समाज चिन्तन

घरमा धारा मर्मतसम्म नगर्ने, देशको डिङ्ग हाँक्ने?

मानिस सामाजिक प्राणी हो, समाजमा बस्न रुचाउँछ। मानिसले जे जति उन्नति प्रगति गरेको छ, जे जति प्राप्त गरेको छ, समाजबाटै गरेको छ। हामी समाजका अभिन्न अंग हौं। गाउँ, शहर, टोल, छिमेक जे बनेको छ, मनुष्यका लागि बनेको हुन्छ, मानिसहरु एक–अर्कासँग मिलेर बसुन्, सर–सहयोग गरुन्, जीवन सरल अनि सहज बनोस्, सुरक्षित महसुस गरुन्, समाजमा शान्ति र अमनचैन कायम रहोस्, समाजका मानिसहरु मिलेर विकास गरुन्, सामूहिक हितका लागि जुटुन्, एक–अर्काको अस्तित्व स्वीकार गरुन् आदि यस्ता उदेश्यले गाउँ, शहरका टोल, छिमेक, वस्ती, समुदाय मिलेर समाज बन्दछ। टोल छिमेकमा बस्तिहरु जोडिएर वा नजिकै रहेका हुन्छन्। एक–अर्काको सुख दुःखमा सहभागी बन्दछन्। एक–अर्का प्रति सहयोग, सदभाव राख्दछन्। आ–आफ्ना धर्म मान्दछन्, चाडपर्व संस्कृति मनाउँदछन्।

भनिन्छ– अरु कुरा फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिन्न। यदि छिमेकी नै फेर्न मन लागे आफंै बसाई सर्नुपर्छ। विहान उठ्ने वित्तिकै हिमाल हेर्न पाईयोस् भन्ने गीत लोकप्रिय छ तर आजकल शहरमा कंक्रिटको जंगलमा कता हिमाल देखिनु! बरु जोडिएका घरहरुमा छिमेकीको अनुहार भने हेर्न पाईन्छ। यदि छिमेकीसँगको सम्बन्ध राम्रो छ भने त हेर्दा, भेटघाट हुँदा रमाईलै लाग्छ। तर छिमेकीसँग मनमुटाव छ वा बैमनश्य छ भने अर्कोतर्फ टाउको फर्काउनुको विकल्प रहँदैन। छरछिमेकमा सकारात्मक उर्जा प्रवाह हुनु पर्दछ। किनभने हामी छिमेकीसँग जोडिएर बसेका हुन्छौं। छिमेकी हात्ती चढ्यो भने आफू घरको धुरी नचढ्नु भन्ने उखान प्रचलित छ। यो छर–छिमेकीको अनावश्यक चियोचर्चो, चासो गर्ने र इष्र्या गर्ने प्रबृत्ति हो। छिमेकीको अर्थ छिमेकमा बसेको वा रहेको, वल्लो पल्लो

Neighoursहुने भन्ने बुझिन्छ। छर–छिमेकमा सुमधुर सम्बन्धको आधार सहयोग, सहकार्य, सद्भाव र सह–अस्तिस्वमा आधारित हुनुपर्छ।

एकजना छिमेकीले घोर तपस्या गरेर महादेवलाई खुसी बनाएछ। महादेवले भन्नु भएछ– हे वालक! म तिम्रो तपस्याबाट खुसी भएँ, के वर माग्छौ माग। तिमीले जे मागे पनि म दिन्छु तर एउटा शर्त छ। तिमीले जे माग्छौ, तिमीलाई सँगै तिम्रो छिमेकीलाई त्यसको दोब्बर प्राप्त हुनेछ। अनि त्यसपछि के माग्ने भनेर सोच्न थालेछ। एउटा घर पो माग्छु भनेर सोच्यो फेरी छिमेकीले दुईटा घर पाउँछ।

गाडी माग्छु भनेर सोच्यो फेरी छिमेकीले उसँगसँगै दुईटा गाडी पाउँछ, लु यो त सह्य हुँदैन, म तपस्या गर्ने उसले पनि पाउने, त्यसै त उसको छिमेकी उसँग प्रतिस्पर्धा गर्ने, देखासिखी गर्ने स्वभावको छ। अनेक सोच्यो केही गर्दा भएन्। उ सँगसँगै उसको छिमेकीको पनि उन्नति प्रगति हुन्छ। यता महादेवले छिटो मागिहाल भनेर ताकेता गरेको गर्यै हुनुहुन्छ। यसो सोचेछ, बढाउनु भन्दा घटाउनु ठिक लाग्यो र भनेछ महादेव मेरो एउटा आँखा फुटाईदिनुस्। दङ्ग पर्दै कल्पना गर्दो रहेछ, मेरो त एउटा आँखा रहनेछ तर त्यो छिमेकीको दुईटै आँखा। 

यस लघुकथाबाट छिमेकी–छिमेकी बीचको सम्बन्धको तिक्तता अनुभव गर्न सकिन्छ। जोसँग हामी नजिकै बस्छौं, हेर्दिन भेट्दिन भन्दा पनि बारबार भेटिन्छ, देखिन्छ, उसँग यति छुद्र मन लिएर बस्दा पक्कै मन खुसी हुँदैन। अनि सम्बन्ध फस्टाउँदैन, फुल्दैन  र फल्दैन।  

टोल छिमेकका पिरमर्का सुन्न, आईपरेका समस्या समाधान गर्न, सडक बाटो सार्वजनिक स्थल सरसरफाई गर्न, साँध–सिमाना, झै–झगडा लगायतका स–साना विवाद मिलाउने टोलसुधार समितिले गर्दछन्। जुन समाजमा छरछिमेकीहरु मिलेर बसेका हुन्छन्, त्यहाँ अपराध कम हुन्छ। भन्ने गरिन्छ– जुन बस्तीमा सार्वजनिक स्थल भब्य, सुन्दर, सफा छन्, त्यो समाज सभ्य समाज हो। त्यस्तो समाजमा बस्ने मानिस सुशिक्षित हुन्छ। तर जुन समाजमा सार्वजनिक स्थल, धारा, पाटी, पौवा, बाटोघाटो, सडक, चउर, उद्यान, आदि भत्केका फोहोर छन्, त्यस्तो समाज असभ्य हुन्छ। त्यहाँ बस्ने मानिसहरु अशिक्षित र अज्ञानी हुन्छन् भनिएको छ। 

आफ्नो टोलमा कुनै उद्यम व्यवसाय संचालन गर्दा ध्वनी प्रदुषण निकाल्ने, फोहोरमैला घर बाहिर ल्याएर थुपार्ने, घरपालुवा जनावर जस्तै कुकुरलाई जथाभावी दिशापिसाव गराउने, चर्को आवाजमा संगीत घन्काएर पार्टी मनाउने  जस्ता कुरा गर्नु अघि कतै छिमेकीलाई अफ्ट्यारो असहज पो हुन्छ कि! ख्याल गर्नुपर्दछ। छर–छिमेकमा कसैलाई दुःख परेको छ, त्यसको ख्याल नगरी उत्सव मनाउने, होहल्ला गर्ने जस्ता क्रियाकलाप गर्नु अघि विशेष ख्याल गर्नुपर्छ। टोल छिमेकमा सबैखाले मानिस चाहिन्छ। मर्दाका मलामी र ज्यूँदाका जन्ती छिमेकी नै हुन्। नजिकको तीर्थ हेलाँ भने जस्तो हामी आफू वरीपरी रहेका मानिसहरुको वेवास्ता गरिरहेका हुन्छौं।

टोल छिमेकमा कोही राजनीतिज्ञ त कोही सरकारी कर्मचारी, कोही ब्यापारी त कोही बरोजगारी, कोही डाक्टर त कोही ईन्जिनियर, कोही समाजसेवी त कोही पंडित पुजारी हुन्छन्। समाज समाबेशी हुन्छ, विभिन्न पेशा र रोजगारी अपनाएका मानिसहरु बसेका हुन्छन्। जसरी एउटा कुनै राजनीतिक पदाधिकारी वा उच्चस्तरको कर्मचारीको महत्व हुन्छ, टोल छिमेकमा पसल थाप्ने एउटा ब्यापारीको अझै बढी महत्व हुन्छ। उसले विहान सबेरै उठेर दुध नल्याईदिए, तपाईं दुध कसरी किन्नु हुन्छ! तपाईंको घर नजिकै पसल थापिदिएर पसलवाला छिमेकीले कति सजिलो बनाईदिएको छ। कोही ब्यस्त हुन्छन् त कोही फुर्सदिला, कोही ठूलो पदमा हुन्छन् त कोही सानो पदमा, तर छरछिमेकमा सबैको उत्तिकै महत्वका साथ हेरिनु पर्दछ। जसजसले जे योगदान दिन सक्छन्, तिनको उपयोग गर्नु पर्दछ, न कि आरिस डाहा गर्ने वा हेय दृष्टिले हेर्ने।  
  
टोलछिमेकमा कोही दुःखी, पीडित, अशान्त छ, घरपरिवारमा कलह छ भने त्यसको असर अन्यलाई समेत पर्दछ। समाजका सबैलाई चुनौती बन्दछ। आफ्नो त राम्रो छ, के मतलव भनेर ठूला ठूला पर्खाल लगाएर घेरिएर बस्ने वा कानमा तेल हालेर बस्नेले पनि आरामसँग बस्न सक्दैन। टोलका चोक चोकमा बसेर अरुको कुरा काट्ने, राजनीतिक नेता र कर्मचारीको निन्दा गर्ने, सामाजिक संजालमा निराशा छर्ने, अरुको बारेमा ज्यादा चियोचर्चो गर्नेको कमी छैन। नेपालीहरुलाई संसारको नकारात्मक सोचविचार भएका नागरिकको कोटीमा चिनिने गरिएको छ, यो कुरा विश्वमा नकारात्मक सोच राख्ने मानिसहरु बस्ने देशहरु मध्ये नेपाल माथीबाट छैटौं नम्बरमा पर्दछ। घरमा विग्रिएको धाराको टुटी बनाउन नसक्ने तर देश कसरी बनाउने भनेर डिङ्ग हाँक्नेको कमी छैन नेपाली समाजमा। आशावादी कुरा गर्ने, सकारात्मक सन्देश छर्ने, विकृति र विसंगति विरुद्ध आवाज उठाउने कुरालाई प्रोत्साहन गर्नु पर्दछ।

हाम्रो वैदिक सनातन संस्कृतिको संरक्षण गर्न त्यसलाई जीवनशैलीमा ढाल्ने र त्यसवाट भरपुर लाभ लिन, पुस्ता हस्तान्तरण गर्न सामूहिक प्रयासको खाँचो छ। टोल छिमेकी समाजले योग र अध्यात्मको सत्सङ्ग निर्माण गरी सद्विचार, योगाभ्यास, प्राणायाम, ध्यान र सत्कर्म तर्फ लाग्न अभिप्रेरित गर्नुपर्दछ। छर–छिमेकमा सकारात्मक उर्जा प्रवाहित भएको र एक अर्काप्रति असलभाव हुनुपर्छ न कि प्रतिष्पर्धा र देखासिखी। समाजमा टोल सुधार समिति, युवा क्लब, महिला समूह, भजन समूह, आमा समूह जस्ता समूहहरु रहेका हुन्छन्। यस्ता संस्थाहरु सामाजिक सम्पत्तिका रुपमा हेरिन्छन्। समाजमा सुधारका कार्य गर्न, सुमधुर सम्बन्धको निर्माण गर्न र चाडपर्व मिलेर मनाउन, मनोरञ्जन गर्न, सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।  

संसारको सबैभन्दा खुसी देश फिनल्याण्डमा त्यहाँका मानिस खुसी हुनुमा मुख्य तीनवटा कारण मानिएको छ। त्यस देशमा विश्वकै उत्कृष्ट सार्वजनिक विद्यालयहरु छन्। विश्वब्यापी स्तरको स्वास्थ्य सुविधा निःशुल्क उपलब्ध छ र सबै मानिस हरेक दृष्टिकोणबाट समान छन्। त्यहाँ भेदभाव रहित आदर्शतम् समाज छ। जुन समाज राजनीतिक, आर्थिक, सामाजिक, जातीय, धार्मिक, सांस्कृतिक रुपमा ज्यादा विभाजित छ, भेदभाव छ, विभेद छ त्यस्तो समाजमा त्यहाँका सबै मानिस एकसाथ खुसी हुन सक्दैनन्। मानिसहरु खुसी हुन बुढाबुढी गफ गरेर बस्ने चौतारी, केटाकेटी खेल्ने पार्क, युवाहरुले रमाईलो गर्ने मनोरञ्जनस्थल, योग ध्यान गर्नेहरुलाई सत्सङ्ग गर्ने ठाउँहरु हुनुपर्दछ। टोल छिमेकीहरु कहिलेकाँही सामूहिक रुपमा चाडपर्व मनाउने, पिकनिक जाने, तीज कार्यक्रम मनाउने, देउसी भैलो खेल्ने आदि कार्यले आपसी मित्रता बढाउँछ। असल छिमेकीमा हुनुपर्ने गुणहरु मित्रता, सहयोग, विश्वास, सम्मान, ठूलालाई आदर र सानालाई सम्मान गर्ने कुराको विकास गर्ने साथै आफ्नो कारणले अरुलाई दुःख र अशान्ति नहोस् भन्नेमा चनाखो हुनुपर्दछ।

समाजमा हरेक खालका मानिस हुन्छन्। संसार विविधताले भरिएको छ। जसरी प्रत्येक मानिसको अनुहार, रुप, रङ्ग फरक हुन्छ, त्यसैगरी स्वभाव र ढङ्ग पनि फरक हुन्छ। टोल छिमेकमा मिलेर बस्नु नै पर्दछ। असल सम्बन्धको लागि स्वीकारभाव र सम्मानपूर्ण नजरको जरुरत पर्दछ। सांसारिक जगतमा एक ब्यक्तिले अर्को ब्यक्तिलाई कस्तो व्यवहार गर्नुपर्दछ? भन्ने जिज्ञासामा र  कस्तो सम्बन्ध बनाउनु पर्दछ? भन्ने सन्दर्भमा, भगवान गौतम बुद्धले आफ्नो उपदेशमा र महर्षि पतञ्जलीले पतञ्जली योग सूत्रमा भन्नुभएको छ– समाजमा चार प्रकारका मानिस हुन्छन्ः सुखी मानिस, दुःखी मानिस, पुण्यात्मा र पापात्मा। तिमीले उनीहरु प्रति यसप्रकारको ब्यवहार गर्नु उचित हुन्छ– सुखी मानिससँग मैत्रीभाव राख्नु अर्थात् मित्र बनाउनु, दुःखी मानिससँग करुणाभाव राख्नु अर्थात् करुणाले हेर्नु, सहयोग गर्नु, पुण्यात्मासँग मुदिता अर्थात् प्रशन्न हुनु र पापात्मासँग उपेक्षा गर्नु अर्थात् वेवास्ता गर्नु। सबैको जय होस्, सबैको मंगल होस्, सबैको कल्याण होस्।           ( तेर्साटार, कौशलटार, भक्तपुर।)  
 

प्रतिक्रिया