कुरा हो, ४९ बर्ष अघिको । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वाइवी (यमबहादुर) घले र उनको भिक्टोरिया क्रस (भिसी) प्राप्त पिता गजे घलेबीच फुटबललाई लिएर जुहारी नै चलेछ । वाइवी फुटबल खेलाडी नबनि नछाड्ने । गजे घले, जसरी पनि आफ्नो छोरालाई आफू जस्तै पल्टने नबनाइ नछाड्ने ।
दोस्रो विश्वयुद्धमा बर्मामा युद्ध लडे बापत गजे घलेले बेलायती महारानीको हातबाट भिसी प्राप्त गरेका थिए । जसका कारण उनको नाम भारतमा मात्र होइन, विश्वभरी फैलिएको थियो । गजे सानै उमेरमा जागिरको खोजीमा गोरखा बारपाकबाट हिँडदै भारतको देहरादुनस्थित गोरखा रेजिमेन्टमा भर्ना भएका थिए । भिसी प्राप्त गरे पनि गजेलाई आफू पढ्न नपाएकोमा ठूलो गुनासो थियो । त्यसैले उनी आफ्ना छोरा–छोरीलाई खुब पढाउन चाहन्थे । उनको इच्छै थियो– छोराहरू बेलायती सेनाको लप्टन वा डाक्टर, नभए पनि इन्जिनियर बनुन् । वाइवी गजेका ८ सन्तानमध्ये पाँचौ थिए । उनको जन्म देरादुनमै भयो ।
गजे ठूलो पदमा थिएनन् । तर, विश्वब्यापी ख्यातीका कारण उनलाई अर्दलीसहित बस्ने सुविधायुक्त घर भारत सरकारले उपलब्ध गराएको थियो । त्यसैले स्वभाविक रूपमा वाइवीको प्रारम्भिक शिक्षा सुरु भयो, भारतको अल्मोडाबाट । सैनिक पृष्ठभूमि भएका कारण उनले स्कुलमा सवै खाले खेल अनिवार्य खेल्नु पथ्र्यो ।
वाइवीको पढाई पनि राम्रै थियो । तर, जति उमेर छिप्पिदैँ गयो, उनको झुकाव खेलतर्फ बढ्न थाल्यो । सन् १९७६ तिर उनी अध्ययनकै क्रममा अल्मोडाबाट लखनउ हुँदै बनारसको स्पोर्ट्स होस्टेलमा भर्ना भइसकेका थिए । उत्तर प्रदेशको राज्य सरकारले त्यो होस्टेल सञ्चालन गथ्र्यो । त्यसैले पढ्ने र खेल्ने दुवै सुविधा थियो, होस्टेलमा । सम्भवत वाइवीको उमेर १४ बर्षको हुनुपर्छ । नौ कक्षामा पढ्दै थिए, उत्तर प्रदेशको विधालयस्तरको फुटबल टोलीमा छनोट भए ।
गजेले केही दिनमै यो कुरा थाहा पाएछन् । ‘छोरा पढेर ठूलो मान्छे बन्छ भनेको खेलतर्फ पो ढल्किएछ!’ उनले साफसँग हपारेछन, छोरालाई । रोचक कुरा, गजे घले र श्याम थापा (भारतीय फुटबलका पूर्व स्टार खेलाडी) पल्टने साथी थिए । श्याम थापाले सानैमा फुटबलमा तहल्का पिटिसकेका थिए । त्यसैले गजेले झपार्दै छोरालाई भनेछन– श्यामे जस्तो खेलाडी बन्न सक्छस् ?’
....
छुट्टीको बेला वाइवी नेपाल आउने जाने गर्थे । जेठा दाजुु डम्बर त्यतिबेला नवलपरासीमा बस्ने । जहिले वाइवीलाई उच्काउँदा रहेछन्, ‘अरुको ठाउँमा किन बस्छस् । आफ्नै देशमा बस्नु पर्छ ।’ फेरि डम्बरलाई थाहा थियो, साइलो भाई राम्रो फुटबल खेल्छ भनेर । त्यसैले नेपालमा राम्रो फुटबल प्रतियोगिताको आयोजना भयो कि खबर गरिहाल्थे ।
यस्तै, सन् १९८१ मा वाइवी बिएको परीक्षा दिएर खाली बसेका थिए । दाइले खबर पठाएछन– ‘काठमाडौंमा पहिलो राष्ट्रिय प्रतियोगिता हुँदैछ । तुरुन्त आउनु । साथमा २ गढवाली खेलाडीलाई पनि बोकेर ।’ नभन्दै वाइवी हानिदै नेपाल आए । पहिलो राष्ट्रिय प्रतियोगितामा लुम्बिनीबाट भाग लिन । टोली सेमिफाइनलसम्म पुग्यो । त्यतिबेला चर्चामा रहेको जनकपुर चुरोट कारखानालाई हराएपछि वाइवीको खेलको यति धेरै तारिफ भएछ, उनी राष्ट्रिय टोलीको बन्द सत्रका लागि छनोट भए ।
खेल सकिने वित्तिकै वाइवी बनारस फर्किए । त्यतिबेला उनले सोचेका पनि थिएनन्, फेरि नेपाल आइन्छ भनेर । तर, दाईले अर्को खबर पठाए– ‘तलाई राष्ट्रिय टोलीमा छनोट गरिएको छ । तुरुन्त आइज ।’ यतिबेला भने उनलाई निर्णय गर्न निकै गाह्रो प¥यो, फुटबल खेल्ने कि अध्ययनलाई अगाडि बढाउने ।
तर, दाईको चर्को दबाब पछि उनी अन्तत ३१ जनवरी १९८२ मा राष्ट्रिय टोलीमा समावेश हुन नेपाल फर्किए । त्यसपछि भारत फर्किएनन् । उनलाई पल्टने बनाउने बाबु गजे घलेको सपना त्यही चकनाचुर भयो ।
...
सन् १९८२ को नोभेम्बरमा भारतको नयाँ दिल्लीमा एसियन गेम्स हुँदै थियो । यसैको तयारीका लागि राष्ट्रिय टोलीको छनोट काठमाडौंमा भयो । नेपाल यही प्रतियोगितामार्फत पहिलोपल्ट आधिकारिकरुपले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेक्दै थियो । वाइवी राष्ट्रिय टोलीमा समावेश हुनुअघि नेपाली फुटबलको प्रशिक्षकमा भारतका केएम राजेन्द्र र चीनका सुइ थिए । तर, एसियाडको तयारीका लागि जर्मनी प्रशिक्षक रुडी गुटेनडर्फलाई नेपाल झिकाइयो । रुडी त्यतिबेला जर्मनीको प्रख्यात क्लब ह्याम्बर्गका व्यवसायिक प्रशिक्षक थिए ।
त्यसैले उनले एसियाड सुरु हुनु ६ महिनाअघि नेपाल आउने क्रममा नेपाली फुटबलको परम्परागत खेल शैलीलाई पुरै परिवर्तन गराए । उनी आउनुअघि नेपाल ५–४–१ को परम्परागत शैलीमा फुटबल खेल्थ्यो । उनले त्यो शैलीलाई परिवर्तन गर्दै ४–४–२ मा लगे । उनले यतिबेला मिडफिल्डको भूमिकालाई सशक्त पारे । डिफेन्सलाई ओभरल्यापमा जान प्रेरित गरे । यसका लागि उनी युवा र जोसिलो खेलाडी टोलीमा चाहन्थे । यसैको कारण वाइवीको स्थान रोजियो, स्ट्राइकरबाट मिडफिल्डमा ।
....
एसियाडकै तयारीका लागि नेपाली टोली पहिलो मैत्रीपूर्ण खेल खेल्न पाकिस्तान उड्यो । त्यतिबेला पाकिस्तानको काइदे आजम कप निकै चर्चित थियो । वाइवी राष्ट्रिय टोलीमा समावेश भएको १५ दिनमै यो प्रतियोगिताका लागि छनोट भएका थिए । त्यो प्रतियोगितामा पाकिस्तानको जुनियर र सिनियर गरेर दुई टोली, चीनको नम्बर १ क्लब साङडोङ, इरान र ओमान समावेश थियो । साङडोङ निकै सशक्त थियो । सुरुमा सबैले अपेक्षा गरेका थिए– नेपालले मज्जाले गोल खान्छ ।
तर रोचक कुरा, ८५ मिनेटको खेल चलिरहँदा नेपालले चिनियाँ क्लबलाई गोलरहित बराबरीमा रोकिरहेको थियो । खेल सकिन अन्तिम दुई मिनेट छँदा विपक्षी गोलपोष्ट नजिकै बसेका गणेश थापाले ड्याम्मै गोल हाने । फाइनल नतिजा नेपाल १–० साङडोङ । यही खेलका कारण चीनले नेपाली फुटबल टोलीलाई निम्तो दियो, सद्भाव भ्रमणका लागि ।
चीनको युवा टोली त्यतिबेला ओलम्पिकको तयारीमा थियो । साङडोङलाई हराएको भएर होला नेपालको खेल हेर्न रंगशाला पुरै प्याक थियो । तर लाजमर्दो, नेपालले ४ गोल खायो ।
यसअघि काठमाडौंमै भएको एन्फा कपमा पनि नेपालले थाइल्यान्ड, भुटान र कुन्मिङ आर्मी टिमसँग अभ्यास खेल्ने मौका पाएको थियो । लगत्तै थाइल्यान्डमा सुरु भएको किङ्स कपमा लागि बैकक प्रस्थान ग¥यो । नेपालमै आयोजना भएको युथ एसियाकपमा पनि सहभागी भयो । एसियाडमा सहभागी हुनु ९ महिनाभित्र वाइवीले तयारीका लागि मात्र ५ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाइसकेका थिए, त्यो पनि देश–विदेश घुमेर ।
...
सन् १९८२ नोभेम्बर १९ तारिख, नेपाली टोली प्रतियोगितामा सहभागी हुन नयाँ दिल्ली उडेको थियो । काठमाडौं छोड्दा भाइटीकाको दिन थियो । किरण राई, राजु शाक्य र वाइवी किरण राईको घरमा टीका लगाएर निस्किएका थिए । एयरपोर्टमा अर्को रोचक घटना भयो । राष्ट्रिय टोलीका जर्मनी प्रशिक्षक रुडी पहिलोपल्ट दौरा–सुरुवाल लगाएर एयरपोर्ट पुगेका रहेछन् । उनलाई पिसाबले खुब च्यापेछ । पिसाब फेर्न शौचालय जाँदा उनले सुरुवालको इजार नै खोल्न जानेनन् । इजारै चुँडाई दिएछन् । पछि वाइवीहरूले नै अर्को इजारको व्यवस्था गर्नु प¥यो ।
२० तारिख नेपालको पहिलो खेल थियो, कुवेतसँग । कुवेतीहरू ४ महिनाअघि मात्र स्पेनबाट विश्वकप फुटबल खेलेर फर्किएका थिए । अग्ला र गठिला । हेर्दै डरलाग्ने । पहिले त वाइवीहरू झस्किए, लौ अब मज्जाले गोल खाने भइयो भनेर । कुवेती टोलीको रवाफ पनि बेग्लै थियो मैदानमा । उनीहरू खेल–भिलेजमा नबसेर पाँच तारे होटलमा बस्थे ।
रेफ्रिले सिढी फुक्दासम्म पनि नेपाली टोली क्रसित थियो, कुवेतीहरूको हाउँभाउँ हेरेर । त्यतिबेला फरवार्डमा गणेश थापा र डम्बरसिंह गुरुङ । मिडफिल्डमा वाइवी (राइट हाफ), नरेन्द्रमान सिंह (लेफ्ट हाफ), मानबहादुर मल्ल र भक्तराज कर्णिकार (बीच) थिए । डिफेन्समा कप्तान रूपकराज शर्मा (लेफ्टबाट) धीरेन्द्र प्रधान (राईटबाट), सुरेश पन्थी (आक्रामक) र श्रीराम रञ्जितकार (स्विपर) थिए । रञ्जन बिष्ट गोलरक्षक ।
रुडीले मानबहादुरलाई कुवेती कप्तान साद अल हाउतीलाई एकछिन पनि नछोड्न निर्देशन दिएका थिए । उनी कुवेती टोलीका खतरनाक मिडफिल्डर थिए । संयोगले खेल सुरु भएको १५ मिनेटमा मानबहादुरले हानेको ट्याकल कुवेती कप्तानलाई यस्तरी लागेछ, उनी पुरै प्रतियोगिता खेल्न नसक्ने भए ।
पहिलो हाफसम्म नेपालले गोलरहित बराबरीमा रोकेको थियो, कुवेतको विश्वकप टोलीलाई । खेलको ७२ औं मिनेटमा डम्बरले गोल गर्ने सुनौलो मौका पाएका थिए । तर, उनी गोल पोष्ट नजिकै पुगेर गोल हान्ने चक्करमा यति नमज्जाले चुके । यसले पुरै खेल परिवर्तन भयो ।
त्यतिबेला डम्बरले अनुभवी कुवेती किपर अहमद अल तराबुल्सीलाई पनि कटाएर बल अगाडि लगिसकेका थिए । उनको अगाडि गोलपोष्ट मात्र थियो । तर, नजिक लगेर गोल गर्ने चक्करमा लागेका डम्बरलाई पछाडिबाट दौडिदै आएका कुवेती डिफेन्डरले अचुक ट्याकल हाने र बल खोस्न सफल भए । ७४ मिनेटसम्म खेल गोलरहित बराबरीमै थियो । तर, त्यसको १० मिनेट भित्र कुवेतले ड्याम–ड्याम ३ गोल हान्यो । त्यसपछि नेपालको सारा प्रयास असफल भयो ।
खेल सकिन अझ ५ मिनेट बाँकी थियो । मिडफिल्डमा वाइवीले राम्रो अवसर पाए । उनले २ कुवेतीलाई कटाएर मानबहादुरलाई बल फ्याँकेका मात्र के थिए, उनले वान टचमै वाइवीलाई पुनः बल फर्काए । उनी त्यतिबेला डिफेन्सलाई काटेर पहिलो बार च्याप्दै कुवेती डिबक्सभित्र छिरिसकेका थिए । दोस्रो बारमा उभिएका गणेश थापा र रुपक शर्मा कराए, ‘बल यता फ्याँक ।’
यतिबेला वाइवी पुनः तनावमा देखिए, बल दोस्रो बारमा उभिएका थापा र शर्मालाई दिउँ कि, आफै हानौं । वाइवीले बललाई आफ्नो नियन्त्रणमा राख्दै यसो पहिलो बारतर्फ हेरेको । बल छिर्ने ठाउँ देखिहाले । पल्टने संस्कारमा हुर्किएका वाइवीलाई अब के चाहियो ? पिता गजे घलेले बर्माको युद्धमा विरोधीहरू माथि गोली पड्काए झै पहिलो बार च्यापेर ड्याम्म बल हाने । बल सिधै कुवेती गोलपोष्ट भित्र ।
यसपछि वाइवीलाई के चाहियो । उनी रातारात स्टार बने । खेल सकेर फर्किने क्रममा उनीसँग हात मिलाउनेको भीड थियो, लकर रुममा । तत्कालीन एन्फा अध्यक्ष कमल थापाले उनलाई भनेछन– ‘यो त केही होइन । एकपल्ट नेपाल मात्र फर्क ।’ न भन्दै, काठमाडौ फर्किदा वाइवीलाई नचिन्ने कोही थिएन । त्यतिबेला नेपालमा अशोक केसी, लोकबहादुर शाही, गणेश थापाहरू निकै चर्चित थिए । तर, त्यो एउटा गोलले वाइवी पनि चर्चित भए ।
रमाइलो कुरा, छोराको त्यो खेल पल्टनमा बसेर गजे घलेले पनि हेरेका रहेछन् । उनी आफ्नो छोराको सफलता देखेर यति भावुक बनेछन्, २१ बर्ष अगाडि निधन नहुँदासम्म उनी आफ्नो छोराले राष्ट्रका लागि फुटबल खेलेकोमा गर्व गर्थे ।
३८ बर्ष अगाडिको त्यो घटनालाई सम्झँदा अहिले पनि रोमाञ्चित हुन्छन, वाइवी । १२ बर्षअघि पक्षघातका कारण उनी गुमनाम बनेका थिए । अहिले उनको स्वास्थ्यमा धेरै सुधार आइसकेको छ । ललितपुरको नख्खुस्थित आदिनाथ मार्गमा रहेको आफ्नो घर वरिपरि नियमित दैनिक विहान र बेलुका टहलिने वाइवीको शरीरको त्यही भागमा पक्षघात भएको थियो– जुन खुट्टाले कुवेतविरूद्ध उनले कीर्तिमानी गोल गरे । उनको नाममा अहिले पनि एसियाडमा गोल गर्ने एक मात्र नेपालीको इतिहास कायमै छ ।
प्रतिक्रिया