‘हर्ट अट्याक’ पछि मुटुलाई बलियो बनाउने जेल बनाएको वैज्ञानिक दावी 

लण्डन। ‘हर्ट अट्याक’ भएपछि मुटुलाई पुरानो अवस्थामा फर्काउने उपायको खोजी आफूहरूले गरेको वेलायती वैज्ञानिकहरूको दावी छ। यसका लागि आफूहरूले ‘बायोडिग्रेडेबल जेल’ तयार पारेको बताएका छन्। यसैको सहयोगले रोगीको मुटुको मांसपेशीलाई पुनः बलियो बनाउन सकिने दावी वैज्ञानिकहरूको छ। यसका कारण ‘हर्ट फेल’ हुने सम्भावना निकै कम रहन्छ। यो अनुसन्धान युनिभर्सिटी अफ मेनचेस्टर र ब्रिटिश हर्ट फाउण्डेशनले मिलेर गरेका हुन्। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा मुटुको समस्याले वर्षमा १ करोड ७९ लाख मानिसको निधन हुने बताएको छ। जुन वर्षभरी विश्वमा मर्नेहरूको जनसंख्याको ३२ प्रतिशत मानिन्छ। 

युनिभर्सिटी अफ मेनचेस्टर र ब्रिटिश हर्ट फाउण्डेशनको संयुक्त प्रयासमा तयार पारिएको जेलले ‘पेप्टाइड्स’ नामको ‘अमिनो एसिड’ बनाउने गर्छ। यसलाई प्रोटिनको ‘बिल्डिङ ब्लक’ मानिन्छ। अनुसन्धानकर्ताले जेलमा मानव सेल्स मिलाएर यस्तो प्रोग्राम तयार पारेको, जसले मुटुको मांसपेशीमा परिवर्तन देखा पर्ने बताएका छन्।  

अनुसन्धानमा संलग्न चिकित्सकका अनुसार जेलको ‘लिक्विड फर्म’ लाई रोगीको मुटुमा ‘इन्जेक्ट’ गरिन्छ। जेलबाट नयाँ सेल्स मुटुमा प्रवेश गर्छ र कडा बनेर त्यही बस्छ। 

वैज्ञानिकहरूले यसको परीक्षण पहिले मुसामा गरेको बताएका छन्। मुसाको मुटुमा इन्जेक्ट गर्दा जेल दुई सातासम्म शरीरमा स्थायी रूपमा भेटिएको बताइएको छ। अनुसन्धान प्रमुख क्याथरीन किङ भन्छिन्, ‘जेल अझै मानव परीक्षणको अवस्थामा छ। तर, यसमा फेल हुँदै गएको मुटुको धडकनलाई रिपेयर गर्ने क्षमता देखिएको छ।’

वैज्ञानिकहरू वर्षोदेखि नयाँ सेल्सको सहयोगले मुटुलाई पुनः स्वास्थ्य बनाउने अनुसन्धानमा सक्रिय थिए।  

किङ भन्छिन्, ‘कुनै किसिमको ड्यामेजलाई रिपेयर गर्ने क्षमता हाम्रो मुटुसँग एकदमै कम हुन्छ। तर हामी विश्वस्त छौं, यो जेलले कमजोर मुटुमा पनि नयाँ सेल्स उत्पादन गर्न सहयोग गर्नेछ। भविस्यमा मुटुसँग जोडिएका अन्य रोगका लागि पनि यो जेल सहयोगी सावित हुनेछ।’

अर्को फरक अनुसन्धानमा मोटो मानिसमा मुटुको रोग लाग्ने सम्भावना अन्यको तुलनामा बढी देखिएको छ। जुन मानिसको शरीरको मास इन्डेक्स (बीएमआई) बढी हुन्छ, उसलाई ‘हर्ट फेल’ हुने जोखिम ३० प्रतिशतले बढी हुन्छ। डाइबिटिज, हाइपरटेन्सन र क्यालेस्ट्रोलमा पनि ‘हर्ट फेल’ को सम्भावना उच्च हुन्छ। 
 

प्रतिक्रिया