बीबीसी । दुई वटा सामूहिक गोली प्रहारको घटनापछि अमेरिकाभरि बन्दुक नियन्त्रणमा कडाइको माग गर्दै हजारौँ मानिस प्रदर्शनमा निस्किएका छन् । प्रदर्शनमा उत्रिएकाहरूले 'म बन्दुकको गोलीबाट स्वतन्त्रता चाहन्छु' जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडनले विरोध प्रदर्शनलाई समर्थन जनाउँदै संसद्लाई 'बन्दुक सुरक्षासम्बन्धी कानुन पारित गर्न' आह्वान गरेका छन् । यद्यपि प्रतिपक्षी रिपब्लिकनहरूले कानुन परिवर्तनको सम्भावनालाई अस्वीकार गर्न सक्ने देखिन्छ ।
मे २४ मा टेक्ससको युभाल्डीमास्थित रोब इलिमेन्टरीमा भएको गोलीकाण्डमा १९ जना बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो । त्यसपछि बेफेलो, न्यूयोर्कमा भएको अर्को आक्रमणमा १० जना मारिएका थिए ।
यी दुई घटनाले अमेरिकामा बन्दुक नियन्त्रणमा कडाइबारे बहस सुरु गरेको छ । सन् २०१८ मा फ्लोरिडाको पार्कल्यान्ड विद्यालयमा भएको गोलीकाण्डबाट बचेका व्यक्तिहरूले स्थापना गरेको बन्दुक सुरक्षा समूह ’मार्च फर आवर लाइभ्स’ एमएफओएलका अनुसार शनिवार वाशिङटन डीसी, न्यूयोर्क, लस एन्जलस र शिकागोलगायत विभिन्न ४५० स्थानमा प्रदर्शन आयोजना भएका थिए ।
सो समूहले मानिसहरू मारिने क्रम जारी रहँदा राजनीतिकर्मीलाई “चुप लागेर बस्न नदिने“ बताएको छ । राजनीतिक नेताहरूको निष्क्रियताले अमेरिकीहरूलाई मारिरहेको एमएफओएलले बताएको छ ।
प्रतिक्रिया