एसियन कप छनोट

बलियो जोर्डनसँग २–० ले नेपाल पराजित, गोलकिपर दीपको प्रभावशाली खेल

काठमाडौं । बलियो जोर्डनसँग नेपाल २–० गोलले पराजित भएको छ। राष्ट्रिय टोलीका १० नियमित खेलाडीलाई बाहिर राख्दै युवा टोली बोकेर कुवेतको जाबिर अल अहमद रंगशालामा बुधबार राती उत्रिएको नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा जोर्डनसँग पराजित भएको हो। 

नेपालले पहिलो हाफको खेलमा जोर्डनलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, दोस्रो हाफमा दुई गोल खान पुग्यो। नेपालले १३ मिनेटको बीचमा दूर्भाग्यपूर्ण रुपमा दुई गोल खायो। 

दोस्रो हाफपछि आक्रमक बनेको जोर्डनका लागि पहिलो गोल अली इयाद ओल्वानले ६९ मिनेटमा गरे। उनले नेपाली गोल पोस्टको ६ यार्ड नजिकबाट अल–तामारीबाट पाएको पासलाई गोलमा परिणत गरेका थिए। 

दोस्रो गोल नेपालले पेनाल्टीमार्फत खायो। डिबक्सभित्र सुमन अर्यालले खराब ट्याकल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो। यसअघि पहिलो हाफको ४४ मिनेटमा पनि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो।  तर, नेपालका नियमित कप्तान किरण चेम्जोङको स्थानमा डेब्यु गरेका दीप कार्कीले आफ्नो नायकत्व खेल प्रदर्शन गर्दै मौसा मोहम्मद सुलेमानीको पेनाल्टी रोकेर जोर्डनी टोलीलाई स्तब्ध पारेका थिए। यतिबेला गौतम श्रेष्ठले खराब ट्याकल गरेका थिए। 

तर, दीप दोस्रो पेनाल्टी रोक्न असफल रहे। सुलेमानीको ठाउँमा हम्जा अल–दार्दोरले ८२ मिनेटमा पेनाल्टी हानेका थिए।  
यही समूहको अर्को खेलमा इन्डोनेसियाले १–२ गोलले घरेलु कुवेतलाई पराजित गरेको छ। कुवेतले ४० मिनेटमा अग्रता लिए पनि पहिलो हाफमै दुई गोल फर्काएर इन्डोनेसिया विजयी भयो। यो समूहमा जोर्डन शीर्षस्थानमा छ। इन्डोनेसिया दोस्रो स्थानमा छ। नेपालले दोस्रो खेल ११ जुनमा कुवेतविरूद्ध खेल्ने छ।  

 

 

 

प्रतिक्रिया