प्रतिनिधिबीच सोमबार भएको सहमति अनुसार मंगलबारदेखि फोहोर उठाउन लागिएको हो।

सहमतिपत्रमा सहरी विकास मन्त्रालयका तर्फबाट बन्चरेडाँडा फोहर व्यवस्थापन आयोजनाका निर्देशक रविन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, धुनिवेशी नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाका तर्फबाट गीताकुमारी शर्माले हस्ताक्षर गरेका छन्। 

शहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसहित प्रभावित क्षेत्रका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुको रोहबरमा यो सहमति भएको हो।

सहमतिअनुसार फोहोरलाई स्रोतमै छुट्याउने प्रक्रिया सुरु गर्दै हाल उपत्यकामा थुप्रिएका फोहोरलाई अहिलेकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाई लैजानका लागि मंगलबारदेखि नै उठाउने र माटोले फोहोर छोप्ने व्यवस्था मिलाइनेछ। 

यस्तै, काठमाडौं महानगरपालिकाले धुनिवेशी नगरपालिका वडा नम्बर १, ३, ४ र ककनीको वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोबास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य बीमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्ने र यो कामको सुरुवात एक हप्ताभित्र गर्ने प्रतिबद्धता जनाएको छ। 

काठमाडौंले साउन १ देखि  उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरी लैजाने व्यवस्था गर्ने र वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर ६ महिनाभित्र सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाएको छ। 

धुनिवेशी नगरपालिकाको वडा नम्बर १, ३, ४ र ककनीको १, २ र ३ का प्रभावित क्षेत्रका वडाहरुको  पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने सहमति भएको छ। 

यस्तै, शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि विभिन्न ५ वटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि १ करोड ७० लाख विनियोजन गरिएको जनाएको छ। 

प्रतिक्रिया