तस्वीर सधै मिठो सपनाको रूपमा मात्र रहदैन। कहिले काहिँ विभत्स र क्रुर सम्झना बोकेर मानिसको मनमस्तिष्कमा छाउने गर्छ।
यस्तै एउटा तस्वीरको कथा हो, भियतनाम युद्धको बेला बम र बारूद्धको डरले भाग्दै गरेकी एउटी नग्न केटीको। जुन तस्वीरले भियतनाम युद्धताका अमेरिकी बर्बरताको कथा बयान गरिरहेको छ।
यो तस्वीर क्यामेरामा कैद भएको ५० वर्ष पुरा भएको छ। तस्वीर भियतनामीमूलका अमेरिकी फोटोग्राफर निक उतले खिचेका हुन्। यो फोटोमा बमबारीबाट जोगिन थुप्रै केटाकेटीहरू सडकमा निस्किएका छन्। त्यसमा एक किशोरी बिना कुनै कपडा, होस् हवास् सवै गुमाएर बाटोतर्फ दौडिरहेकी छिन्। जुन तस्वीरलाई विश्व अहिले ‘नेपोल्म गर्ल’ को नामले चिन्ने गर्छ।
फोटोग्राफर उतले ती किशोरीको फोटो खिच्ने वित्तिकै उनलाई तुरुन्त अस्पताल भर्ना गराएका थिए। अस्पतालमा पिडितहरूको यति ठूलो भिड थियो, पहिले त डाक्टरहरूले ती किशोरीलाई भर्ना गर्न पनि मानेका थिएनन्। तर, उतले पत्रकारको परिचय दिएपछि उनी अस्पताल भर्ना भएकी थिइन। यही कारण उनको ज्यान पनि बचेको थियो। तस्वीरमा कैद त्यही किशोरी किम फुक फानले हिजोआज ठूलो अभियनताको परिचय बनाएकी छिन्। उनी युद्ध पिडित केटाकेटीको अधिकारका लागि लड्ने गर्छिन।
८ जुन, १९७२ मा कैद गरिएको यो तस्वीर अमेरिकी सेनाले भियतनामको एउटा गाउँमा बमबारी गर्दा केटाकेटीहरू बाच्नका लागि भाग्दै गरेको अवस्था हो। तस्वीरले युद्धको क्रुरताको बयान गर्छ। यो तस्वीरले ‘पुलित्जर अवार्ड’ जितेको थियो।
न्युयोर्क टाइम्समा ६ जुनमा तस्वीरको विषयमा किम फुकले एउटा लेख प्रकासित गर्दै तस्वीरसँग जोडिएको दुःखद पक्षको याद दिलाएका छन्। यसअघि फोटोग्राफर उतले पनि वासिङ्टन पोष्टमा लेख प्रकासित गरेका छन्, जसमा उनले भनेका छन्, ‘एउटै तस्वीरले विश्व परिवर्तन गर्न सक्छ। मलाई थाहा छ, किनभने मैले यस्तै तस्वीर खिचेको थिए।’
फोटोग्राफर उत युद्धको बेला एसोसिएट प्रेस (एपी) मा कार्यरत थिए। ७ जुन, १९७२ मा उनलाई सूचना आयो, साइगोन शहरदेखि ५० किलोमिटर टाढा ट्राङ बैङ गाउँमा लडाई सुरु हुन लागेको छ। उनी हतार हतार त्यहाँ पुगेका थिए। यहाँ उनले बाटोमा मानिसको लाशको थुप्रो मात्र देखेनन्, गाउँबाट पलायन हुँदै गरेका हजारौं शरणार्थीलाई पनि देखे।
उतले यतिबेला गाउँमा अमेरिकी सेनाले बम खसाल्दै गरेको तस्वीर पनि खिचेका थिए। नेपोल्म बम अमेरिकाले खास प्रदार्थ प्रयोग गरेर बनाएको थियो, जुन मानिसको शरीरमा खसेपछि टासिने गर्दथ्यो। यो बमलाई संयुक्त राष्ट्र संघले सन् १९८१ मा प्रतिबन्ध लगाएको थियो।
तस्वीरमा देखा परेकी किशोरीको शरीरमा पनि बमको केही टुक्रा खसेको थियो। जसका कारण ९ वर्षकी यी किशोरीको ३० प्रतिशत अंग जल्न पुग्यो। जेलको ताप सहन गर्न नसकेपछि किशोरीले आफ्नो कपडा उतारेर कराउँदै भागेकी थिइन।
अस्पतालमा उनको उपचार १४ महिना भयो। यसपछि उनी सञ्चो भएर घर फर्किएकी थिइन। पछि सरकारले किम फुकलाई अध्ययनका लागि क्युबा पठायो। पछि उनी क्यानडामा शरणार्थी बनिन्। किम अहिले आफ्नो नाममा स्थापना भएको किम फाउन्डेशन इन्टरनेशनल सञ्चालन गर्छिन।
प्रतिक्रिया