जयसूर्या भन्छन्– श्रीलंकाको भविष्य बर्बाद भएको छ, यो हाँसोको कुरा होइन

काठमाडौं– श्रीलंकाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सनथ जयसूर्याले देशका पूर्वअर्थमन्त्री तथा राष्ट्रपति गोटाभाया राजापाक्षेका भाइ बसिल राजापाक्षेलाई निशाना बनाएर राजनीतिक नाटक बन्द गर्न आग्रह गरेका छन्। 

श्रीलंकाका पूर्वअर्थमन्त्री बसिलले बिहीबार संसदबाट राजीनामा दिएका थिए। तर, राजीनामा पछिको पत्रकार सम्मेलनमा उनले श्रीलंकाको वर्तमान अवस्थाको बारेका केही बोलेनन्। 

जयसूर्याले पत्रकार सम्मेलनमा उनको व्यवहारप्रति आपत्ति जनाएका छन्। उनले ट्वीटरमा पूर्वमन्त्री बसिलको पत्रकार सम्मेलनबाट आफू निकै निराश भएको लेखेका छन्। जयसूर्याले लेखेका छन्– हाम्रो देशको भविष्य बर्बाद भएको छ र यो हाँसोको कुरा होइन। तपाईंले जिम्मेवारी लिइरहनुभएको छैन। यो राजनीतिक नाटक बन्द गर।

श्रीलंका अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ। अत्यावश्यक वस्तुको अभाव छ र विदेशी मुद्राको संकट छ। जसका कारण धेरै देशको ऋण तिर्न नसक्ने अवस्था छ। आर्थिक संकटबाट गुज्रिरहेका जनता पनि सडकमा उत्रिएर राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। 

महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिसकेका छन्। तर, गोटाभाया अझै पनि राष्ट्रपति छन्। महिन्दापछि रनिल विक्रमासिंघे देशको नयाँ प्रधानमन्त्री बनेका छन्। तर, आर्थिक संकटसँग जुध्न त्यति सजिलो नभएको उनी बताउँछन्। 

जयसूर्याले यसअघि पनि वर्तमान सरकारको आलोचना गरिसकेका छन्। यसका साथै उनले भारतबाट आइरहेको सहयोगको पनि प्रशंसा गरे। उनले भने,‘हाम्रो देशको छिमेकी र ठूलो दाजु भएकाले भारतले हामीलाई सधैं सहयोग गरेको छ। हामी भारत सरकार र प्रधानमन्त्री मोदीप्रति आभारी छौं। हाम्रो लागि अहिलेको अवस्थामा बाँच्न सजिलो छैन। हामी भारत र अन्य देशको सहयोगमा यसबाट बाहिर निस्कने आशा गर्दछौं।’

 

प्रतिक्रिया