काठमाडौं– रुसी विदेशमन्त्री सर्गेई लाभरोभले वार्ताका लागि सर्बिया जान युरोपेली राष्ट्रहरूले हवाई क्षेत्र नदिएको दाबी गरेका छन्।
रुसलाई वार्ताको मञ्च दिन नचाहने ब्रसेल्सको निर्देशनमा ती राष्ट्रहरूले हवाई क्षेत्र नदिने निर्णय गरेको लाभरोभले आरोप लगाएका छन्।
मस्कोमा आयोजित पत्रकार सम्मेलनमा लाभरोभले यसलाई शत्रुतापूर्ण कार्य भनेका छन्। उनले भने, ‘यो अकल्पनीय घटना हो। यो कार्यले सार्वभौमसत्ता सम्पन्न देशको विदेश नीति अनुसरण गर्ने अधिकारमा बाधा पुर्याएको छ।’
सर्बिया जाँदै गरेको लाभरोभको विमानलाई बुल्गेरिया, उत्तरी मेसेडोनिया र मोन्टेनेग्रोले आफ्नो हवाई क्षेत्रबाट जान दिएका थिएनन्। सोमबार रुसी विदेशमन्त्री लाभरोभले बेलग्रेडमा सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुसिचसँग भेट गर्ने कार्यक्रम रहेको थियो।
युक्रेनमा रुसले आक्रमण गरेपछि धेरै युरोपेली देशले रुसी उडानमा प्रतिबन्ध लगाए पनि सर्बियाले रुससँग मैत्रीपूर्ण सम्बन्ध कायम राखेको छ। सर्बिया तेल र ग्यासको लागि रूसमा निर्भर छ। समाचार एजेन्सी रोयटर्सका अनुसार लाभरोभले सर्बियाली समकक्षीलाई आफ्नो यात्रामा कठिनाइका कारण मस्को भ्रमणको निम्तो दिएका छन्।
प्रतिक्रिया