ओखरपौवा ल्याण्डफिलमा फोहोर भन्दा मिथेनको गन्ध बढी

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ओखरपौवास्थित ल्याण्डफिल साइटमा वातावरण प्रदुषणको समस्या देखाएको छ । नास्टको यो दोस्रो अध्ययन हो । यसअघि २०७८ असार १ गतेको सम्झौताबमोजिम अध्ययन गरेर माघ १४ गते अध्ययन प्रतिवेदन बुझाएको थियो ।

‘अहिलेको गन्ध मापन गरिएको हो । हामीले साइटको माथिल्लो भागमा गएर पूर्व, पश्चिम, मध्य र दक्षिणतर्फको भागमा अलसेक्टोमिटर उपकरण प्रयोग गरेर गन्धको मापन गर्यौँ । नास्टका वरिष्ठ बैज्ञानिक डा. भोजराज पन्त भन्छन्’, ‘साइटको पूर्वतर्फ खोल्सोमा फोहोरको गन्ध अलि बढी छ । अन्य ठाउँमा फोहोरकोभन्दा मिथेन ग्याँसको गन्ध धेरै भेटियो । बाटोमा दक्षिणतर्फ गन्ध कम छ । हुनत, अध्ययन गरिएको समयमा हावाको वहावले पनि गन्धलाई फरक पार्छ ।’

डा. पन्तकाअनुसार साइटभित्रबाट मिथेन ग्याँसबाहिर ल्याउन भेन्ट नभएकोले भित्र धेरै ग्याँस भरिएको छ । यसलाई ड्रिल गरेर बाहिर ल्याउनुपर्छ । यसको व्यवस्थापनका लागि छिमेकी गाउँमा खाना पकाउने प्रयोजनका लागि वितरण गर्न सकिन्छ । साइटमा कति परिमाणमा ग्याँस छ ? कति निकाल्न सकिन्छ ? र कसरी वितरण गर्न सकिन्छ । यसका लागि थप अध्ययन आवश्यक पर्ने उनको भनाइ छ ।

महानगरका प्रमुख बालेन्द्र शाह भन्छन्, ‘साइट व्यवस्थापनका लागि गन्धसँगै पानी, माटोजस्ता क्षेत्रको अध्ययन गर्नुपर्छ । यसका लागि पनि हामीले नास्टलाई पत्राचार गरेका छौँ ।’ यसका आधारमा डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहभागी भएको टोलीले प्रारम्भिक अध्ययन गरेको छ ।

अध्ययनबाट प्राप्त जानकारी उल्लेख गर्दै प्रमुख शाहले भने, ‘लिचेड मिसिनु भन्दा अगाडि, लिचेड मिसिएको ठाउँ र लिचेड मिसिएको ठाउँभन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर प्रारम्भिक अध्ययन गरिएको छ । यी ठाउँबाट संकलन गरिएका ३ वटा नमूनाहरुको तुलनात्मक अध्ययनबाट स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा लिचेडको मात्रा धेरै देखिएको छ । यहीकारण जलमा बस्ने जीवजन्तुमा नकारात्मक असर परेको अध्ययनले देखाएको छ ।’

पानी प्रदुषण र लिचेड सम्बन्धी अन्तिम रिपोर्ट आएपछि अल्पकालीन मध्यकालीन र दीर्घकालीन समाधानका उपाय खोजिने प्रमुख शाहको भनाइ छ ।
यसैगरी अमृता पौडेल नेतृत्वको टोलीले सिसडोल साइटलाई गन्धमुक्त बनाउन बनाउन चाहिने जीवातुको मात्रा र छर्ने बिधि निक्र्यौल गरेको छ । यसका लागि प्रारम्भिक काम ३ दिन भित्र नै सुरु गर्ने गरि तयारी भएको छ ।

यस अघि नास्टको अध्ययन

काठमाडौँ महानगरले गएको बर्ष पनि साइटको वातावरणीय अवस्थाका बारेमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई अध्ययन गराएको थियो । प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीको संयोजकत्व गठित ६ सदस्यीय समितिले साइटको अध्ययन गरेको थियो । समितिको सदस्यमा नास्टका बैज्ञानिक डा. दीपाश्री रावल र जयश्री सिजापति, वातावरणबिज्ञ ईञ्जिनियर स्व. सूर्यमान शाक्य र महानगरका इञ्जिनियर सरकारदीप श्रेष्ठ सदस्य थिए भने सदस्य सचिवमा बरिष्ठ बैज्ञानिक अधिकृत डा. भोजराज पन्त थिए ।

त्यस अध्ययनले ल्याण्डफिल्ड साइट आसपासका १० ठाउँलाई अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ वटा स्थान कम प्रभावित भएको देखाएको थियो ।

अध्ययन समितिका सदस्य सचिव एवं नास्टका बरिष्ट वैज्ञानिक अधिकृत डा. पन्तका अनुसार, साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपंक्षी तथा मानव बसोबासमा परेको प्रभाव जस्ता बिषयलाई अध्ययनका क्रममा हेरिएको थियो ।

स्थलगत रुपमा गरिएको नमूना संकलनलाई प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयबासीको धारणाका आधारमा अति प्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको थियो । २०७८ असोज र कार्तिक महिनामा अध्ययन गरिएको थियो ।

प्रतिवेदनमा पृष्ठभूमि, अध्ययनको बिधि, बिगतका अभ्यास र कागजपत्रको बिश्लेषण, निष्कर्ष र शिफारिस समेटिएका छन् । त्यस्तै अनुसूचीहरुमा स्थलगत अध्ययनका क्रममा स्थानीयसँग गरिएको छलफल भएका भनाइहरु समेटिएका छन् ।

अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पु¥याएको असर, ल्याण्डफिल्ड साइट आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्याण्डफिल्ड साइटबाट निष्कासन भएको ग्याँसको अवस्था, साइटबाट उत्पन्न हुने धुलनशील धुलोको कणको अवस्था र यिनीहरुले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असर जस्ता बिषय समेटिएका थिए ।

यसका लागि लिचेड निष्कासन हुने १ ठाउँबाट लिचेडको, कोल्पु खोला १ ठाउँबाट भूमिगत र ४ ठाउँबाट सतही पानीको नमूना संकलन गरिएको थियो । त्यस्तै ल्याण्डफिल्ड साइटको ३ ठाउँबाट माटो, सिसडोलको २ वटा ठाउँबाट ग्याँस, ककनी गाउँपालिका वडा १ र २ का एक-एक वटा ठाउँबाट घुलनशील धुलोका कणका नमूना संकलन गरिएको थियो । त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो ।

मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्याण्डफिल्ड साइटको माथिल्लो भाग), सोति बालुवा, मंगटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ् जिल्लाको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंम्खडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी ४ वटा ठाउँ र काठमाडौको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।

यसै गरी ककनीका ८ वटा र धुनिबेँसीका २ ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । जसमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ्, चाउथी ए र बि, कागती गाउँ, शिवालय माध्यमिक बिद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिका अन्तर्गत पाठक गाउँ, डिगाउँ गरी २ वटा ठाउँ छन् ।

ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट््याङ्की डाँडा गरी २ ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ्को धुनिबेँसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी २ वटा ठाउँ कम प्रभावित ठाउँमा परेका छन् ।

प्रतिक्रिया