फोहोर नउठाए काठमाडौंका जनता चुप बस्दैनन्ः सांसद श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका सांसद् कृष्णगोपाल श्रेष्ठले काठमाडौं दुर्गन्ध र फोहोरले आक्रान्त भएको र यसले काठमाडौंवासी चिन्तित भएको बताएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले ५० मिटर दुरीमा फोहोरको पहाड भइसकेको बताए। काठमाडौंका सडक हिँड्नै नसक्ने गरी दुर्गन्धित भइरहेको उनले बताए । यस विषयमा तालुकदार मन्त्रालयका मन्त्रीको जवाफ चाहेको भन्दै उनले सभामुखमार्फत् रुलिङको माग गरेका छन् ।

उनले भने,’यस विषयमा सरकारले के हेरिरहेको छ ? सरकारको आधिकारिक धारणा के हो? फोहोर कहिले उठ्छ ? तत्काल फोहोर उठ्छ कि उठ्दैन? सरकारको तालुकदार मन्त्रालयका मन्त्रीले जवाफका लागि सभामुखको रुलिङ चाहन्छु ।’

काठमाडौको अवस्था यस्तै रहे यहाँका जनता चुप लागेर नबस्ने र त्यसको परिणाम गम्भीर हुने चेतावनी दिए । उनले फोहोरको समस्या गम्भीर भइरहेको र फोहोर तत्काल उठ्नुपर्छ भन्दै बल प्रयोग गरेर समस्याको समाधान खोज्नुभन्दा समझदारीको बाटो खोज्नुपर्ने उनले बताए । काठमाडौं दुर्गन्धित बन्दा अन्तर्राष्ट्रिय रुपमा बदनाम भएको पनि श्रेष्ठको भनाइ छ।


 

प्रतिक्रिया